काठमाडौ – नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको जोखिम व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ‘जोखिममा आधारित पुँजी तथा सोल्भेन्सी निर्देशिका, २०८२’ लागू गरेको छ । यो निर्देशिकाले जोखिम मूल्याङ्कनका लागि स्ट्रेस अप्रोच र फ्याक्टर बेस अप्रोच गरी दुई विधिलाई अनिवार्य गरेको छ । प्राधिकरणले बीमा कम्पनीहरूको वित्तीय स्थिरता र जोखिम व्यवस्थापन क्षमतालाई बलियो बनाउने उद्देश्यसहित यो निर्देशका ल्याएको हो ।
प्राधिकरणले जोखिममा आधारित पुँजी सम्बन्धी साबिकको निर्देशिका खारेज गरेर साउन १ गतेदेखि लागू हुने गरी नयाँ निर्देशिका जारी गरेको हो । उक्त निर्देशिका अनुसार जोखिमको मूल्याङ्कनका लागि अब स्ट्रेस अप्रोच र फ्याक्टर बेस अप्रोच गरेर दुई विधि अपनाउनु पर्नेछ । प्राधिकरणले संशोधित निर्देशिका बमोजिम जोखिम मूल्याङ्कनका सम्बन्धमा बीमकले प्राधिकरणलाई उपलब्ध गराउनुपर्ने विवरण सम्बन्धित ढाँचामा समेत परिमार्जन गर्दे बीमकलाई नयाँ ढाँचा उपलब्ध गराएको छ ।
बीमा कम्पनीहरूको जोखिम मूल्यांकन, पुँजी व्यवस्थापन र शासन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिष्कृत गर्ने प्रयास गरिएको छ । जीवन बीमा जोखिममा मृत्युदर, दीर्घायु रोग वा अपाङ्गताको परिवर्तनले हुने जोखिम पर्छ । निर्जीवन बीमा रिक्समा मोटर, आगलागी, कृषि, स्वास्थ्य जस्ता बीमाहरूमा हुने अनुमानभन्दा बढी दाबी परेको विषयलाई समावेश गरिन्छ । क्याटसटोपिक रिक्समा भूकम्प, बाढी, पहिरो, हावाहुरी जस्ता ठुलो प्रभाव पार्ने प्राकृतिक प्रकोपहरू पर्छन् ।
यो विधिको प्रयोगबाट बीमक र बीमित दुवै पक्षमा हुने जोखिम भारलाई मूल्यांकन गर्न सहज हुने अपेक्षा प्राधिकरणको छ । नेपाल बीमा प्राधिकरणका शुशीलदेव सुवेदी यी विधिहरूले बीमा कम्पनीहरूलाई जोखिम व्यवस्थापनमा थप जिम्मेवार र पारदर्शी बनाउने बताउँछन् । ‘हाम्रो उद्देश्य बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बलियो र सुरक्षित बनाउनु हो,’ उनले भने, ‘अहिलेको वर्तमान समयमा बीमा क्षेत्रमा नयाँ र प्रभावकारी नीतिको आवश्यकता भएसँगै प्राधिकरणले नयाँ नीति पहिल्याएको छ ।’
बीमा क्षेत्रमा कसरी हुन्छ प्रभावकारी ?
यी दुवै विधिको संयोजनले बीमा कम्पनीहरूलाई जोखिमको राम्रो मूल्याङ्कन गर्न र पर्याप्त पुँजी कायम राख्न प्रेरित गर्छ । स्ट्रेस अप्रोचले सम्भावित जोखिमहरूको सामना गर्न कम्पनीको तयारी सुनिश्चित गर्छ भने फ्याक्टर बेस अप्रोचले जोखिमको प्रकृतिअनुसार पुँजीको आवश्यकता स्पष्ट गर्छ । यसले कम्पनीको वित्तीय स्थिरता, ग्राहकको विश्वास र बीमा क्षेत्रको समग्र विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ ।
स्ट्रेस अप्रोच अन्तर्गत बीमा कम्पनीहरूको हालको वित्तीय विवरणमा विभिन्न प्रतिकूल परिस्थितिहरूको प्रभाव परीक्षण गरिन्छ । यस विधिमा कम्पनीको आय, सम्पत्ति, दायित्व र पुँजी माथि आर्थिक मन्दी, ब्याजदरको उतारचढाव, मुद्रास्फीति वा अन्य जोखिमहरूले पार्ने सम्भावित असरको विश्लेषण हुन्छ । उदाहरणका लागि, यदि ब्याजदरमा अचानक वृद्धि भयो वा सम्पत्तिको मूल्यमा ह्रास आयो भने कम्पनीको वित्तीय अवस्था कस्तो हुन्छ भन्ने कुरा यो अप्रोचले मूल्याङ्कन गर्छ ।
