सरकारी साक्षीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दर्ता 


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान अयोगले बाकेको कोहलपुर नगरपालिकाका डम्मर बहादुर बुढाथोकीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार सम्बन्धी आरोपमा मुद्दा दायर गरेको छ । उनले सरकारी साक्षीको हैसियतमा अदालतमा प्रतिकूल बयान दिएर भ्रष्टाचारको मुद्दालाई प्रभाव पार्ने प्रयास गरेको ठहर भएपछि आयोगले उनलाई दोषी ठहर गर्दै आरोपपत्र दायर गरेको हो  । 

खरिदार रतन बहादुर जिसीसहितको समूहले घुस लिएको मुद्दामा बुढाथोकी सरकारी साक्षीका रूपमा अदालतमा पेस भएका थिए। तर, मिति २०८२ जेठ २६ गते उनले अनुसन्धान अधिकृत समक्ष दिएको बयान विपरीत अदालतमा बयान दिएका थिए। बुढाथोकीले नियमानुसार जग्गाको मोठ भिडाउन सहजीकरण गरी दिनको लागि खरिदार जिसी, हरिचन्द्र पाण्डे तथा घनश्याम तिवारीलाई नगद २० हजार घुस दिएको पुष्टि भएको आयोगले जनाएको छ । 

अख्तियारको अनुसार,  बुढाथोकीलाई भ्रष्टाचार निवारण ऐन,  २०५९ को दफा ३ को उपदफा (३)ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१)बमोजिमको कसुरमा कारबाही गरिने छ ।  आरोप पत्रमा उनलाई उक्त ऐनको दफा ३ को उपदफा (१) (क) अनुसार कैद सजाय, बिगोअनुसार जरिवाना तथा घुस जफत गर्न माग गरिएको छ।

अख्तियारले बुढाथोकीमाथि २० हजार रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचारमा संलग्न रहेको प्रमाणित भएको उल्लेख गरी विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ।