विराटनगर -सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र उद्योग स्थापना गर्न इच्छुक उद्योगीहरूका लागि साउन २१ गतेसम्म छुटको अफर प्रस्तुत गरिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बुधबार उद्योग संगठन मोरङको सभाहलमा पूर्वका उद्योगी व्यवसायीलाई औधोगिक क्षेत्रमा उद्योग स्थापना गर्दा प्राप्त हुने छुटका बारेमा जानकारी गराएको हो । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सञ्चालक समिति अध्यक्ष बाबुराम पन्तले मझौला तथा साना उद्योगका लागि ८९ दशमलव ९१ रोपनी जग्गा विकसित गरिएको जानकारी दिए ।
उनले उक्त क्षेत्रभित्र न्युनतम् ५ रोपनीदेखि अधिकतम् ८ रोपनीसम्मका प्लटहरू रहेको, कालोपत्रे सडकको व्यवस्था गरिएको, २४ सै घण्टा विद्युत आपूर्ति एवं छुट्टै सव–स्टेशनको व्यवस्था भएको बताए । सो औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न चाहने उद्योगी व्यवसायीले ४० वर्षका लागि जग्गा लिजको सम्झौता गर्न सकिने बताए । मिल मेशिनरी वा स्थिर सम्पत्ति बैंक वा वित्तीय संस्थामा धितो राखी कार्यालयको सिफारिसमा कर्जा लिन सकिने स्पष्ट पार्दै प्रति रोपनी १३ हजार ८९१ रुपैयाँ ५० पैसा प्रति वर्ष तय गरिएको अध्यक्ष पन्तले जानकारी दिए ।
उक्त औद्योगिक क्षेत्रमा हाल १२ वटा विभिन्न उद्योग सञ्चालनमा रहेको जनाइएको छ । औद्योगिक क्षेत्रका प्रमुख मनिष कुमार मिश्रले जग्गा, भवन बहाल लिन इच्छुक उद्योगी व्यवसायीले श्रावण २१ भित्र प्रस्ताव पेस गर्न सक्ने बताए । उनले उद्योगले कुनै कारणवस् औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योग सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएमा भाडामा लिएको जग्गामा उद्योग आफैँले निर्माण गरेको भवन तथा भौतिक संरचना, मिलमेशिनरी लगायतका सम्पत्तिलाई अन्य उद्योगलाई स्वामित्व हस्तान्तरण गरी बेचबिखन समेत गर्न सकिने बताए ।
मिश्रले मझौला र साना उद्योग स्थापनामा लागि प्रचुर सम्भावना जानकारी दिँदै सो औद्योगिक क्षेत्रमा स्थापनाका लागि उनले सुनसरी–मोरङका उद्योगी व्यवसायीलाई आग्रह गरे ।उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रले उद्योग स्थापना गर्नका लागि आवश्यक पूर्वाधार विकासमा ठुलो रकम खर्च गर्नु परिरहेको बताए । उनले जग्गा व्यवस्थापन गरेर उद्योग स्थापना गर्न निकै चुनौतीपूर्ण रहेको भन्दै गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योगीहरूलाई उद्योग स्थापनाका लागि प्रोत्साहन गर्दै अफर सार्वजनिक गरेर औद्योगिक वातावरण तयार गर्न सहयोग पुर्याएको बताए ।
सरकार र सरकार अन्तरगतका निकायले औद्योगिक वातावरण बनाउन स्पष्ट नीतिगत ढाँचा, सहुलियत र आवश्यक पूर्वाधार सहितको औद्योगिक क्षेत्र निर्माण गर्न सके लगानीकर्ताहरूको मनोबल वृद्धि हुने बताए । छलफलमा मोरङ उद्योग व्यापार संघसहित मोरङ र सुनसरीका विभिन्न उद्योग वाणिज्य संघ, नेपाली युवा उद्यमी मञ्च र उद्योगी व्यवसायीहरूले व्यापारमा आधारित अर्थतन्त्रभन्दा देशमा औद्योगिक उत्पादन वृद्धि गरी रोजगारीको समस्या समेत समाधान गर्नु आवश्यक रहेको बताएका थिए ।






About Us
प्रतिक्रिया