काठमाडौं – गत वर्ष २०८१ को साउन ३१ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ हजार अंकमा थियो । तर, त्यसयता निरन्तर घट्दै आइरहेको नेप्से परिसूचक एक वर्षपछि पुनः ३ हजार अंक छुने प्रयत्न गर्दैछ । गत वर्षको साउन ३१ यता निरन्तर ओरालो लागेर २३ सय अंकसम्म आइपुगेको थियो । तर, यही वर्षको असार २७ गते चालू वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले शेयर बजारमैत्री नीति लिए।
गभर्नर पौडेलले यसअघिको १५ करोड रुपैयाँसम्मको शेयर धितो कर्जाको सीमा बढाएर २५ करोड पुर्याए । यसपछि, शेयर बजार निरन्तर उकालो लाग्दै आइरहेको छ र दुई साताको अवधिमा नै २७ सय ३० अंकबाट बढेर २९ सय ८२ अंक पुगिसकेको छ । असार २७ गते शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतियता बजार तीव्ररुपमा उकालो लागिरहेको छ । सो मिति यता मात्रै नेप्से परिसूचक साढे २०० अंकभन्दा बढीले उकालो लागेको छ । यो गभर्नर पौडेलले शेयर बजार मैत्री देखिनका लागि विगतको कडा नीतिगत व्यवस्थालाई लगानीकर्ताको माग बमोजिम खुकुलो बनाएपछिको परिणाम हो ।
परिसूचक ३ हजार अंकमाथि पुगेसँगै बजारमा दैनिक २० अर्ब रुपैयाँसम्मको कारोबार हुन थालेको छ । खासगरी, मौद्रिक नीतिमार्फत हटेको १५ करोडको सीमा बढाएर २५ करोड पुर्याउने नीति शेयर बजारलाई ‘बुस्टर’को काम गरिरहेको छ । यतिबेला मौद्रिक नीतिको व्यवस्था आफूहरूले मागेबमोजिम नै आएपछि लगानीकर्तामा उत्साह छाएको देखिन्छ । अझ बैंकहरुमा ६ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको समयमा आएको नीतिगत लचिलोपनाले बजारलाई बुस्टरको काम गरिरहेको हो । यस्तो अवस्थामा मौद्रिक नीतिअघि दैनिक मुस्किलले ७/८ अर्ब रुपैयाँ हाराहारीको कारोबार हुँदै आइरहेको बजारमा यतिबेला २० अर्ब रुपैयाँसम्मको कारोबार हुन थालेको हो । यसलाई शेयर बजारमा गिरावट आउन थालेको १ वर्षयताको अवधिलाई तुलना गर्दा प्रत्येक दिन नयाँ कीर्तिमान जस्तै बनिरहेको छ ।
मौद्रिक नीति अघि कस्तो थियो बजार ?
गत असार १५ गते नेप्सेमा ७ अर्ब रुपैयाँ कारोबार भएको थियो । सो दिन नेप्से परिसूचक बढे पनि कारोबार रकम १० अर्ब मुनि नै थियो । यस्तै, असार १६ गते ६ अर्बको कारोबार भएको बजारमा असार १७ गते पनि ६ अर्ब रुपैयाँको नै कारोबार भयो ।यसबाहेक, असार १८ गते ९ अर्ब रुपैयाँको र १९ गते समेत ९ अर्ब रुपैयाँको नै कारोबार भएको थियो । फेरी असारको २२ र २३ गते समान ८–८ अर्ब रुपैयाँको कारोबार भएको थियो भने २४ गते ६ अर्ब र २५ गते ७ अर्बको कारोबार भएको थियो । यस्तै, मौद्रिक नीतिअघिको अन्तिम कारोबार दिन अर्थात् असार २६ गते ९ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको थियो । यो मौद्रिक नीति अघिको दुई साताको कारोबार रकम हो । जसमा अत्यधिक कारोबार रकम नै ९ अर्ब ५० करोड रुपैयाँ भएको देखिन्छ ।
मौद्रिक नीतिपछि बढ्न थाल्यो कारोबार
मौद्रिक नीति आएसँगै शेयर बजार लगातार उकालो लागेको छ । लगानीकर्ताले अपेक्षा गरेअनुसारको मौद्रिक नीति सार्वजनिक भएसँगै कारोबार रकम पनि बढेको छ । मौद्रिक नीति आएको पहिलो कारोबारको दिनमै शेयर बजार बढेको थियो । मौद्रिक नीति सार्वजनिक भएपछि जम्मा २ दिन मात्रै १० अर्बभन्दा मुनिको कारोबार भएको छ ।
मौद्रिक नीतिपछि १४ कारोबार दिनमा सो दुई दिन बाहेक अन्य दिन १० अर्बभन्दा बढी र २० अर्ब रुपैयाँसम्म कारोबार भएको छ । यसले मौद्रिक नीतिको २५ करोड नीतिले शेयर बजारलाई ‘बुस्टर’कारुपमा अघि बढाएको देखिन्छ । गत असार २९ गतेको शेयर बजारमा कारोबार रकम ११ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । यस्तै, असार ३० गते ७ अर्ब र ३१ गते ८ अर्ब रुपैयाँको कारोबार भएको थियो । मौद्रिक नीतियता यी दुई दिन मात्रै नेप्सेमा १० अर्बभन्दा तलको कारोबार भएको हो । नेप्सेका अनुसार असार ३२ गते १३ अर्ब ५७ करोड रुपैयाँको र साउन साउन १ गते १६ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको थियो ।
यसैगरी यो साता समेत नेप्सेमा उच्च अंकको कारोबार भएको छ । साउन ४ गते २० अर्ब ९६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो भने साउन ५ गते १६ अर्ब १० करोड तथा साउन ६ गते १९ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको थियो । यसैगरी, साउन ७ गते १९ अर्ब १० करोड र साताको अन्तिम कारोबारको दिन अर्थात् साउन ८ गते १८ अर्ब १३ करोड रुपैयाँ भन्दा माथिको शेयर कारोबार भएको छ । यसले मौद्रिक नीतिपछि लगानीकर्तामा बजारप्रति उत्साह थपिएको र लगानी थपिरहेको देखाउँछ । तथ्यांकले यस साताभरिको शेयर कारोबारमा मात्रै ९३ अर्ब माथिको शेयर कारोबार तथ्याङकले देखाएको छ ।
किन बढ्यो कारोबार ?
