नेपालको निर्यात इतिहासकै बढी, घट्न सकेन व्यापार घाटा


काठमाडौं – नेपालले गत आर्थिक वर्ष २०८१/८२ मा २ खर्ब बढी निर्यात गरेको छ । नेपालले विभिन्न मुलुकमा गत आर्थिक वर्षमा २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँ बराबरको निर्यात गरेर रेकर्ड नै कायम गरेको हो । यो निर्यात ११ वर्ष यताकै बढी हो ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालले अघिल्लो आर्थिक वर्षमा १ खर्ब ५२ अर्ब ३८ अर्ब १२ करोड रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात गरेको थियो ।

गत आवमा नेपालले गरेको कुल निर्यातको आधा हिस्सा भने आयातित कच्चा भटमास तेल (क्रुड सोयाबिन आयल) र कच्चा सूर्यमुखी तेल (क्रुड सनफ्लावर आयल) रहेको देखिएको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले कुल २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । गत आवमा १८ खर्ब चार अर्ब १२ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा दुई खर्ब ७७ अर्ब तीन करोड रुपैयाँ बराबरको निर्यात भएको छ । त्यसबाट नेपालले १५ खर्ब २७ अर्ब नौ करोड २५ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । विभागका निर्देशक किशोर बर्तौलाका अनुसार गत आवको आयात र निर्यात दुवै हालसम्मकै उच्च हो ।

नेपालले सबैभन्दा धेरै वैदेशिक व्यापार गर्ने मुलुक भारतसँग गत आवमा १० खर्ब ७१ अर्ब २० करोड रुपैयाँ बराबरको आयात र दुई खर्ब २४ अर्ब ६८ करोड ४३ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । त्यसबाट भारतसँग मात्र आठ खर्ब ४६ अर्ब ५१ करोड ४५ लाख रुपैयाँ बराबर नेपालले व्यापार घाटा व्यहोरेको छ ।

त्यस्तै, चीनबाट तीन खर्ब ४१ अर्ब १० करोड ४५ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा २६ अर्ब ३० करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । अर्जेन्टिना, युक्रेन, युनाइटेड अरब इमिरेट्सलगायत मुलुकहरुसँग नेपालले बढी व्यापार घाटा व्यहारेको छ ।

नेपालले सबैभन्दा धेरै व्यापार नाफा गरेका मुलुकमा अफगानिस्तान, डेनमार्क, रसियन फेडेरेसन, रोमानिया, अस्ट्रिया, लाओसलगायत मुलुक छन् । सबैभन्दा धेरै अफगानिस्तानसँग ६८ करोड ६१ लाख १७ हजार रुपैयाँ र डेनमार्कसँग ३३ करोड ८९ लाख १३ हजार रुपैयाँ व्यापार नाफा गरेको विभागको तथ्याङ्कबाट देखिन्छ ।

बढी आयात भएको वस्तुको पहिलो स्थानमा पेट्रोलियम पदार्थ देखिएको छ । गत आवमा एक खर्ब २८ अर्ब ७६ करोड १६ लाख रुपैयाँ बराबरको डिजेल, ६४ अर्ब १२ करोड ७४ लाख रुपैयाँ बराबरको पेट्रोल र ६२ अर्ब ५८ लाख ७२ हजार रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ । यस्तै ३५ अर्ब ५४ करोड ७३ लाख रुपैयाँ बराबरको स्मार्टफोन, १८ अर्ब ६२ करोड रुपैयाँ बराबरको विद्युतीय कार आयात भएको छ ।

विभागको तथ्याङ्कअनुसार गत आवमा एक खर्ब आठ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ बराबरको कच्चा भटमास तेल र २९ अर्ब दुई करोड १९ लाख रुपैयाँ बराबरको कच्चा सूर्यमुखी तेल आयात भएको छ । नेपालले बढी निर्यात गर्ने वस्तुमा पनि भटमास तेल र सूर्यमुखी तेल शीर्ष स्थानमा छन् ।

सबैभन्दा बढी निर्यात भएका वस्तुमा सोयाबिन तेल एक खर्ब छ अर्ब ७९ करोड १२ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । त्यस्तै, सूर्यमुखी तेल १२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । कार्पेट १० अर्ब ७७ करोड ६८ लाख रुपैयाँ , अलैँची सात अर्ब ६८ करोड ३७ लाख रुपैयाँ , छुर्पी चार अर्ब ५१ करोड रुपैयाँ र चिया चार अर्ब २१ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।

विभागका निर्देशक बर्तौलाका अनुसार गत आवमा यी वस्तुको नेपालले निर्यात गरेको भन्दा बढी आयात छ । त्यस्तै मूल्य अभिवृद्धि पनि न्यून रहेको उनको भनाइ छ । ‘आयातित भटमास र सूर्यमुखी तेल नै बढी निर्यात भएको देखिन्छ, यस क्षेत्रले रोजगार सिर्जना र मूल्य अभिवृद्धिमा खासै ठूलो योगदान गरेको देखिँदैन’, उनले भने ।

दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) को सुविधाका रुपमा नेपालका व्यवसायीले खानेतेलमा एक तहको प्रशोधन र मूल्य अभिवृद्धि गरी लाभ पाएका छन् । साफ्टा सुविधाअन्तर्गत भारतले नेपाललाई भन्सार छुट सुविधा उपलब्ध गराइरहेका कारण त्यसलाई नेपाली व्यवसायीले अवसरका रुपमा लिएको देखिएको छ । विगतमा नेपालबाट पाम तेलको निर्यात सबैभन्दा बढी हुने गरेको भए पनि विसं २०७७ पुसमा नेपालबाट हुने पाम तेल निर्यातमा भारतले कडाइ गरेको थियो । त्यसयता भटमासको तेलको निर्यात बढ्दै गएको देखिएको छ ।