काठमाडौं – आर्थिक तथा वित्तीय अपराध बढ्दै जाँदा यसमा संलग्नहरूको संख्या पनि बढ्दो अवस्थामा छ । वित्तीय अपराध गर्नेहरूको संख्या बढ्दै जाँदा ‘हाइप्रोफाइल’ नै प्रहरीको फन्दामा पर्ने क्रम समेत बढेको छ । सरकारका उच्च पदस्थ कर्मचारीदेखि ठुला व्यापारी, पूर्व मन्त्री र प्रभावशाली व्यवसायीहरू नै वित्तीय अपराधमा पक्राउ पर्ने गरेका हुन् ।
करोडौँदेखि अर्बौँ रुपैयाँ बराबरको कर छली, अवैध सम्पत्ति शुद्धीकरण, ठगी तथा बैंकिङ्ग अपराधमा मुछीने हाइप्रोफाइलको संख्या बढ्दो छ । यस्ता अपराधहरुमा पक्राउ पर्नेहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेदेखि मेडिकल व्यवसायी दुर्गा प्रसाईँसम्म छन् । यसबाहेक, फरारको सूचीमा जिवी राई छन् भने वेचन झा जस्ता व्यक्ती समेत वित्तीय अपराधमा मुछिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पछिल्लो समयमा ठुला व्यापारी, बैंक सञ्चालक, ठेकेदार कम्पनीका सञ्चालकदेखि राजनीतिक व्यक्तिहरूलाई नै पक्राउ गर्न थालेको छ । पहुँच भएका र प्रभावशाली व्यक्तिहरू नै धमाधम अनुसन्धानमा तानिनुका साथै र कारबाही प्रक्रियामा समेत भोग्न थालेका छन् ।
सत्ता, पहुँच र पदको आडमा आर्थिक तथा वित्तीय अपराधमा कतिपय उच्च पदस्थ अधिकारीहरू प्रहरीको फन्दामा परिसकेका छन्, भने केही फरार रहेका छन् । यही कारण, प्रभावशाली व्यक्तिहरूको संलग्नता र संरक्षणका कारण आर्थिक अपराध नियन्त्रणमा चुनौती समेत थपिएको छ । यसलाई रोक्न कडा नीति, पारदर्शिता र कडाइका साथ कानुनी कार्यान्वयन आवश्यक रहेको अनुसन्धान गर्ने निकायको आँकलन छ।
नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार विभिन्न स्वरूपका वित्तीय अपराधमा उच्च पदस्थ व्यक्तिको संलग्नता बढ्दो छ। उनका अनुसार यहीकारण सरकारी सम्पत्ति अपचलन, कर छली, सहकारी ठगी, बैंकिङ्ग कसुर लगायतमा पक्राउ पर्नेहरूको संख्या बढ्दो छ । यस्ता ठगीका घटनाहरूमा माथिल्ला तहका व्यक्तिहरू नै संलग्न हुन थाले पछि आपराधिक क्रियाकलाप झनै बढ्ने अवस्थामा पुगेको उनी बताउँछन् ।
यस आर्थिक वर्षमा पूर्व गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए । उनलाई चैतमा धरौटीमा रिहा गरिएको थियो । तर, उनलाई पुनः पुर्पक्षका लागि थुनामा पठाइएपछि थुनामै छन् । उनीविरुद्ध विभिन्न सहकारीको रकम अपचलन गरेको मुद्दा दायर भएको छ । सूर्य दर्शन सहकारीको अर्ब बराबरका कोषहरू अवैध रूपमा हिनामिना गरेको आरोप लाग्दै उनलाई बन्दी बनाइएको थियो । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी अर्बको रकम गलत रूपमा निकासा गरेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट मुद्दा दायर भएको थियो ।
त्यस्तै, सुप्रिम सहकारी बुटवलको सुप्रिम सहकारीबाट रकम केही प्रारम्भिक भुक्तानी गैरकानुनी रूपमा गरिएपछि उच्च अदालत उनलाई थुनामा पठाउन आदेश दिएको थियो । सानो पाइला सहकारी ११५.६९ मिलियन बराबर रकमको गलत निकास गरिएको आरोपमा पर्सा जिल्लामा मुद्दा दर्ता गरिएको थियो । उनले सहकारीहरूबाट निकासा भएको रकम गोरखा मिडिया नेटवर्क र व्यक्तिगत खातामा सारिएको भन्दै मनी लाउन्डरिङ सम्बन्धी मुद्दा पनि सामेल रहेको छ।
