नेपालको बीमा क्षेत्रमा एआईको क्रान्तिकारी सम्भावना

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो दशकमा प्रविधि जगतमा सबैभन्दा चर्चामा आएको र आश्चर्यजनक नतिजा पनि दिएको प्रविधि हो एआई । र, यो अहिले सामान्य मानिसहरूको लागी पनि ‘हटकेक’ बनिरहेको छ । खासगरी, च्याट जीपीटी सार्वजनिक भएयता कृत्रिम बौद्धिकता अर्थात् एआईले मानिसहरूलाई आफ्नो शक्ति र क्षमता देखाइदिएको छ ।

यतिबेला विश्व बजार एआईका कारण हलचलको सामना गरिरहेको छ । बैंक तथा वित्तीय संस्था, बीमा, शेयर बजार, गम्भीर प्रकृतिका उपचार, युद्ध लगायत क्षेत्रमा एआईले क्रान्ति गरिरहेको छ । यसबाहेक, अन्तरिक्षतर्फको खोज तथा अन्य सबैजसो क्षेत्रमा एआईको प्रयोग व्यापक छ । यससँगै, विश्वको बीमा क्षेत्रले समेत एआईको प्रयोग द्रुतगतिमा बढाइरहेको छ ।

तर, नेपालका बीमा कम्पनी भने यसतर्फ बेखबर जस्तै देखिएका छन् । बीमा कम्पनीहरूले एआईबारे सुन्ने गरे पनि यसको प्रयोगमा औपचारिक तयारी थालिसकेका छैनन् । बैंक तथा वित्तीय संस्थाले भने एआईको प्रयोग अघि बढाइसकेका छन् । बैंकहरुले आफ्नो वेबसाइटमा ‘च्याटबट’ राखेर सेवाग्राहीसँग अन्तरक्रिया गर्दै आइरहेका छन् ।

नेपालको सन्दर्भमा पनि बीमा उद्योगमा एआईको प्रयोग र सम्भावनाले नयाँ आयाम थपिरहेको छ । यो प्रविधिले जोखिम व्यवस्थापन, ग्राहक सेवा, दाबी धोखाधडी नियन्त्रणमा क्रान्तिकारी परिवर्तन ल्याउने सम्भावना बोकेको छ । तर, यसको प्रभावकारी कार्यान्वयनका लागि कस्ता आवश्यकताहरू छन् र यसले कस्ता सम्भावनाहरू खोल्दैछ भन्ने कुराहरू सम्बन्धित  निकायहरूले बुझ्न आवश्यक छ ।

जोखिम मूल्याङ्कन र व्यवस्थापन एआईले प्राकृतिक प्रकोपहरू जस्तै: भूकम्प, बाढी, खडेरी र अन्य जोखिमहरूको तथ्याङ्क विश्लेषण गरी बीमा कम्पनीहरूलाई जोखिम न्यूनीकरण र मूल्य निर्धारणमा सहयोग गर्न सकिन्छ । नेपालमा बीमा कम्पनीहरूले ग्रामीण र शहरी क्षेत्रमा समान रूपमा सेवा विस्तार गर्नुपर्ने चुनौती छ । एआईले डिजिटल प्लेटफर्ममार्फत पहुँच र प्रभावकारिता बढाउन सक्ने क्षमतालाई मध्यनजर गरेर नेपालका बीमा कम्पनीहरूले छिटोभन्दा छिटो एआई अँगाल्नुको विकल्प छैन ।