नबिल बैंकले जलवायु परिवर्तन र पर्यावरण प्रवर्धन सम्बन्धी सचेतना सहित सार्वजनिक गर्यो २०८० सालको क्यालेन्डर

नबिल बैंकले जलवायु परिवर्तन र पर्यावरण प्रवर्धन सम्बन्धी सचेतना सहित सार्वजनिक गर्यो २०८० सालको क्यालेन्डर


बैंकिङ्ग समाचार, काठमाडौं ।
‘जलवायु परिवर्तन सम्बन्धी सचेतना तथा पर्यावरण प्रवर्धनप्रति दायित्वबोध’ मुख्य नाराका साथ नबिल बैंकले नयाँ वर्ष २०८० सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाका साथ वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य लगायत नायब प्रमुख कार्यकारी अधिकृत द्वय विनय कुमार रेग्मी तथा भूपेन्द्र पाण्डेले भित्ते पात्रो र टेबल क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

बैंकका अनुसार उक्त क्यालेन्डरमा नेपाली बाह्र महिनाको मौसम तथा प्राकृतिक सौन्दर्यलाई दर्साउने फोटोहरू राखिएको छ भने संवर्धनको लागि आह्वान गरिएको छ । ढकमक्क फुलेका लालीगुराँसका मनोरम दृश्य, स्वतन्त्र उड्ने चराचुरुङ्गीहरूदेखि सुन्दर हिमालहरू, लोपोन्मुख हिम चितुवाका फोटोहरू प्रयोग गरिएको छ । बैंकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँग तस्बिरहरूको लागि सहकार्य गरेको थियो ।

क्यालेन्डरमा जलवायु परिवर्तन सम्बन्धी सचेतना राखिनुको विषयमा प्रकाश पार्दै नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले भने, ‘जलवायु परिवर्तनलाई बैंकिङ लगायत सबै क्षेत्रबाट गम्भीरता पूर्वक ध्यान पुर्याउन जरुरी छ ।’ उनले थपे, ‘जलवायु क्षेत्रमा उपयुक्त लगानी गरी यस संसारलाई सबैको लागि बाच्न योग्य बनाउनु नै अहिलेको प्रमुख आवश्यकता हो । ’

नबिल बैंकको यस कदमले सम्पूर्ण बैंकका कर्मचारी, सरोकारवाला, ग्राहक वर्ग, सञ्चालक समिति लगायत सम्पूर्ण जनतामा जलवायु परिवर्तन सम्बन्धी सचेतना फैलाउन र जीवनशैलीमा स–साना परिवर्तन गर्न अभिप्रेरित गर्ने सिइओ ढुंगानाको भनाइ छ ।

नबिलले दिगो बैंकिङको अवधारणालाई आत्मासाथ गरी आएको र वातावरण प्रति सदैव जिम्मेवार रहेको उनले बताए । नयाँ वर्षको सुरुवातसँगै भित्तेपात्रो देशै भरका आफ्ना शाखाहरूबाट कर्मचारी, ग्राहक, सरोकारवाला सबैमा पुर्याउने योजना बैंकको छ ।

बैंकले केही तस्बिरको सौजन्यका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) प्रति बैंक आभारी रहेको सिइओ ढुंगानाले बताए । नबिलले हालसालै हरित गृह ग्यास विसर्जन सम्बन्धी रिपोर्ट पनि सार्वजनिक गरेको थियो ।