मानुषी लघुवित्तको केन्द्र प्रमुख गोष्ठी

मानुषी लघुवित्तको केन्द्र प्रमुख गोष्ठी


बैंकिङ समाचार,काठमाडौं । 

मानुषी लघुवित्तले वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तका अध्यक्ष पद्माशना शाक्यको सभापतित्वमा भएको कार्यक्रमको काठमाडौं महानगरकी उपप्रमुख सुुनिता डंगोलले उद्घाटन गरेकी हुन् । 

कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख डंगोलले महिला सशक्तीकरणमा लघुवित्तले उल्लेख्य भूमिका निर्वाह गरेको बताइन् । महिला उद्यमशीलताको विकासका लागि महानगरले गृहकार्य गरिरहेको उनको भनाइ थियो । कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले संस्थाको विगत र वर्तमान अवस्थाबारे प्रकाश पारेकी थिइन् । कार्यक्रमका अन्य वक्ताले विद्यमान लघुवित्तको समस्या र त्यसको समाधानको विषयमा धारणा राखेका थिए । 

कार्यक्रममा उपस्थित केन्द्र प्रमुखहरूलाई लघुवित्तमा विद्यमान समस्या र समाधानका विषयमा छलफल चलाइएको संस्थाले जनाएको छ । त्यस्तै, गत वर्ष उत्कृष्ट कार्य गर्न सफल तीन केन्द्रलाई पुरस्कृत गरिएको कार्यक्रममा केही सदस्यले आफ्ना सफलताका कथासमेत सुनाएका थिए ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको लघुवित्तले हाल देशका १४ जिल्लामा ३६ शाखामार्फत ३४ हजार चार सयभन्दा बढी सदस्यलाई एक सय ३२ जना कर्मचारीमार्फत सेवा दिइरहेको जनाएको छ । हालसम्म संस्थाले ८४ करोड ८६ लाख रुपैयाँ बचत संकलन गरी एक अर्ब ५२ करोड रुपैयाँ लगानी गरेको उल्लेख छ ।