कास्की अदालतले उनलाई २०८१ को पुसतर्फ ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । सोही समय काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यस्तै, यस आवमा प्रहरीले नै मुद्दा मिलाईदिन्छु भन्दै रकम ठगी गरेको एक घटना बाहिर आएको थियो । रकम ठगी गर्नेमा नेपाल प्रहरीको साइबर ब्यूरोका तत्कालीन प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदी रहेका थिए । उनले साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाइदिन्छु भनेर उनको दाजुसँग ९९ हजार रुपैयाँ लिएको अख्तियार अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको थियो ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट रकम अपचलन गरेका कारण र राजवादी आन्दोलनका कारण सर्वत्र चर्चामा आएका थिए । उनले आफ्नो परिवार र आफन्तहरू संलग्न रहेको विभिन्न २५ वटा संस्थाहरूद्वारा विभिन्न ९ वटा बैंक एवं वित्तीय संस्थाहरूबाट विभिन्न मितिमा लिएको कर्जा २०८१ असोज मसान्तसम्म ७ अर्ब २५ करोड ८७ लाख रुपैयाँ बक्यौता रहेको खुल्न आएको थियो।
यता नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा पनि पक्राउ परेका थिए । उनलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । यस प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पक्राउ गरेको थियो । बेचन झा पक्राउ पर्नु नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढल्नुको प्रमुख कारण रहको सरोकारवालाहरुको दाबी छ।
गण्डकी प्रदेशका तत्कालीन सांसद दीपक मनाङे (राजीव गुरुङ)ले ठगी, धम्की र संगठित जस्ता आपराधिक क्रियाकलाप गरेका अभियोगमा पक्राउ परेका थिए । उनका केही मुद्दा फिर्ता भएका छन् भने केही अझै प्रक्रियामा रहेका छन् । पूर्व उपराष्ट्रपति परमानन्द झाको छोरा दीपेश कुमार पुन सुप्रिम बचत तथा ऋण सहकारीमा करोडौँ हिनामिना गरेको अभियोगमा वैशाख २०८१ मा पक्राउ परेका थिए । त्यस्तै, सहकारी सञ्जालका प्रभावशाली अध्यक्ष गोविन्द बस्नेत गोरखा सहकारीमा ठुलो रकम हिनामिना आरोप पक्राउ परेका थिए । उनी हाल पनि थुनामा नै रहेका छन् ।
अख्तियार अनुसनधान आयोगले गत महिनामा मात्र देशको नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीविरुद्ध तीन वटा घुस मुद्दामा दायर गरेको थियो । उनीविरुद्ध र्याडिसन परियोजना, हिमाल तराई कन्सट्रक्सन प्रालि र अलका देबी ट्रेडस नामक कम्पनीका लागि ऋण प्रवाह गराउँदा घुस लिएको अख्तियारको आरोप लगाएको थियो । यस घटनाले नेपालका ‘क’ वर्गका नै बैंकहरु नै असुरक्षित रहेको अवस्था रहेको देख्न सकिन्छ ।
त्यस्तै, केन्द्रिय अनुसन्धान आयोगले कर्णाली डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं पटक–पटक सञ्चालक समितिको अध्यक्षमा रहेका राजेन्द्र बहादुर राय, तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ गरेको थियो ।






About Us
प्रतिक्रिया