काठमाडौं – हुण्डी कारोबार गरेको आरोपमा तीनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका– १३ हाटबजार बस्ने ४५ वर्षीय महुमुद्दिन एम अहमद (रुपन्देही तथा कास्कीमा रेष्टुरेन्ट व्यवसाय सञ्चालक), झापाको दमक नगरपालिका– ४ चियादोकान घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका –६ बैदाम बस्ने ४५ वर्षीय राजकुमार बुढाथोकी (हिलारी मनि चेन्जर सञ्चालक) र कास्कीको पोखरा महानगरपालिका– १९ पुरनचौर बस्ने ४३ वर्षीय खेमराज पौडेल (सगरमाथा मनि चेन्जरका सञ्चालक) पक्राउ परेका छन् ।
उनीहरूलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । कास्की पोखरा महानगरपालिका– १७ पार्टी बिरौटामा अवैध रूपमा विदेशी विनिमय कारोबार भइरहेको भन्ने सूचनाका आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा– १७ पार्टी बिरौटा स्थितबाट उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट अमेरिकी डलर १०० दरको नोट १९६ थान (१९ हजार ६ सय) युरो ५०० दरको नोट ३ थान, युरो २०० दरको नोट ८ थान, युरो १०० दरको नोट १ थान, नेपाली रुपैयाँ १००० दरको ४,३७३ थान र नेपाली रुपैयाँ १०० दरको नोट ७ थान बरामद गरेको छ । प्रहरीका अनुसार उनीहरूको साथबाट बरामद भएको रुपैयाँ हालको मुद्रा दर अनुसार जम्मा नेपाली ७५ लाख ९६ हजार हुन आउँछ । उनीहरूलाई विदेशी तथा नेपाली नगद सहित पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ बमोजिमको कसुरमा दिन सात ७ म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया