नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारद्वारा आन्तरिक ऋण उठाउन सुरु, ११ वर्षका लागि १० अर्ब उठाउँदै


काठमाडौं – नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंगलबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्न लागेको हो । ११ वर्ष लामो अवधिका लागि सर्वसाधारण लगानीकर्ताहरुबाट १० अर्ब रुपैयाँ आन्तरिक ऋण लिने भएको छ । विकास ऋणपत्र–२०९३ मार्फत सरकारले उक्त ऋण उठाउने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीहरुले साउन २१ गते बुधबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म आवेदन दिन सक्नेछन् । ऋणपत्रको बिक्री भने साउन २२ गने बिहीबार हुनेछ ।

कार्यालयका अनुसार प्रतिस्पर्धी वा अप्रतिस्पर्धी दुबै प्रणालीमार्फत बिक्री हुने ऋणपत्रका लागि कूल निष्काशनको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपियाँ प्रतिस्पर्धाबाट र बाँकी १५ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँ बिना प्रतिस्पर्धा बिक्री हुनेछ ।

ऋणपत्रमा लगानी गरिएको पैसाको ब्याज कटअफ रेटका आधारमा तय गरिनेछ भने लगानीकर्ताहरुले छ/छ महिनामा ब्याज प्राप्त गर्नेछन् । आवश्यक पर्दा बैंक धितोको रुपमा राख्न सकिने ऋणपत्रलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तथा डीओएमएस प्रणालीमार्फत दोस्रो बजारमा कारोबार समेत गर्न सकिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।