बैंक तथा वित्तीय संस्थामा यतिबेला ६ खर्बभन्दा बढी लगानीयोग्य रकम छ । न्यून ब्याजदर र पर्याप्त लगानीयोग्य रकम हुँदा पनि ऋणीले ऋण लिन मानिरहेका छैनन् । खासगरी, बजारमा माग नभएको र यस्तो अवस्थामा लगानी नउठ्ने भन्दै दशक यताकै न्यून बिन्दुमा ब्याजदर आउँदा पनि कर्जा प्रवाह बढ्न सकेको छैन । यस्तो अवस्थामा गभर्नर पौडेलले लगानीकर्ताको माग बमोजिम शेयर धितो कर्जाको सीमा बढाइदिए । सीमा २५ करोड पुगेपछि ठुला लगानीकर्ताले खुलेरै गभर्नर पौडेलको नीतिको स्वागत गरेका छन् । जसले बजारमा लगानी थप्न र बैंकमा थुप्रिएको पर्याप्त लगानीलाई शेयर बजारमा ल्याउन सहयोगी भूमिका खेल्ने लगानीकर्ताहरूको बुझाइ छ ।यो नीतिले बैंकमा झन्डै २ वर्षदेखि थुप्रिएको खबौं लगानीयोग्य रकमको व्यवस्थापनमा समेत सहयोगी भूमिका खेल्नेछ । किनकि, थुप्रिएको तरलता शेयर बजारमा जाँदा बैंकको समेत ‘विजनेश’ बढ्ने अपेक्षा गभर्नरको छ ।
नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे शेयरबजारमैत्री मौद्रिक नीतिका कारण बजार उकालो लाग्न थालेको बताउँछन्। मौद्रिक नीतिको लचिलोपनले नै नेप्से परिसूचकसँगै कारोबार रकम समेत बढ्न थालेको उनकाे भनाइ छ । ‘शेयर बजार सकारात्मक देखिएसँगै लगानीकर्तामा समेत उत्साहको माहौल सिर्जना भएको छ,’ उनले बैंकिङ्ग समाचारसँगको कुराकानीमा भने, ‘बजार अझ माथि जाने प्रबल सम्भावना छ ।’ पाण्डे शेयर बजारमा ‘फूल बूल’ आएमा दैनिक २० अर्ब रुपैयाँसम्मको कारोबार हुन थालेको अवस्थामा निकट भविष्यमा नै ४० अर्ब रुपैयाँसम्मको कारोबार हुने सम्भावना औँल्याउँछन्।
यस्तै, शेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेल लामो समयदेखि बजार नबढेको समयमा मौद्रिक नीति आएसँगै बजार खुकुलो हुन पुग्यो जसले गर्दा लगानीकर्ताले खुलेर कारोबार गर्न पाएको बताउँछन् । नेपाल सरकारले पनि पुँजी बजारलाई प्राथमिकतामा राखिरहेको समयमा मौद्रिक नीतिले समेत प्राथमिकतामा राखेपछि परिसूचक बढ्न थालेको उनको भनाइ छ।‘समग्रमा पछिल्लो समय पुँजी बजार मैत्री छ,’ फुल्लेलले भने, ‘कारोबार रकम २० अर्ब मात्रै होइन यो भन्दा माथिसम्म पुग्नुपर्छ।’ यही कारण, मौद्रिक नीतियता लगानीकर्ताले खुलेर कारोबार गरिरहेको उनको भनाइ छ ।






About Us
प्रतिक्रिया