काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले टुकुचादेखि पश्चिमका संरचना भत्काएर प्रदर्शनी स्थल बनाइने घोषणा गरेका छन्। अर्थमन्त्री पौडेलले बुधबार बिहान भृकुटीमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पोको उद्घाटन समारोहमा उक्त कुरा बताएका हुन् ।
‘राजधानीमा प्रदर्शनी स्थल थिएन। भृकुटीमण्डपमा प्रदर्शनी स्थल बनाउने भनेर राखिएको हो। टुकुचादेखि पश्चिमका संरचना हट्ने छ। त्यहाँ आधुनिक प्रदर्शनी स्थल निर्माण हुनेछ’, उनले भने, ‘यसका लागी अन्तर्राष्ट्रिय संस्थाको परामर्श लिइने छ। म एक दुई वर्ष भित्रमा भन्दिनँ। तीन वर्षभित्रमा बन्छ। आवश्यक परे निर्माणमा पनि अन्तर्राष्ट्रिय कम्पनीको सहयोग लिन सकिन्छ।’ अर्थमन्त्री पाैडेलले भने ।
अर्थमन्त्री पौडेलले भने, ‘एउटा कार्यक्रम आयोजना गर्नको आयोजक संस्थालाई पसिना पुच्छने अवस्था आउँछ । यता इभेन्ट म्यानेजर खोज, उता श्रम व्यवस्थापन गर, सानो ठाउँ छ ,यो साँघुरो ठाउँमा अस्थायी प्रकारका संरचनाहरू निर्माण गर । इभेन्ट सकिएपछि पनि निकै हैरानी हुन्छ ।’ अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल नहुँदा आयोजकले निकै सास्ती झेल्नु परेको औँल्याउँदै यो समस्याको छिट्टै समाधान गरिने बताए।
पौडेलले प्रर्दशनीस्थल बजेटमा बोलिएको विषय मात्र नभएको र छिट्टै कार्यान्वयन हुने बताए । उनले बजेटमा उच्च महत्व र प्राथमिकताका साथ भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रर्दशनीमार्ग स्थापना गर्ने कुरा उठाएकाे बताए।






About Us
प्रतिक्रिया