गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ 


काठमाडौं – गृह मन्त्रालयको कर्मचारी हुँ भनी झुटा परिचय दिई विभिन्न मानिसहरूलाई गृह मन्त्रालयमा करारमा जागिर लगाई दिने विश्वास दिलाई नागरिकताको फोटोकपी, लगायतका कागजातहरू माग गरी  फर्जी कर्मचारी फाराम भराई ठगी  गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  सिन्धुलीको कमलामाई– १३ घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्ने  ४६ वर्षीय गङ्गा हरि न्यौपाने रहेका छन् । 

प्रहरीले उनलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्नेक्रममा ६ वटा उजुरी परिसकेको खुल्न आएको छ । न्यौपानेले  २०६९ सालमा सैनिक अनुसन्धान तथा आचरण सम्बन्धी मुद्रामा विशेष अदालतको नक्कली पत्र किर्ते तयार गरी कारागार कार्यालयमा पेस गरी छुटेको थिए । उनले २०७४ मा पनि  भि.आई.पी.कोटामा शान्ति सेनामा पठाइदिन्छु भन्दै चार लाख ठगी गरेको भन्ने जाहेरी दरखास्त भएको थियो । 

त्यस्तै, २०७४ सालमा उनले नख्खु कारागारबाट कैदी छुटाइदिन्छु भनी  कैदीका आफन्तहरूबाट १२ लाख लिई ठगी गरेको  थिए । भने २०७५ सालमा पीडितलाई जग्गा बिक्री गरिदिन्छु भनी जग्गाको लालपुर्जा लिई जग्गा बिक्री गरी रकम ठगी गरेको थिए। साथै, उनले  विभिन्न व्यक्तिलाई नेपाली सेनाको सहायक–सेनानी बनाइदिन्छु भनी प्रलोभनमा पारी आपराधिक लाभ लिएका थिए। भने, २०७९ सालमा उनले काठमाडौं जिल्ला अदालतको किर्ते फैसला बनाई लिखत सम्बन्धी कसुर गरेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा  उनीविरुद्ध  परेको उजुरीको आधारमा यस कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा जिल्ला सिन्धुली कमलामाई– १३ भिमान चोकमा फेला पारी पक्राउ गरी ल्याई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।