२२ वटा विद्युत् ट्रान्सफर्मर चोरिएपछि समातिए सात जना


विराटनगर- लगातार विद्युत् ट्रान्सफर्मर चोरिए पनि संलग्नलाई पक्राउ गर्न नसकेको आरोप खेप्दै आएको प्रहरीले चोरीमा संलग्न गिरोह नै नियन्त्रणमा लिन सफल भएको छ । प्रहरीले विशेष टोली नै परिचालन गरेर ट्रान्सफर्मर चोरीमा संलग्न सात जनाको गिरोहलाई पक्राउ गर्न सफल भएको दाबी गरेको छ । २०७१ माघ १५ देखि मोरङको बुढीगंगा–४ थान चोकमा १०० केभिए क्षमताको विद्युत् ट्रान्सफर्मर चोरिएको थियो । चोरीमा संलग्न व्यक्तिहरूले ट्रान्सफर्मरलाई विद्युत् पोलबाट खसालेर त्यहाँभित्र रहेको तामाको तार चोरेका थिए । त्यसपछि कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा २२ वटा विद्युत् ट्रान्फर्मर चोरी भए ।

तर,संलग्न पक्राउ पर्न नसकेपछि कोशी प्रदेश प्रहरी कार्यालयले सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरू मार्फत ‘जताततै प्रहरी खटाएर’ निगरानी बढाएको र सोही क्रममा गिरोह नै नियन्त्रणमा लिन सफल भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीले बताए । मंगलबार उनले पत्रकार सम्मेलन गरेर ट्रान्सफर्मर चोरीको गिरोह नै समाप्त पारेको दाबी गरे ।

प्रहरीले साउन ८ गते मध्यरातमा मोरङको रंगेली नगरपालिका–९ इँटाभट्टाबाट शंकास्पद अवस्थामा मोरङकै ग्रामथान–५ का ४२ वर्षीय अर्जुन कुमार माझी (चाैधरी) लाई पक्राउ गरेपछि अनुसन्धान गर्दै जाँदा एक भारतीय नागरिक समेत संलग्न रहेको गिरोहसम्म पुगेको उनले बताए ।

प्रहरीले अनुसन्धानका क्रममा माझीसहित ग्रामथान–५ सिमरियाका ३१ वर्षीय इरज धामी, सुनसरीको दुहवी नगरपालिका–३ लबिपुर बस्ने ३५ वर्षीय अनुज विस्वास (चौधरी), मोरङ बेलबारी नगरपालिका–४ कसेनीका २६ वर्षीय अर्जुन चौधरी, बेलबारी–३ का २७ वर्षीय रञ्जित तामाङ, सुनसरीको दुहवी–२ का ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरी र भारत घर भई हाल सुनसरीको दुहवी–४ मलाटी टोलस्थित ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मियाँ (विहारी) लाई पक्राउ गरेको जनाएको छ ।

‘किसानले खेती गर्ने समयमा विभिन्न जिल्लामा सिँचाइका लागि राखिएका ट्रान्सफर्मर चोरीका घटना भएपछि हामीले जताततै प्रहरी टोली परिचालन गर्‍यौँ, सेन्सेटिभ समयमा ट्रान्सफर्मर चोरिएपछि किसानलाई ठुलो असर परेको थियो’ डिआइजी कार्कीले भने, ‘हामीले गम्भीर अनुसन्धान गरेर ठुलो गिरोहलाई पक्राउ गरी समाप्त पारेका छौँ ।’

चोरीमा संलग्न व्यक्तिहरूले हाइटेन्सन विद्युत् प्रवाह भएकै अवस्थामा पनि ट्रान्सफर्मर चोरेको प्रहरीको दाबी छ । चोरीका क्रममा प्रयोग भएको भर्‍याङसहितको एउटा पिकअप र पाँच वटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाइएको छ ।‘हामीले लाइन भएकै बेलामा ट्रान्सफर्मर चोरी गरेको लाइभ भेटेका छौँ’ डिआइजी कार्कीले भने, ‘५० केभिएदेखि २५० केभिएसम्मका ट्रान्सफर्मर चोरिएको पाइएको छ, झापादेखि सुनसरीसम्म एउटै समूहको नेतृत्वमा विभिन्न टोली बनाएर चोरीमा संलग्न भएको देखिएको छ, नौ लाख रुपैयाँ पर्ने ट्रान्सफर्मरलाई चोरी गरेर दुई लाख रुपैयाँमा बिक्री गरेको खुलेको छ।’

