काेशी प्रदेश

विराटनगरको ‘मेगाटेक’ मा नबिल बैंकले गर्यो शिलबन्दी


विराटनगर – कर्जा नतिरेको भन्दै विराटनगरको मेनरोडमा रहेको चर्चित र पुरानो कम्प्युटर तथा इलेक्ट्रोनिक उपकरणको विक्रेता कम्पनी मेगाटेक सोलुसनमा नबिल बैंकले बुधबार शिलबन्दी गरेको छ । ऋण कर्जा लिने क्रममा मेगाटेकले देखाएको गोदाममा बैंकले शिलबन्दी गरेको हो । बैंकका प्रतिनिधिहरूले प्रहरीसमेतको रोहबरमा मेगाटेकको बिक्री कक्ष रहेको विराटनगर–७ मेनरोडस्थित मुख्य पसलमा शिलबन्दी गरेको जनाइएको छ । त्यस्तै, मेगाटेकको कम्प्युटर मर्मत कक्षमा समेत शिलबन्दी भएको छ ।

मेगाटेक सोलुसनले बैंकबाट कर्जा उपभोग गर्दा उक्त पसल तथा त्यहाँ रहेको गोदामलाई धितो सुरक्षण वापत राखेको बैंकले कर्जाको साँवाब्याज भुक्तानी नभएपछि तालाबन्दी गरेको जनाएको छ । ऋणीको तर्फबाट स्टक (गोदाम) देखाएको ठाउँमा बैंकले प्रक्रिया अनुसार शिलबन्दी गरेको नविल बैंकका कोशी प्रदेश कार्यालयका प्रमुख दिपक कुमार श्रेष्ठले जानकारी दिए । मेगाटेकले ऋण लिंदा पसल तथा गोदाम परिसरभित्र रहेको मौज्दात तथा अन्य सरसामाग्री समेत ऋणकर्जा उपभोग गर्दा हाईपोथिकेसन तथा सुरक्षण लेखिदिएको र ऋणकर्जा लिँदा तोकिएको शर्तबन्देज उल्लंघन गरेको बैंकको दाबी छ ।

‘तोकिएको भाखा अवधिभित्र बैंकको ऋणकर्जा नतिरी कर्जाको शर्त बन्देजहरूको उल्लंघन बर्खिलाप गरेकोले यस बैंकले उक्त पसल तथा सो पसलको परिसर भित्र रहे भएका मौज्दात तथा अन्य सरसामाग्री मालसामानहरू समेत यस बैंकले कर्जा असुलीको कारवाही अगाडि बढाउने सिलसिलामा आफ्नो नियन्त्रणमा लिने क्रममा तालाबन्दी गर्नु पर्ने भएकोले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा विराटनगर महानगरपालिका वडा नं.–७ को कार्यालयबाट खटि आएका पदाधिकारीहरूको रोहवरमा उक्त पसल/गोदाममा तालाबन्दी गरिएको जानकारी गराउँदछौं ।’

बैंकले मेगाटेकको मुख्य बिक्री कक्षसहित एक संचालकको घरमा रहेको गोदाममा समेत शिलबन्दी गरेको जनाइएको छ । शिलबन्दीपछि मेगाटेकका संचालकहरू बैंकको सम्पर्कमा पुगेको बैंक स्रोतले जनाएको छ । ऋणको सावाँब्याज भुक्तानीको प्रक्रिया अघि बढेपछि बैंकले प्रक्रिया पुर्‍याएर शिलबन्दी खोल्न सक्ने जनाइएको छ । मेगाटेकले काठमाडौंसहित देशका प्रमुख शहरहरूमा शाखा विस्तार गरी कम्प्युटर र इलेक्ट्रोनिक्स पार्टस् तथा एशियन कम्पनीको ब्याट्री लगायतको उत्पादन र बिक्री वितरण गर्दै आएको छ ।