काठमाडौं – बैंकिङ्ग क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै जाँदा बैंकहरु पनि डिजिटल ऋण लगानीमा अगाडी बढ्न थालेका छन् । बैंकहरुले भौतिक उपस्थिति विनै ऋण दिने गरी विभिन्न अफरहरू सार्वजनिक गरिरहेका छन् । बैंक तथा वित्तीय संस्थामा बढ्दो प्रविधिको प्रयोगसँगै बैंकहरु डिजिटल कर्जा लगानीमा लागेका हुन् ।
यसक्रमलाई नै बैंकहरुले निरन्तरता दिँदै आउँदा भौतिक उपस्थिति विनै ऋण दिन धमाधम भर्चुअल क्रेडिट कार्ड जारी गर्दै आइरहेका छन् । बैंकहरुले भर्चुअल क्रेडिट कार्ड जारी गर्दा बैंकिङ्ग क्षेत्रले डिजिटलमा फड्को मारेको छ । पछिल्लो केही वर्षयता नेपालमा सञ्चालनमा रहेका अधिकांश बैंकहरुले आफ्नो संस्थाका नामअनुकुलका नाम राख्दै डिजिटल माध्यबाट कर्जा लगानी गर्दै आइरहेका छन् ।
तर, हिजोआज भने बैंकहरुले क्रेडिट कार्ड नै भर्चुअल जारी गर्न थालेका छन् । बैंकहरुले डिजिटाइजेसनलाई अँगाल्न पहिले जारी गर्दै आइरहेको क्रेडिट कार्डलाई भर्चुअल माध्यमबाट पनि जारी गर्न थालेका हुन् । हाल कुमारी बैंक, एभरेष्ट बैंक र सिटिजन्स बैंकले भर्चुअल क्रेडिट कार्ड जारी गरिसकेका छन् भने महालक्ष्मी विकास बैंकले समेत भर्चुअल क्रेडिट कार्ड जारी गरिसकेको छ । वाणिज्य बैंकले मात्रै नभई विकास बैंकले समेत यसरी भर्चुअल क्रेडिट कार्ड जारी गर्दा बैंकिङ्ग क्षेत्रले छिटोभन्दा छिटो प्रविधि अँगाल्नतर्फ लागि परेको विज्ञहरू बताउँछन् ।
बैंकहरुले भर्चुअल क्रेडिट कार्ड जारी गरेसँगै ग्राहकहरूलाई भौतिक कार्डबिना नै मोबाइल एपबाटै कारोबारको गर्न सक्नेछन् । भर्चुअल क्रेडिट कार्ड डिजिटल भुक्तानीको माध्यम हो । यसको सेवाका लागी बैंकसम्म अथवा एटीएमसम्म पुग्नुपर्दैन । मोबाइल एप वा इन्टरनेट बैंकिङ्गमार्फत कारोबार हुन्छ । यस कार्डको माध्यमले सेवाग्राहीले गर्ने अनलाइन किनमेल, बिल भुक्तानी र अन्य डिजिटल कारोबारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।
एभरेष्ट बैंकले आजभन्दा दुई महिना अघिदेखि भर्चुअल क्रेडिट कार्ड जारी गरेर कारोबार गर्दै आएको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ्ग भर्चुअल क्रेडिट कार्ड प्रयोग गरेर सेवाग्राहीले सहजै क्युआर भुक्तानी गर्न सक्ने बताउँछन् । ‘पहिले क्रेडिट कार्डमार्फत कर्जा लिएपछि त्यसलाई खातामा लगेर खाताबाट मात्रै क्युआर भुक्तानी गर्नुपर्ने अथवा कार्ड बोकेरै हिँड्नुपर्ने थियो’, उनले बैंकिङ्ग समाचारसँग भने, ‘यो कार्ड आएपछि कार्ड हराउने डर पनि भएन र सुरक्षित कारोबार गर्न पनि सहज हुन्छ ।’
यस्तै, केही समय अघि मात्रै कुमारी बैंकले आफ्नो सेवा सूचीमा नयाँ नव प्रवर्द्धनलाई थपेर कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुचारु गरिसकेको छ । बैंकले फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा सुरु गरेको भर्चुअल क्रेडिट कार्ड सेवा कुमारी बैंकको मोबाइल बैंकिङ्ग एप कुमारी स्मार्टमार्फत सहज रूपमा प्रयोग गर्न सकिने व्यवस्था छ । जसमा क्रेडिट कार्डका मुख्य सुविधाहरू जस्तै ४५ दिनसम्मको ब्याजमुक्त अवधि र लचिलो किस्ताबन्दी विकल्पलाई क्युआर भुक्तानीको सहजता र सुरक्षासँग संयोजन गरी, परम्परागत कार्डको आवश्यकतालाई पूर्ण रूपमा हटाएको छ ।
जसले पनि बैंकहरु पूर्ण रूपमा डिजिटल सेवा दिन अग्रसर बनेको देखाउँछ । यता, नेपालमा पहिलो पटक भर्चुअल क्रेडिट कार्ड जारी गर्ने बैंक भने सिटिजन्स बैंक इन्टरनेसनल हो । फोन पेले नेपालमा पहिलो पटक पूर्णरूपमा डिजिटल क्रेडिट कार्डको सुरुवात सिटिजन्स बैंकसँगको सहकार्यमा सुरुवात गरेको हो । नेपाल राष्ट्र बैंकले परिकल्पना गरेको नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किमअन्तर्गत फोन पेले बैंकहरुको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड जारी गर्दै आइरहेको छ ।
फोन पेले भर्चुअल क्रेडिट कार्डको सजिलो पहुँच र बलियो सुरक्षा सुविधाहरूको साथ यो सेवाद्वारा ग्राहकहरूले आफ्नो वित्तीय व्यवस्थापन र कारोबार सञ्चालन गर्ने तरिकालाई पुनः परिभाषित गर्ने बताउँदै आएको छ । फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमार सापकोटाले बैंकहरुसँगको सहकार्यमा फोन पे क्रेडिट कार्ड नेटवर्कमा आबद्ध भएपछि आफ्नो पहुँचलाई उल्लेखनीयरूपमा विस्तार गर्ने बताउँदै आएका छन् । भर्चुअल क्रेडिट कार्ड जारी गर्नुको मुख्य उद्देश्य डिजिटल युगको लागि क्रेडिटलाई पुन परिभाषित गर्नु रहेको भन्दै उनी भन्छन्, ‘पूर्ण रूपमा भर्चुअल क्रेडिट कार्डले क्रेडिटलाई सबै नेपालीका लागि पहुँचयोग्य र समावेशी बनाउने दिशामा एक महत्वपूर्ण कदम चालेको छ ।’
नेपाल राष्ट्र बैंकले पनि डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्न नीतिगत सुधार गर्दै आइरहेको छ । राष्ट्र बैंकले नै परिकल्पना गरेअनुसार फोन पेले बैंकहरुको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड जारी गर्दै आइरहेको छ । भर्चुअल क्रेडिट कार्डको बढ्दो लोकप्रियताले डिजिटल कारोबारलाई थप सरल, सुरक्षित र पहुँचयोग्य बनाएको छ ।






About Us
प्रतिक्रिया