काठमाडौं – अरूलाई ठगेर पैसा कमाउने अभिप्रायले आपराधिक क्रियाकलापमा संलग्न हुनेहरूको संख्या बढ्दै गएको छ । प्रविधिमा बढ्दै गएको पहुँच र विस्तारले आपराधिक कार्यमा संलग्न हुनेहरूलाई सर्वसाधारणलाई ठगी गर्न झनै सहज भइरहेको छ । विश्वको जुनसुकै स्थानमा रहँदा पनि सजिलोसँग नै सर्वसाधारणको सम्पत्ति चोरी र ठगी गर्न सक्ने स्थिति प्रविधिले बनाएको छ ।
ठगी गरेपछि आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरू सजिलोसँग आफ्नो जालोमा सर्वसाधारणलाई फसाएर उम्कने गर्छन्। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो समयमा प्रदेशभरि बैंकिङ्ग कसुर, सट्टेबाजी, जुवा, डाँका, नक्कली नोट तथा सिक्का कारोबार, ठगी, झुटा कागज बनाउने, नक्कली स्किम देखाएर पैसा संकलन गर्नेहरूको संख्या बढ्दो छ ।
यसबाहेक, कालो बजारी, सहकारी ऐन उल्लङ्घन, अनुचित लेनदेन र सम्पत्ति शुद्धीकरणजस्ता आर्थिक तथा वित्तीय अपराधका घटना बढ्दै गइरहेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार यस्ता अपराध नियन्त्रण गर्नका लागि विशेष निगरानी, सूचनाको गोप्य संकलन अभियानलाई थप प्रभावकारी बनाइएको छ । तर, पनि त्यस्ता आर्थिक तथा वित्तीय अपराधमा संलग्न हुनेहरू बढ्दै गइरहेको प्रहरीको तथ्यांकले खुलाएको छ ।
प्रहरीले प्रदेशका विभिन्न जिल्लामा वित्तीय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरूसँग समेत सहकार्य गर्दै बैंकिङ्ग कसुर र नक्कली नोट तथा सिक्का कारोबारमा रोक लगाउन सूचना आदानप्रदानलाई थप सशक्त बनाएको छ । जुवा, सट्टेबाजी र ठगीजस्ता अपराध नियन्त्रणका लागि अनलाइन र भौतिक दुवै तहमा निगरानीलाई प्राथमिकता दिइएको बताएको छ ।
यसैबीच, प्रहरीले शंकास्पद आर्थिक कारोबार, नक्कली कागजात बनाउने, अवैध सम्पत्ति शुद्धीकरण र कालो बजारीका विषयमा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सूचना दिन सार्वजनिक अपिलसमेत गरेको छ । आर्थिक तथा वित्तीय अपराध नियन्त्रणका लागि सरकारी निकाय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था र आम नागरिकबीच सहकार्य आवश्यक रहेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सञ्जय सिंह थापाका अनुसार देशको परिस्थिति अनुसार अर्थतन्त्रको अवस्थाले गर्दा वित्तीय अपराधमा पर्ने गरेका उजुरीहरू प्रदेशमा बढ्दो क्रममा रहेको छ । प्रदेशमा चेक बाउन्स, अनलाइन ठगी, स्क्याम गरी ठग्ने गरेका घटना वृद्धि भइरहेको उनले बैंकिङ्ग समाचारसँग बताउँछन् । प्रदेश प्रहरीले अपराधको किसिम अनुसार सम्बन्धित निकायसँग समन्वय गदै अनुसन्धान गरिँदै आइरहेको उनले बताए ।
अनलाइन ठगीका बारेमा समय समयमा विभिन्न स्थानमा गएर जनचेतना मूलक कार्यक्रमहरू समेत सञ्चालन गर्ने गरिएको प्रवक्ता थापाले बताए । उनका अनुसार सामाजिक सञ्जालको दुरुपयोग गरी लोभमा फसाउने, क्रिप्टो करेन्सी जस्ता अवैध मुद्राहरूका विषयमा जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गरिएता पनि यता घटनाहरू थप बढ्दै गइरहेको छ ।
बागमती प्रदेशमा मात्र आर्थिक वर्ष २०७९/२०८० मा आर्थिक तथा वित्तीय अपराधमा ५०५ वटा घटना घटेका थिए । जसमा संलग्न ४९३ जना पक्राउ परेका थिए । प्रदेश प्रहरीको तथ्यांक अनुसार यस प्रदेशमा सबैभन्दा बढी आर्थिक तथा वित्तीय अपराधका घटनाहरू चितवन जिल्लामा घट्ने गरेको छ । आव २०७९/२०८० मा समेत सबैभन्दा बढी घटना चितवनमा घटेका थिए । चितवनमा त्यस आवमा २७५ वटा उजुरी दर्ता भएका थिए, भने २१० जना पक्राउ परेका थिए ।
आव २०८०/२०८१ मा पैसाका लागि हुने आर्थिक तथा वित्तीय अपराधहरूमा वृद्धि भएको थियो । यस आवमा बागमतीमा मात्र ८९५ वटा घटना घटेका थिए । यो आव २०७९/२०८० को भन्दा ३९० बढी उजुरी त्यस वर्ष परेको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । त्यस्तै, आव २०८१/२०८२ मा बागमतीमा ९५९ वटा घटेका थिए । जसमा ४५९ जना पक्राउ परेका थिए। यस आवमा सबैभन्दा बढी चितवनमा आर्थिक तथा वित्तीय अपराधका घटनाहरू घटेका थिए । चितवनमा ३६९ वटा उजुरी दर्ता भएका थिए, भने १८४ जना पक्राउ परेका थिए ।
साथै, यस प्रदेशमा आर्थिक अपराध हुने जिल्लामा दोस्रोमा मकवानपुर रहेको छ भने तेस्रो स्थानमा काभ्रे रहको प्रहरीले जनाएको छ । मकवानपुर जिल्लामा तत्कालीन आवमा २१० वटा उजुरी परेकोमा ८३ जना पक्राउ परेका थिए भने काभ्रेमा १८८ वटा उजुरी र १०० जना पक्राउ परेका थिए ।





About Us
प्रतिक्रिया