प्रहरीले चोरिएका ट्रान्सफर्मरबाट निकाएको तामा र अन्य सरसामान किन्ने थप पाँच जनालाई समेत पक्राउ गरेको जनाइएको छ । त्यसरी पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर महानगरपालिका–६ का ६२ वर्षीय कृष्ण गोपाल ताम्राकार, सुनसरीको दुहबी–३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी–२ का ३१ वर्षीय कपिल भट्ट र इटहरी उपमहानगरपालिका–४ का ३९ वर्षीय सिताराम राई रहेका छन् । 

पक्राउ परेका व्यक्तिहरूको साथबाट विद्युत्को तार र ट्रान्सफर्मर तोडफोड गर्न प्रयोग गरिने अनेकौँ प्रकारका मेसिन औजार समेत बरामद गरेको प्रहरीले जनाएको छ ।  संलग्न व्यक्तिहरूले विद्युत्को पोलमा होचो स्थानमा राखिएका ट्रान्सफर्मर रातको समयमा निकालेर तोडफोड गरी त्यहाँभित्रको तामाको ठुलो क्वायल चोरी गरी बिक्री गर्दै आएका थिए ।  नेपाल विद्युत् प्राधिकरण कोशी प्रदेश कार्यालयका अनुसार २०८१ माघ यता सबैभन्दा बढी सुनसरीमा १२ वटा ट्रान्सफर्मर चोरी भए । मोरङमा ८ र झापामा २ ट्रान्सफर्मर चोरी भएका कारण प्राधिकरण समेत दबाबमा परेको थियो । 

चोरीमा संलग्न व्यक्तिहरूले ११ हजार भोल्ट विद्युत् प्रवाह हुने लाइन अवरुद्ध गरेर मध्यरातमा ट्रान्सफर्मर फुटाएर त्यहाँभित्र रहने तामाको क्वायल निकालेर लैजाने गरेका थिए । २२ वटा ट्रान्सफर्मर चोरिँदा विभिन्न स्थानमा दुई करोड बढीको क्षति भएको प्राधिकरणको भनाई छ । ट्रान्सफर्मर चोरी भएकै नेपाल प्रहरीको प्रादेशिक अपराध अनुसन्धान समूह र सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा ३५ जना भन्दा बढी प्रहरी अनुसन्धानमा खटिएको जनाइएको छ । उनीहरूकै सक्रियतामा चोरीमा संलग्न व्यक्तिहरूको सञ्जाल नै पक्राउ पर्न सफल भएको डिआइजी कार्कीले बताए ।

पक्राउ परेका व्यक्तिहरूको साथबाट डायल रेन्च २२, सलाई रेन्च ३, पिलास ३, पेचकस ३, छिनो १, साङ्ली १, कैची १, ह्याक्सो बिलेट ३, खन्ती १, ब्याट्रीसहितको इलेक्ट्रिक ग्रेण्डर सेट १ र झम्पल १ वटा बरामद गरेको जनाइएको छ । प्रहरीले ट्रान्सफर्मरबाट निकालिएको ३६८.५ किलो तामा पनि बरामद गरेको छ । 

‘यस बिचमा उनीहरूले धेरै तामा गालेर बिक्री गरिसकेको पनि पाइएको छ, हामीले हालसम्म ३६८.५ किलो तामा बरामद गर्न सफल भएका छौँ’ डिआइजी कार्कीले भने, ‘हामीले लामो अनुसन्धानबाट यो गिरोह समाप्त पारेका छौँ, केही थप अनुसन्धान पनि गरिरहेका छौँ ।’