नक्कली सुन देखाई २१ लाख ठगी गर्ने दुई जना पक्राउ 


काठमाडौं – नक्कली सुन देखाई ठगी गरेको आरोप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली सुन देखाएर प्रतितोला १ लाख १० हजारमा दिन्छु भन्दै प्रलोभनमा पारी ठगी गरेको आरोप सिन्धुपाल्चोकको बाह्रबिसे– ५ घर भई हाल भक्तपुरको बोडे बस्ने वर्ष २८ को बुद्धि बहादुर तामाङ र नुवाकोटको मेगङ– ८  घर भई हाल भक्तपुरको  सुडाल बस्ने  २२ वर्षीय को सुमन तामाङ पक्राउ परेका छन् । 

उनीहरूले ओखलढुङ्गा चम्पादेवी– ७ घर भई हाल भक्तपुर बस्ने ढक बहादुर बुढाथोकीलाई भक्तपुरको इबामोरा चोक नजिक बोलाई बाह्र लाख लिएको र दोलखाको भीमेश्वर नगरपालिका– ५ घर भई हाल भक्तपुर राधे राधे बस्ने अर्जुन बस्नेतलाई भक्तपुर पान्डुबजार नजिक बोलाई ९ लाख ५० हजार लिएर फरार भएको प्रहरीले जनाएको छ। उक्त घटना अनुसन्धान गर्ने क्रममा ठगी कार्यमा संलग्न २ जनालाई उपत्यका अपराध अनुसन्धान शाखा भक्तपुरबाट खटिएको प्रहरी टोलीले  भक्तपुरको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले बताएको छ । 

थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको प्रहरीले जनाएको हो । प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीको मोबाइल ४ थान र सुन जस्तो देखिने पहेँलो धातु (१ के.जी) १ थान बरामद गरेको छ ।