दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


बैंकिङ समाचार,काठमाडौं । 

गत चैत २८ गतेदेखि सर्वसाधारणमा विक्री खुला गरिएको दोल्ती पावर कम्पनी लिमिटेडको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा आईपीओ बाँडफाँट गरि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको हो । 

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा १ लाख ४१ हजार ८२० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ७ हजार २९८ कित्ता शेयर कम्पनीले बाँडफाँट गरेको हो । स्थानीयका लागि कम्पनीले ५ लाख ३६ हजार ४८६ कित्ता शेयर विक्री खुला गरेको थियो । स्थानीयमा वितरण हुन नसकेको बाँकी शेयरसमेत सर्वसाधारणमा थप गरी विक्री खुला गरिएको हो ।

कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशत दरको १६ लाख ९ हजार ४५८ कित्ता शेयर आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

कम्पनीका कर्मचारीका लागि छुट्याएको शेयर समेत बाँडफाँट गरिसकेको कम्पनीले सामूहिक लगानीकोषका लागि ६८ हजार १७ कित्ता शेयर सुरक्षित गरी बाँकी १२ लाख ७१ हजार ८६१ कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।