काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका– ८ बस्ने नुवाकोट म्यागङ गाउँपालिका– २ घर भएका ४२ वर्षीय हेम बहादुर तामाङ, काठमाडौं टोखा नगरपालिका– १० बस्ने स्याङ्जा फेदीखोला गाउँपालिका– २ घर भएका ३५ वर्षीया ईश्वरी थापा र काठमाडौं चन्द्रागिरी नगरपालिका– ५ बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका– ७ घर भएका ६१ वर्षीया मैया देवी उप्रेती रहेका छन् ।
पक्राउ मध्ये हेम बहादुरले सिङ्गापुर पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ७० हजार रुपैयाँ, ईश्वरीले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ५० हजार रुपैयाँ र मैया देवीले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हेम बहादुरलाई टोखा नगरपालिका– ८ बाट शुक्रवार, ईश्वरीलाई टोखा नगरपालिका– १० बाट शनिवार र मैया देवीलाई चन्द्रागिरी नगरपालिका– ५ बाट आइतबार पक्राउ गरेको हो ।
पक्राउमध्ये ईश्वरीलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा हेम बहादुर र मैया देवीलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।





About Us
प्रतिक्रिया