काेशी प्रदेश

धराने कालो बंगुरमा अफ्रिकन स्वाइन फिवरको प्रकोप, पशुपालक किसानलाई बर्षेनी करोडौंको क्षति


विराटनगर – अफ्रिकन स्वाइन फिवरका कारण सुनसरीको धरानमा हरेक बर्षजसो करोडौंको क्षति हुने गरेको छ । एक बर्षअघि भदौमा फैलिएको अफ्रिकन स्वाइन फिवरले धरानमा मात्रै तीन सय बढी कालो बंगुर मरे । जसबाट धराने बंगुर पालक किसानले एकै महिनामा ६८ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति व्यहोरेका छन् । धरानसहित सुनसरीका विभिन्न स्थानका बंगुर पालक किसानलाई एकै महिनामा झण्डै दुई करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

कम बोसोयुक्त चखिलो मासुका कारण धराने कालो बंगुरको मासुको लोकप्रियता र खपत राम्रो छ । तर स्वाइन फिवरका कारण बर्षेनी बंगुर मर्दा किसानको मेहनत र लगानी भने खेर गएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुनसरीका अनुसार गत भदौमा धरानमा मात्रै १२४ वटा वयस्क, ११२ वटा बच्चा र ७३ वटा माउ गरी ३०९ वटा कालो बंगुर मर्दा ६८ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

दुई वर्षअघि पनि धरानमा अफ्रिकन स्वाइन भिवरबाट बंगुर मर्दा किसानले ३० करोड रुपैयाँ बराबरको क्षति ब्यहोर्नुपरेको जनाइएको छ। धरानसहित सुनसरीका विभिन्न स्थानमा अफ्रिकन स्वाइन फिवर फैलिंदै आएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा. मनोज कुमार महतोले अघिल्लो बर्षहरू जस्तो गत भदौमा पनि स्वाइन फिवर देखिएपछि नियन्त्रणको पहल गरेका कारण अझ ठुलो क्षति हुन नपाएको बताए ।

‘बंगुर धमाधम मरेपछि अफ्रिकन स्वाइन फिबरको प्रकोपको आशंका गरेर नियन्त्रणको पहल गरिहाल्यौं, त्यहि भएर विगत वर्ष जस्तो धेरै क्षति हुन पाएन’ उनले भने, ‘हरेक बर्ष धरानमा बंगुरपालक किसानको ठुलो हुने गरेको छ, कतिपय अवस्थामा नियन्त्रण बाहिरै जाने अवस्था हुन्छ, एउटा वयस्क बंगुर मर्यो भनेपनि किसानको ७०–८० हजार रुपैयाँको क्षति हुन्छ ।’

ठुलो संख्यामा बंगुर मर्दा पशुपालनमा केन्द्रीत किसानहरू विस्थापित समेत हुने गरेको जनाइएको छ । बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिवर अत्याधिक संक्रामक हुने पशु चिकित्सकको भनाई छ । अफ्रिकन स्वाइन फिवर लागेका बंगुर मध्ये ९० प्रतिशत मृत्युदर हुने गरेको जनाइएको छ । भदौमै रामधुनी नगरपालिकाका बंगुरपालक किसानले पालेको बंगुरमा देखिएको अफ्रिकन स्वाइन फिभरको प्रकोप क्रमशः अन्य स्थानीय तहमा पनि फैलिएको थियो ।

रामधुनी र धरानसहित दुहबी र बराहक्षेत्रमा समेत प्रकोप फैलिएको जनाइएको छ । यो वर्ष मात्रै एक करोड ९७ लाख ८ हजार रुपैयाँ बराबरको क्षति किसानले व्यहोर्नु परेको जनाइएको छ । बराहक्षेत्र नगरपालिकामा ५९ वटा वयस्क र १५० वटा माउ गरी २०९ वटा बंगुर मर्दा ३७ लाख १० हजार, दुहबी नगरपालिकामा १३ वयस्क, १२ बच्चा र १२ वटा माउ गरी ३७ वटा बंगुर मर्दा २ लाख ४३ हजार र रामधुनी नगरपालिकामा ३ वटा वयस्क र १५ वटा माउ गरी १८ वटा बंगुर मर्दा एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुनसरीले जनाएको छ ।

भदौदेखि फैलिएको स्वाइन फिवरको संक्रमण अहिलेसम्म अन्त्य भएको सुनिश्चित भएको छैन । केन्द्रका प्रमुख महतोका अनुसार पछिल्लो पटक सुनसरीको बराहक्षेत्रबाट रिपोर्ट आएको थियो । अहिले कम्तिमा पनि २० दिनयता अफ्रिकन स्वाइन फिभरको रिपोर्ट प्राप्त नभएको उनले बताए । केन्द्रले बंगुर लगायतका पशु चौपायामा लाग्ने रोग तथा प्रकोप नियन्त्रणका लागि आकस्मिक पशु रोग नियन्त्रण कार्यक्रम, पशुपंक्षी रोग निदान तथा उपचार सेवा लगायतका कार्यक्रम संचालन गर्दै आएपनि अफ्रिकन स्वाइन फिवर नियन्त्रण र उपचारमा भने यो प्रयास पर्याप्त नदेखिएको हो ।

नेपालमा २०७९ चैतको अन्तिमतिर काठमाडौंको मनहरा क्षेत्रमा पालिएका बंगुरमा पहिलो पटक अफ्रिकन स्वाइन फिवर पुष्टि भएको थियो । केन्याबाट फैलिएको यो रोग सुँगुर बंगुर र जंगली बँदेलमा समेत देखिने गरेको जनाइएको छ । छिमेकी मुलुक चीनमा २०१८ र भारतमा २०२० मा अफ्रिकन स्वाइन देखा परेको थियो । अफ्रिकन स्वाइन फिवरविरुद्ध भियतनामले भ्याक्सिन उत्पादन गरेपनि त्यसको प्रभावकारिताको सुनिश्चितता हुन नसकेको पशु चिकित्सकहरूको भनाइ छ ।