बैंकिङ्ग समाचार, काठमाडौं ।
यही वैशाख २४ गतेका दिन ‘नेपाल व्यवसाय शिखर सम्मेलन २०८०’ आयोजना हुने भएको छ । कोभिड–१९ को महामारी र विश्वमा विकसित विभिन्न राजनीतिक तथा आर्थिक परिघटनाहरुका कारण नेपालको अर्थतन्त्रमा समेत नकारात्कम असरहरु देखा परिरहेको र आम जनजिवन समेत असहज बन्दै गईरहेको कारण अर्थतन्त्रका बारेमा आमरुपमा व्यापक चिन्ता र चासो बढेको छ ।
यसै विषयलाई हृदयगंम गर्दै यहि बैशाख २४ गतेका दिन काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०८०’ (Nepal Business Summit, 2023) आयोजना हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) तथा नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा उक्त सम्मेलन हुनलागेको हो ।
सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्नेछन् । सिबिफिन अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा हुने उक्त सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महत, विश्व बैंक समूहको इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी)का एसिया प्यासिफिक क्षेत्रका उपाध्यक्षका सल्लाहकार कमर सलिम, वरिष्ठ उद्यमी तथा प्रतिनीतिसभा सदस्य विनोद चौधरी, वरिष्ठ अर्थशास्त्री तथा प्रतिनीतिसभा सदस्य डा. स्वर्णिम वाग्ले, गभर्नर महाप्रसाद अधिकारी, उद्योग सचिव मधु कुमार मरासिनी, विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद जर्भोस, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा, उद्योग परिसंघ (सिएनआइ)का पूर्वअध्यक्ष हरिभक्त शर्मा, म्यानेजमेन्ट एसोसिएसन नेपालका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवाल, डोल्मा अर्गनाइजेसनका प्रबन्धनिर्देशक जोसेफ अल्भानस लगायत विभिन्न देशका राजदूतहरु, अर्थशास्त्रीहरु, उद्यमी व्यवसायीहरु, विभिन्न मन्त्रालयका सचिव तथा सहसचिवहरुले कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
‘अर्थतन्त्रका वर्तमान चुनौति तथा समृद्धिको मार्गचित्र’ मूल विषयवस्तु रहेको उक्त सम्मेलनमा नेपालको वर्तमान आर्थिक एवं बैंकिङ्ग अवस्था, चुनौती तथा समाधानका उपायहरुमा गहन विवचार–विमर्श हुने उल्लेख गरिएको छ ।
दरबारमार्गमा रहेको होटल याक एन्ड यती सम्मेलनको समापन भने नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
प्रतिक्रिया