बिटक्वाइनको मूल्यले छोयो नयाँ उचाइ, मूल्य १ लाख २१ हजार अमेरिकी डलर नजिक


काठमाडौं –विश्वको सबैभन्दा चर्चित क्रिप्टोकरेन्सी बिटक्वाइनले आज नयाँ कीर्तिमान बनाएको छ। बिटक्वाइनको मूल्य बढेर पहिलो पटक १ लाख २१ हजार अमेरिकी डलरभन्दा माथि पुगेको छ। अमेरिकी बजारमा क्रिप्टोसम्बन्धी तीन महत्त्वपूर्ण विधेयकहरू पारित हुने आशाले बिटक्वाइनको मूल्यमा उत्साहजनक वृद्धि आएको हो।

यससँगै बिटक्वाइनमा ठुलो मात्रामा संस्थागत लगानीकर्ताहरू आकर्षित भएका छन्। बजार विश्लेषकहरूका अनुसार हाल बिटक्वाइनको दैनिक कारोबार मूल्य करिब १ लाख २१ हजार ७ सय अमेरिकी डलर आसपासमा छ ।

आजको दिनमा यसको न्यूनतम मूल्य १ लाख १७ हजार ९ सय १४ डलर र उच्चतम मूल्य १ लाख २२ हजार ८ सय ५२ डलर पुगेको छ। बितेका केही महिना देखिनै बिटकोइनमा निरन्तर वृद्धि देखिँदै आएको थियो।

पछिल्लो  समयमा नेपालमा समेत केही युवाहरू क्रिप्टो करेन्सी कारोबारमा आकर्षित भई बिटक्वाइनको जस्ता करेन्सीमा लगानी गर्ने गरेका छन्। तर, नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबारलाई गैरकानुनी घोषणा गरिसकेको छ । जसले गर्दा नेपालमा यस्ता करेन्सीमा लगानी गर्नेहरू पक्राउ पर्नेक्रम समेत बढ्दै गएको छ ।