पाइलैपिच्छे ‘स्क्यामर’को बिगबिगी, पढेलेखेका शिक्षित नै ‘राडार’मा


काठमाडौं – कसैलाई झुटा जानकारी दिएर प्रलोभनमा पर्नेहरुको संख्या ह्वात्तै बढेको छ । छोटाे समयमा नै धेरै पैसा कमाउने अभिप्रायले गलत तरिकाले विभिन्न माध्यमबाट पैसा ठग्नेको संख्या बढ्दो अवस्थामा रहेको देखिएको हो । पैसाको प्रलोभन देखाउँदै आफ्नै जालमा पारेर ‘स्क्याम’मार्फत ठग्नेहरुको संख्या बढिरहेको पछिल्ला तथ्यांकले देखाउँछ ।

स्क्यामरले विभिन्न संघ संस्थाहरूको झुटो वेबसाइट बनाएर पैसा माग्ने गर्छन् भने ‘हजुरलाई त लट्री पर्यो’ भनी ठग्ने गर्छन् । यसरी झुटा अवसर देखाएर ठग्ने क्रम बढ्दै गएको छ । अनलाइन ठगीका घटनाहरूमा सबैभन्दा बढी घट्ने घटनामा स्क्याम गरी ठग्नेहरूको संख्या बढ्दै गइरहेको छ ।

यस्ता अपराधिहरुले स्क्याम सेटर नै खोलेर ठगी समेत गर्ने गरेका हुन्छन् । ठुलो तलबको आशा देखाएर त्यस्ता संस्थामा अवद्ध रहेका व्यक्तिहरले सर्वसाधारणलाई ठग्ने गर्छन् । त्यस्ता ठगीका घटनाहरुमा शिक्षित व्यक्तिहरु नै फस्ने गरेको प्रहरीहरु बताउँछन् । शेयर बजारको अनलाइन तालिम दिने केन्द्र, रोजगारी खोजी गर्ने संस्था, सहकारी संस्थाको नक्कलि वेबसाइट र अन्य विभिन्न संघ संस्थाको नक्कलि वेवसाइटहरुको निमार्ण गरी सर्वसाधारणलाई शुरुमा विश्वास दिलाउने र त्यसपछि ठग्ने गरेको उजुरीहरु प्रहरीमा आउँने गरेको प्रहरीले जनाएको छ ।

ठग्नका लागि निर्माण भएका वेवसाइटहरु सक्कलि जस्तै देखिने भएकाले स्क्यामहरुमा शिक्षित वर्ग धेरै फस्ने गरेका छन् । मोबाइल चलाउन नआउने र नपढेका वर्गहरु यस्ता ठगीका सिकार बन्दैन् । जसले गर्दा स्क्यामरको फन्दामा जो पनि पर्ने अवस्था सिर्जना भैरहेको छ । यस्ता ठगहरुले झुटा लगानि योजना देखाएर पैसा लिने गर्छन् । पैसाका लागि पछिल्ला समयमा विभिन्न तरिकाहरु बनाएर अनलाईन ठगी गर्ने गर्छन् ।

स्क्यामरले कुनै सामाजिक सञ्जालको माध्यमबाट सर्वसाधारणलाई लट्री पर्‍यो भन्दै म्यासेज गर्छ, लट्री लिन सुरुमा आफूले अलि कति पैसा पठाउनु पर्ने बताउँछन् । जसले गर्दा धेरै पैसा कमाउने लोभमा उल्टै आफूसँग भएको पैसा नै जाने गर्छ । कतिपय अवस्थामा थाहा हुँदाहुँदै पैसा साँच्चै आउने प्रलोभनमा स्क्यामरको फन्दामा पर्ने गर्छन् ।

स्क्यामका माध्यमबाट ठगी गर्नेहरूले पछिल्लो समयमा अनलाइन जागिर लाइदिन्छु भन्दै घरबाट नै पैसा पठाउन लगाउने गरेको साइबर ब्युरोका प्रवक्ता दीपक राज अवस्थी बताउँछन् । उनीहरूले विभिन्न बहानामा पैसा माग्ने गरेको उनले बताए । आफूलाई ठगी भई रहेको थाहा हुँदाहुँदै पनि धेरै पैसा पाइहालिन्छ कि भन्ने आशमा पैसा पठाउने गर्ने गरिएको घटनाहरू पनि ब्युरोमा आउने गरेको उनी बताउँछन् ।

ठगले झुक्क्याएर एक पटक मात्र सर्वसाधारणलाई ठग्न सक्छ, तर स्क्यामबाट पटक पटक ठगी हुने गरेको उनले बताए । उपहारमा लट्री परेको छ हजुरलाई बैंकिङ्ग कानुनी पक्रियाका लागि भन्दै पैसा माग्ने गरेको उनले बताए । उनले भने, ‘आफ्नो मान्छे विदेशमा छ उसको मृत्यु भयो, उसको सम्पत्तिको मालिक कोही नभएकाले त्यो सम्पत्ति हजुरले पाउनु भएको छ, जसका लागि केही कानुन पक्रिया पुरा गर्नुपर्ने भएकाले रकम पठाउनुहोला भन्छन्, अनि पटक पटक सम्म ठगी गर्ने गरेका छन् ।’

त्यस्तै, पछिल्लो समय सेयर कारोबार घरबाट गर्न सक्नुहुन्छ भन्दै ‘सफ्टवेयर इस्टल’ गर्न लगाउने गरेको उनले बताए । पछिल्ला समयमा सबै भन्दा बढी २५ वर्ष देखि ३५ वर्ष सम्मका व्यक्तिहरू धेरै फस्ने गरेको उनी बताउँछन् । साथै, अन्य उमेर समूहका मानिसहरू पनि स्क्यामबाट बच्न सकेको अवस्था भने नरहेको उनले बताए । यस आवको अहिले सम्ममा ७ हजार जति घटना ब्युरोमा आइसकेको उनले बताए ।

पछिल्लो तीन आर्थिक वर्षमा मात्र स्क्यामबाट करोडौँको रकम ठगी भैसकेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष (आव) २०७९/२०८० मा प्रहरीमा स्क्यामका २८ वटा उजुरी परेका थिए भने १०६ पुरुष र १३५ जना महिला गरी कुल २४१ जना नेपालीहरू पक्राउ परेका थिए । त्यस आवमा ३ जना विदेश समेत पक्राउ परेका थिए । उनीहरूबाट १५ करोड ४३ लाख रुपैयाँ बरामद गरेको थियो ।

आव २०८०/२०८१ मा ३६ वटा उजुरी परेको थियो भने ५२ जना पुरुष र २३ जना महिला नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ । उक्त आवमा ३ जना विदेशी पक्राउ परेको थिए । उनीहरूबाट २५ करोड ३ लाख ९४ हजार रुपैयाँ बरामद गरिएको छ । चालु आव २०८१/२०८२ को माघ सम्ममा प्रहरीमा स्क्यामका ३ वटा उजुरी परेका छन्, भने जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले ८ लाख ५४ हजार रुपैयाँ बरामद गरेको छ ।