राष्ट्र बैंकले ११% ब्याजदरको वैदेशिक रोजगार बचतपत्र विक्री गर्दै

राष्ट्र बैंकले ११% ब्याजदरको वैदेशिक रोजगार बचतपत्र विक्री गर्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले वैशाख १७ गतेदखि वैदेशिक रोजगार बचतपत्र २०८५ विक्री गर्ने भएको छ । बैंकले पाँच वर्षे अवधिको ११ प्रतिशत ब्याजदर रहेको उक्त बचतपत्र जेठ २४ गतेसम्म विक्री गर्ने भएको हो ।

शुक्रवार सुचना जारी गर्दै राष्ट्र बैंकले रू. ९७ करोड ७५ लाख ७० हजार बराबरको वैदेशिक रोजगार बचतपत्र विक्री गरिने जानकारी दिएको हो । यो बचतपत्र खरीदकर्तालाई ६/६ महिनामा ब्याज भुक्तानी गर्ने जानकारी राष्ट्र बैंकले दिएको छ । 

खरीद गर्न पाउने सीमा घटीमा रू. १० हजार र बढीमा रू. १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी सम्पूर्ण कित्तासम्म माग गर्न सकिने राष्ट्र बैंकको भनाई छ । यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केका ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासिय नेपालीले आफु वा आफ्नो परिवारको सदस्यको नाममा खरीद गर्न सक्नेछन् ।

यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबा कर्जा लिन पाउने सुविधाको व्यवस्था समेत गरेको छ । इच्छुक खरीदकर्ताले वैदेशिक रोजगार बचतपत्र खरीद गर्नका अनलाईन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

यसका अतिरित्त बैंकको वेवसाईट बाट वैदेशिक रोजगार बचतपत्रको आवेदन फारम डाउनलोड गरी आफुलाई पायक पर्ने विक्री एजेन्डको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाको सहयोगमा अनलाईन फर्म भर्न सकिने व्यवस्था गरिएको छ । यो बचतपत्रको साँवा भुक्तानी मिति भने २०८५ साल जेठ २४ गतेको मिति तय गरिसकिएको छ ।