काठमाडौं – आजदेखि नयाँ आर्थिक वर्ष सुरु भएको छ । यससँगै, सरकारले यही वर्षको जेठ १५ गते ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन सुरु भएको छ ।
साउन १ गतेदेखि हरेक वर्ष नयाँ आर्थिक वर्ष लागेर असार मसान्तमा समाप्त हुन्छ । यहीक्रममा आजदेखि सुनमा २ प्रतिशत विलासिता कर र होटलमा समेत २ प्रतिशत विलासिता कर लाग्ने भएको छ ।
यस्तै, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको १९ खर्ब ६४ अर्ब आकारको बजेट कार्यान्वयन आजदेखि सुरु भएको छ । सरकारले आजदेखि सरकारी खाताको सम्पूर्ण भुक्तानी विद्युतीय प्रणालीमार्फत गर्नेछ । यसअघिसम्म ९६ प्रतिशतसम्म भुक्तानी विद्युतीय प्रणालीमार्फत हुँदै आएकोमा चालू वर्षदेखि शतप्रतिशत भुक्तानी विद्युतीय प्रणालीमार्फत हुनेछ ।
तर, गत आर्थिक वर्षको बजेट कार्यान्वयनको स्थिती भने सन्तोषजनक थिएन । किनकी, हिजो असार मसान्तसम्मको अवधिमा १४ खर्ब रुपैयाँभन्दा बढीको राजश्व संकलनको लक्ष्य रहँदा पनि ११ खर्ब ४० अर्ब रुपैयाँ मात्रै संकलन भएको थियो । यो लक्ष्यको ८३ प्रतिशत मात्रै हो ।
यसबाहेक, १८ खर्ब ६० अर्ब आकारको बजेटमा १५ खर्ब २३ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । जुन, ८२ प्रतिशत मात्रै हुन आउँछ । सुरुमा ठूलो आकारको बजेट ल्याउने र पछि संशोधन गरेर १६ खर्ब हाराहारीमा ल्याइएको थियो । यसअर्थ बजेट संशोधनको परम्परा गत वर्ष पनि कायमै रह्यो ।



About Us
प्रतिक्रिया