मुक्तिनाथ विकास बैंकले बोनस शेयर वितरण गर्न सुरु

मुक्तिनाथ विकास बैंकले बोनस शेयर वितरण गर्न सुरु


बैंकिङ समाचार,काठमाडौं । 

 मुक्तिनाथ विकास बैंक लिमिटेडले गत पुस ३० गते पारित गरेको १३ दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्न सुरु गरेको छ । कम्पनीले उक्त बोनस शेयर वापतको ७६ लाख ३७ हजार १९४ दशमलव १५ कित्ता बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई वितरण गर्न सुरु गरेको हो ।

चैत १५ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको दिनदेखिनै कम्पनीले बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको हो । हालसम्म पनि कम्पनीको शेयर भौतिक रुपमा धारण गरेका शेयरधनीहरूको हकमा शेयर अभौतिकीकरण गराएपश्चात् स्वतः सम्बन्ध्ति हितग्राही खातामा बोनस शेयर जम्मा गरिने जानकारी कम्पनीले दिएको छ ।

कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजारको आधारमा १३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

साधारण सभा प्रयोजनका लागि बैंकले पुस २० गते एक दिन बुक क्लोज गरेकाले बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गरेका छन् ।

पुस १९ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का गरिएको छ । कर्जा राफसाफ भैसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पुर्क गरी फकुवा गर्न समेत कम्पनीले आग्रह गरेको छ ।