काठमाडौं – सामाजिक सञ्जाल टेलिग्राममार्फत हुने मनी लाउन्डरिङ (सम्पत्ति शुद्धीकरण) का घटना बढेसँगै नेपाल सरकारले यस एपलाई प्रतिबन्ध लगाउने भएको छ । पछिल्लो समयमा टेलिग्रामबाट मनी लाउन्डरिङका घटनाहरूमा वृद्धि भएसँगै सरकारले यस एपलाई प्रतिबन्ध गर्ने तयारी अघि बढाएको हो ।
टेलिग्राम प्रयोग गरी आपराधिक समूहहरूले अवैधरुपमा रकम ओसार प्रसार र शुद्धीकरण गर्ने गतिविधि बढाएपछि सरकारले यस्ता आपराधिक घटनाहरूलाई कम गर्ने अभिप्रायले टेलिग्रामलाई बन्द गर्न लागेकाे हो । प्रधानमन्त्री कार्यालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई टेलिग्रामलाई कारबाहीको दायरामा ल्याउन पत्राचार समेत गरिसकेको छ ।
टेलिग्राममार्फत हुने मनी लाउन्डरिङका घटनाहरूमा वृद्धि भएको अनुसन्धानले देखाएपछि नेपाल प्रहरीले सरकारलाई यस एपमाथि प्रतिबन्ध लगाउन सुझाव दिएको थियो । प्रहरीको यही सुझावलाई आत्मसात् गर्दै नेपाल सरकारले रुसी लगानीकर्ताहरूको लगानी रहेको यो एप नेपालमा चल्न नमिल्ने गरी प्रतिबन्धको तयारी थालेको हो । नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार टेलिग्रामलाई नेपालमा पूर्ण रूपमा बन्द गर्ने तयारी अघि बढेको छ ।
प्रहरीले यसअघि पनि सरकारलाई टेलिग्राम बन्द गर्न पटक पटक आग्रह गर्दै आएको थियो । तर, अहिलेसम्म प्रहरीको सुझावमाथि सरकारले सुनुवाइ गरेको थिएन । आपराधिक कार्यमा संलग्न व्यक्तिहरूले बैंकिङ्ग प्रणालीभन्दा बाहिर रकम ओसार प्रसार गर्न र अवैधरुपमा आर्जित सम्पत्ति शुद्धीकरणका लागि आपराधिक समूहहरूले टेलिग्राममार्फत गोप्य च्यानल सञ्चालन गर्ने गरेका छन् ।
टेलिग्रामले क्रिप्टो करेन्सी कारोबार आवरण बनाएर टेलिग्राममार्फत व्यक्ति–व्यक्तिबीच कारोबार गर्दै आइरहेका छन् । यहीकारण, नेपालमा क्रिप्टोको कारोबार बढेको र कारोबारीहरूको यथेष्ट जानकारी पाउन नसकिएको प्रहरीको निष्कर्ष छ । अनुसन्धानका लागि सहयोग गर्न कम्पनीलाई आग्रह गरिए पनि उताबाट सुनुवाइ नहुँदा आर्थिक अपराधका घटना बढेपछि एपको प्रयोग नै रोक्ने तयारीमा सरकार पुगेको हो ।
टेलिग्रामका गोप्य च्यानलमा नक्कली खाता प्रयोग गरेर कारोबारलाई ट्र्याक गर्न कठिन हुने भएकाले अपराधीहरूलाई अपराध गर्न सजिलो भएको प्रहरीको अध्ययनले देखाउँछ । साइबर ब्युरोका प्रवक्ता दिपक राज अवस्थीका अनुसार हनी ट्र्याप, ‘फिसिङ’ ‘स्क्याम’ जस्ता विभिन्न अपराधका माध्यमबाट ठगहरू सर्वसाधारणलाई आफ्नो विश्वासमा परेर लाखौँ करोडौँ रुपैयाँ ठगको खातामा वा आफूले उक्त ठगको लागि खोली दिएको खाताहरूमा ‘ट्रान्सफर’ हुँदै आइरहेको छ ।
विशेषज्ञहरूका अनुसार टेलिग्राम कुनै पनि प्रकारको संवेदनशील डाटा संकलनका लागि सहज प्लेटफर्म होइन । २०८१ साल भदौमा टेलीग्रामका संस्थापक तथा सीईओ पावेल ड्युरोभ फ्रान्समा पक्राउ परेका थिए । त्यस बेलामा उनी माथि विभिन्न किसिमका आपराधिक आरोपहरू समेत लागेको थियो । जसमा मनी लाउन्डरिङ लगायत गम्भीर आपराधिक गतिविधिमा संलग्न भएको आरोप लगाइएको थियो । यस एपलाई चीनले पनि प्रतिबन्ध लगाइसकेको छ ।
टेलिग्राममार्फत नेपाली युवाहरूमाझ जोडिएपछि ह्याकरको समूहले विभिन्न प्रलोभन देखाएर ठगी गरेको उजुरी प्रहरीमा झनै बढेको छ । टेलिग्रामलाई ठगी र सम्पत्ति शुद्धीकरणसँग जोडिएको माध्यमका रूपमा चित्रित गर्दै त्यसलाई नियन्त्रणमा ल्याउन आवश्यक रहेको प्रहरीले बताएको छ ।
उदाहरणका लागि २०८१ पुसमा सिटिजन्स बैंकको दरबारमार्गस्थित शाखामा खोलेको खाताबाट ३ करोड ५१ लाख ५० हजार ३७० रुपैयाँ चोरी भएको थियो । त्यस घटनामा समेत टेलिग्रामको प्रयोग भएको प्रहरी अधिकृतहरू बताउँछन् । सम्बन्धित निकायहरूले यस्ता च्यानलहरूको निगरानीमा चुनौती भोगिरहेको र डिजिटल प्रमाण संकलन गर्न अन्तर्राष्ट्रिय सहयोग समेत आवश्यक पर्ने अवस्था रहेपनि पटक पटकको अनुरोधका बाबजुद कम्पनीको असहयोग रहँदै आएको सरोकारवालाहरू बताउँछन् ।





About Us
प्रतिक्रिया