काठमाडौं – अमेरिका जानका लागि बैंक ब्यालेन्स देखाउने भन्दै रकम हाल्न लगाएर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलान्चोकको बनेपा– २ घर भई भक्तपुर मध्यपुर थिमि– १, लोकन्थली बस्ने २३ वर्षीय विशाल घिमिरे , सर्लाहीको लालबन्दी –१ नवलपुर घर भई काठमाडौंको गौशाला बस्ने २५ वर्षीय समिर सिहं र सर्लाहीको कबिलासी– ९ सल्यानपुर घर भई ललितपुरको महालक्ष्मी– ५ ईमाडोल बस्ने २६ वर्षीय अशोक कुमार यादव रहेका छन् ।
उनीहरूले अमेरिका जाने प्रयोजनका लागि आफूले तयार गरेका विद्यार्थीहरुलाई बैंक ब्यालेन्स देखाउन १ करोड २० लाख मात्र आवश्यक भएको बहाना बनाई पीडितहरूलाई झुक्काई, प्रलोभनमा पारी उक्त रकम खातामा जम्मा गरिदिन अनुरोध गरे अनुसार सो रकम खातामा जम्मा भए पश्चात् सम्बन्धित व्यक्तिलाई फिर्ता नगरी अन्य व्यक्तिहरूको बैंक खाताहरूमा स्थानान्तरण गरी फरार भएका थिए । उनीहरुविरुद्ध १ करोड २० लाख बिगो रकम तोकिएको प्रहरीले बताएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ठगी कार्यमा संलग्न भएको कसुरमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर पठाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये घिमिरे विद्यार्थी भिसामा अमेरिका पठाईदिने भन्दै ६१ लाख ठगी गरेको अभियोगमा यही वर्षको वैशाखमा मात्र पक्राउ परेका थिए ।






About Us
प्रतिक्रिया