यसले कम्पनीहरूलाई सम्भावित जोखिमहरूको सामना गर्न तयार रहन र आवश्यक पुँजीको व्यवस्था गर्न मद्दत गर्छ । प्राधिकरणका अनुसार यो विधिले कम्पनीको दीर्घकालीन स्थायित्व र जोखिम वहन गर्ने क्षमतालाई सुनिश्चित गर्छ । यो विधि परिदृश्य आधारित विश्लेषण हो । यसले कम्पनीलाई विभिन्न आर्थिक र बजार सम्बन्धी परिस्थितिहरूको सामना गर्न तयार पार्छ। उदाहरणका लागि, यदि प्राकृतिक प्रकोप वा बजारमा ठुलो ह्रास आयो भने कम्पनीले कति पुँजी आवश्यक पर्छ भन्ने अनुमान गर्न सक्छ ।
फ्याक्टर बेस अप्रोचः जोखिममा आधारित पुँजी गणना
फ्याक्टर बेस अप्रोचमा प्राधिकरणले तोकेका निश्चित जोखिमहरूको लागि निर्धारित प्रतिशतका आधारमा पुँजी गणना गरिन्छ । यो विधिमा विभिन्न जोखिमहरू जस्तै ‘काउन्टरपार्टी डिफल्ट रिक्स, मार्केट रिक्स, इन्स्योरेन्स रिक्स लाइफ र ननलाइफ, क्याटस्ट्रोफिक रिक्स र अपरेसनल रिक्स’लाई आधार बनाइन्छ । प्रत्येक जोखिमका लागि प्राधिकरणले तोकेको निश्चित प्रतिशतअनुसार कम्पनीले पुँजी कायम गर्नुपर्छ ।
उदाहरणका लागि, यदि कुनै कम्पनीको ग्राहकबाट भुक्तानी नहुने काउन्टरपार्टी डिफल्ट जोखिम उच्च छ भने, त्यसका लागि तोकिएको प्रतिशतअनुसार थप पुँजी राख्नुपर्छ । यस्तै, ब्याजदर, मुद्रास्फीति, विनिमय दर वा सम्पत्तिको मूल्यमा हुने उतारचढाव मार्केट रिक्सको जोखिमका लागि पनि निश्चित पुँजी गणना गरिन्छ । यो विधिले जोखिमको प्रकृतिअनुसार पुँजीको आवश्यकता स्पष्ट रूपमा निर्धारण गर्छ । यो विधि जोखिमको मात्रा र प्रकारमा आधारित हुन्छ। प्राधिकरणले तोकेको जोखिमको प्रतिशतअनुसार कम्पनीले आफ्नो पुँजीको स्तर निर्धारण गर्छ। यसले जोखिम व्यवस्थापनलाई संरचनात्मक र पारदर्शी बनाउँछ ।
अन्तर्राष्ट्रिय अभ्यास पहिल्याउँदै प्राधिकरण
‘स्ट्रेस र फ्याक्टर बेस अप्रोच’ विश्वका धेरै देशहरूमा बीमा क्षेत्रको नियमन र जोखिम व्यवस्थापनको लागि प्रयोग हुन्छ । युरोपेली संघमा (सोल्भेन्सी आइआइ) मा स्ट्रेस र फ्याक्टर बेस अप्रोच व्यापक रूपमा लागू गरिएको छ । यो ढाँचाले बीमा कम्पनीहरूको पुँजी आवश्यकता, जोखिम मूल्याङ्कन, र स्ट्रेस टेस्टलाई जोड दिन्छ । त्यस्तै, अमेरिकामा ‘नेश्नल एसोसियसन अफ कपमनिरसबाट रिस्क वेस्ड क्यापिटल’ ढाँचा लागू गरेको छ ।
यो ढाँचाले बीमा कम्पनीहरूको सम्पत्ति, दायित्व, र जोखिमलाई फ्याक्टरबेस विधिमा आधारित गरी पुँजी आवश्यकता निर्धारण गर्छ । भारतमा समेत यस्तो व्यवस्था गरिएको छ । ‘इन्स्योरेन्स रेगुलेटर एण्ड डेभलपमेन्ट अथोरिटि अफ इन्डिया’ स्ट्रेस टेस्ट र जोखिमआधारित पुँजी ढाँचालाई प्रोत्साहन गर्छ । भारतमा बीमा कम्पनीहरूले बजार, क्रेडिट, र प्राकृतिक प्रकोप सम्बन्धी जोखिमहरूको स्ट्रेस टेस्ट गर्नुपर्छ । क्यानडा, सिंगापुर, र दक्षिण अफ्रिका जस्ता देशहरूमा पनि स्ट्रेस र फ्याक्टर बेस अप्रोचलाई जोखिम व्यवस्थापन र नियमनको लागि प्रयोग गरिन्छ । यसरी हेर्दा नेपालले पनि बीमा क्षेत्रलाई थप प्रभावकारी बनाउनको लागि अन्तर्राष्ट्रिय नीतिलाई पछ्याएकाे भन्न सकिन्छ ।






About Us
प्रतिक्रिया