काठमाडौं – डिजिटल वित्तीय सेवाहरूको तीव्र विस्तारसँगै फिनटेक कम्पनीहरूपनि सञ्चालनमा आउने क्रम तीव्ररुपमा अघि बढिरहेको छ । मोबाइल वालेटहरु र पूर्वाधार निर्माता केही कम्पनी नेपाल राष्ट्र बैंकको निगरानीमा रहेपनि सबै ‘फिनटेक’ कम्पनी निगरानीमा छैनन् ।
यहीकारण, डिजिटल वित्तीय सेवाहरूसँगै फिनटेक कम्पनीको नियमनका विषयमा पनि चर्चा सुरु हुन थालेको छ । विगतदेखि सञ्चालनमा रहेका फिनटेक र नयाँ फिनटेक कम्पनी सञ्चालन हुने क्रम बढ्दै जाँदा फिनटेक कम्पनी नियमनको विषय अघि आएको हो । हालसम्म कुनैपनि संस्थाले फिनटेक कम्पनीको नियमन गर्ने गरेको पाइँदैन । जसकारण विभिन्न समस्याहरू समेत देखा पर्न थालिसकेका छन् । हालसम्म राष्ट्र बैंकले अन्य भुक्तानी सेवा प्रदायक कम्पनीहरूको नियमन गर्दै आएपनि ‘फिनटेक’ कम्पनीको नियमनको जिम्मेवारी भने पाएको छैन ।
कुनैपनि संस्था वा भनौं फिनटेक कम्पनीलाई नियमन नगर्दा पनि वित्तीय बजारमा नै नकारात्मक समस्या सिर्जना गर्छ । फिनटेक कम्पनीहरूलाई नियमन गर्न बलियो नीति र संरचना आवश्यक पर्ने यस क्षेत्रका विज्ञहरुको बुझाइ छ । नियमनले उपभोक्ता संरक्षण, बजार स्थिरता र पारदर्शिता सुनिश्चित गर्ने र नियमनले फिनटेक क्षेत्रको दीर्घकालीन विकासमा पनि सहयोग पुर्याउने उनीहरुको बुझाइ छ ।
यतिबेला नेपालमा कति वटा फिनटेक कम्पनी छन् भनेर यस क्षेत्रका विज्ञले समेत जानकारी पाउन सकेका छैनन् । तथ्यांकविहीन अवस्थाको मूख्य कारण पनि नियामकीय निकायको अभाव हुनु नै हो । नेपाल राष्ट्र बैंकका निर्देशक कृष्णराम धुँजु पछिल्लो समय फिनटेक कम्पनीहरुले बजार चलायमान बनाउँदै आएपनि यस क्षेत्रको नियामक निकाय नतोक्दा भने कम्पनीहरु नै अन्योलमा रहेको बताए ।
उनी नेपाल राष्ट्र बैंक वा अन्य सरकारी निकायलाई नियमनको अनुमति प्रदान गर्नुपर्ने अवस्था सिर्जना भएको बताउँछन् । ‘अर्थतन्त्रमा नै ठुलो योगदान दिँदै आएको फिनटेक कम्पनीको नियामकीय निकाय तोकिएको छैन । सुपरिवेक्षण नगर्दा फिनटेक कम्पनीहरू पनि अन्यौलतामा छन् । उनीहरूलाई मार्गदर्शन लिन समेत असहज भइरहेको छ’ उनले भने । उनले हाल फिनटेक कम्पनीहरूले बैंकको सहयोगमा काम गर्दै आइरहेको बताउँदै पछि समस्या सिर्जना भए नियामक निकाय नहुँदा समाधानमा चुनौती सिर्जना हुनसक्ने बताए ।
खल्ती वाई आईएमईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिनय खड्का बैंक तथा वित्तीय संस्थाका सार्थ विभिन्न क्षेत्रका नियामक निकायले सहकार्य गरेर एक गाइडलाइन्स बनाउनुपर्ने आवश्यकता औँल्याउँछन् । सबै क्षेत्रका नियामकले गाइड्लाइन्स नै बनाउदा पनि विभिन्न किसिमका समस्या सिर्जना हुनसक्ने भन्दै फिनटेक कम्पनीको सेवा लिनेहरूलाई नै नियामकले नियमन गर्नुपर्ने बताउँछन् । उनले छिमेकी मुलुक भारतको जस्तै फिनटेक कम्पनी नियमन गर्नका लागी काउन्सिल सञ्चालन गर्दापनि इनोभेशन प्रभावित बन्न सक्ने बताउँछन् । यद्यपि, कुनै उपाय खोजेर नियमन भने गर्नुपर्नेमा उनको जिकिर छ।
यता कतिपयले भने फिनटेक कम्पनीहरूलाई छुट्टै संस्था खोलेर नियमन गर्न आवश्यक नरहेको बताउँदै आएका छन् । काठमाडौं फिनटेकका संस्थापक संजीव सुब्बा अन्य देशहरूमा पनि फिनटेक कम्पनीहरूलाई नियमन गर्ने व्यवस्था नरहेका कारण पनि कम्पनीहरूलाई नियमन गर्न आवश्यक नरहेको बताउँछन् । ‘कुनैपनि कम्पनीले आफूलाई फिनटेक कम्पनी भनेर पहिचान गरेको अवस्था छैन । यसमा नियमनको कुरा गर्दा फिनटेक कम्पनीको सेवा लिनेहरूलाई नै केन्द्रीय बैंकले नियमन गरेपछि फिनटेक कम्पनीलाई नै भनेर नियमन गर्नुपर्छ भन्ने लाग्दैन’ उनले भने ।
सुब्बाकाअनुसार फिनटेक कम्पनीको सेवा बैंक र पीएसओ/पीएसपीले मात्रै लिने हुँदा उनीहरूका लागी भनेर छुट्टै नियामक निकाय सञ्चालन गर्न आवश्यक छैन । उनले बैंकिङ्ग समाचारसँगको कुराकानीमा भने, ‘बैंक तथा वित्तीय संस्था र पीएसओ पीएसपी फिनटेककमा जोडिएपछि हामीले नियमन गर्ने यी संस्थालाई हो फिनटेकलाई होइन ।’






About Us
प्रतिक्रिया