बुटवल – उपचार पद्धतिमा संवेदनशील मानिएको र प्राकृतिक तरिकाबाट सन्तान नभएका दम्पत्तिहरूको भरोसा बनिरहेका आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) सेन्टरहरू नै दर्ता नगरी अवैध रूपमा सञ्चालन भइरहेको पाइएको छ । बुटवलमा लामो समयदेखि अवैध रूपमा सञ्चालनमा रहेका आईभीएफ सेन्टरहरूलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बन्द गर्दै जरिवाना तिराएको छ ।
प्रजनन समस्या भएका महिलाको डिम्ब र पुरुषको शुक्रकीट ‘फर्टिलाइजेसन’ गरी भ्रूण उत्पादन गराएर बच्चा जन्माउने आईभीएफ विधिका लागि अनुमति नै नलिई लामो समयदेखि सञ्चालन गरेको पाइएपछि जिल्ला प्रशासनको नेतृत्वमा अनुगमनमा पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीको टोलीले एक/एक लाख रुपैयाँ जरिवानासहित अनुमति नलिदासम्मको लागि आईभीएफ सेन्टरमा ताल्चा लगाएको हो ।
संघीय स्वास्थ्य मन्त्रालयबाट अनुमति लिएर मात्रै सञ्चालन गर्नुपर्ने प्रावधान रहे पनि बुटवलमा लामो समयदेखि दर्ता नगरी सञ्चालनमा आएको सूचनापछि जिल्ला अनुगमन समितिले आइतबार अनुगमन गरेको थियो । अनुगमन समितिले बुटवल उपमहानगरपालिका–६ सुख्खानगर श्रवण पथमा रहेको वात्सल्य बुटवल क्लिनिक प्रालि, बुटवल–९ मिलन चोकमा रहेको वरदान आइभिएफ सेन्टर प्रालि र बुटवल १० राजमार्ग चौराहास्थित रहेको प्रनाभी आइभिएफ सेन्टर अनुमति नलिई सञ्चालन हुँदै आएको पाइएपछि एक/एक लाख रुपैयाँ जरिवाना गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए । रानाका अनुसार प्रनाभी आईभीएफ सेन्टरमा अनुमति नलिँदा सम्म ताला लगाइएको छ ।
वरदान आईभीएफले दर्ताको लागि २ वर्ष पहिले निवेदन दिए पनि मन्त्रालयको ढिलाइका कारण दर्ता हुन नसकेको २१ जोडी दम्पती लामो समयदेखि उपचार प्रक्रियामा रहेको र आइभिएफ सेन्टरमा तत्काल ताला लगाउँदा सेवाग्राहीको स्वास्थ्यमा समेत क्षति हुने भएकोले ४५ दिनभित्र सञ्चालन अनुमति लिने गरी अहिलेलाई बन्द गरिएको छैन ।
वरदानलाई ४५ दिनभित्र सञ्चालन अनुमति नलिए बन्द गर्ने चेतावनी दिइएको स्वास्थ्य कार्यालय रुपन्देहीका वरिष्ठ ल्याब टेक्निसियन खिमलाल पाण्डेले बताए । त्यस्तै, वात्सल्य आईभीएफले स्थानीय पालिकाबाट सामान्य परामर्शको मात्र दर्ता र अनुमति लिएकोले एक लाख रुपैयाँ जरिवाना गरिएको छ । वात्सल्यलाई पनि संघीय स्वास्थ्य मन्त्रालयबाट अनुमति नलिँदासम्म आइभिएफ सम्बन्धी काम नगर्न चेतावनी दिइएको र आईभीएफ सम्बन्धी काम गरेको पाइएमा तालाबन्दी गरी थप कानुनी कारबाही गरिने चेतावनी दिइएको पाण्डेले बताए ।
तीव्र गुनासोपछि अनुगमनका क्रममा अवैधानिक भेटिएपछि आईभीएफ सेन्टरलाई जरिवाना गरी बन्द गराइएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीले बताए । अब क्रमिक रूपमा डेन्टल, ल्याब, मेडिकल पोलिक्लिनिकहरुमा समेत अनुगमन गरिने र अवैध भएकालाई कानुनको दायरामा ल्याइने उनले बताए । बुटवलमा वरदान, पिपुल्स, वात्सल्य र प्रनाभी नामका आईभीएफहरू सञ्चालनमा रहेका छन् ।
जनस्वास्थ्य सेवा नियमावली २०७७ को परिच्छेद ४ नियम १२ उपनियम १ मा स्वास्थ्य संस्थाको इजाजत पत्र तथा नवीकरण सम्बन्धमा कसैले पनि इजाजत पत्र नलिई निजी, गैरसरकारी, सहकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउन नपाइने उल्लेख छ ।
नियम १२ को उपनियम ३ मा यो नियमावली प्रारम्भ हुँदाका बखत इजाजत पत्र नलिई सञ्चालनमा रहेका निजी, गैरसरकारी, सहकारी, गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्थाले यो नियमावली प्रारम्भ भएको मितिले तीन महिनाभित्र इजाजत पत्रको लागि निवेदन दिनु पर्ने स्पष्ट उल्लेख गरेको छ ।
अनुसूची ११ नियम १२ को उपनियम (५) बमोजिम इजाजत पत्र लिँदा जनस्वास्थ्य सेवा ऐन, २०७५ जनस्वास्थ्य सेवा नियमावली, २०७७ तथा देहायका सर्तहरूको अधीनमा रहेर विभिन्न बुँदाहरूसहित स्थापना गर्न लागिएको ठाउँमा अस्पताल आवश्यक छ भन्ने स्थानीय तह र प्रदेशको सम्बन्धित निकायको सिफारिस पत्र नभई नहुने जनाइएको छ ।
यस्तै, अनुगमनका क्रममा तिलोत्तमा नगरपासिलका ड्राइभर टोलमा रहेको श्रीकृष्ण आई केयर सेन्टर एन्ड अप्टीकल्समा पनि ताला लगाइएको छ । उक्त अप्टिकल्समा तिलोत्तमा नगरपालिकामा दर्ता गरेको कागजबाहेक अन्य दर्ता कागजात फेला नपरेपछि बन्द गरिएको हो । यसअघि माछा मासु, खाद्य, पेय लगायत दैनिक उपभोग्य वस्तुका उद्योग तथा पसलहरूमा अनुगमन गर्दै आएको जिल्ला अनुगमन समितिले पछिल्लो समय अस्पताल, क्लिनिक, फार्मेसी, ल्याब, आइभिएफ सेन्टर लगायतमा अनुगमन गर्दै आएको छ ।



About Us
प्रतिक्रिया