काठमाडौं – गभर्नर डा. विश्वनाथ पौडेलले बजारले अपेक्षा गरे बमोजिमको मौद्रिक नीति सार्वजनिक गरेका छन्। सामान्यतया साउनको पहिलो वा दोस्रो साता सार्वजनिक हुँदै आएको मौद्रिक यसपटक भने असार मसान्त भित्रै ल्याउँदै बजारको अपेक्षा बमोजिम नीति लिएका हुन्। गभर्नरमा नियुक्त भएदेखि नै डा. पौडेलले बजार चलायमान बनाउन खुकुलो र लचिलो नीति लिने संकेत तथा भाषण गर्दै आइरहेका थिए। यस्तै, उनको स्वभाव समेत लचिलो खालको नीति लिने रहेको देखिन्छ। यसअघि, नै उनले दुई ‘सर्कुलर’ जारी गर्दै आफ्नो स्वभाव प्रदर्शन गरिसकेका थिए।
यही क्रमलाई निरन्तरता दिँदै गभर्नर पाैडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर बजारमैत्री नीति लिएका छन्। उनले हाल कायम १५ करोड रुपैयाँको शेयर धितो कर्जाको सीमा बढाउँदै २५ करोड रुपैयाँ पुर्याएका छन्। जबकि, निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले शेयर धितो कर्जामा ४/१२ को नीति लिएका थिए। यसअनुसार एक जना लगानीकर्ताले बढीमा ४ वटा बैंकबाट ३/३ करोड रुपैयाँका दरले १२ करोड रुपैयाँसम्म शेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेका थिए। यो व्यवस्थासँगै ३१ सय ९८ अंकको बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेर २२ सय अंक हाराहारीसम्म आइपुगेको थियो।
तर, लगानीकर्ताको अत्यधिक विरोध खेप्न नसकेर अधिकारीले सो नीति परिमार्जन गर्दै १५ करोड रुपैयाँसम्म शेयर धितो कर्जा लिन पाउने व्यवस्था गरेका थिए । यही नीतिलाई आफ्नो पहिलो मौद्रिक नीतिमार्फत नै खुकुलो बनाएका हुन् । अब लगानीकर्ताले आफ्नो शेयर धितो राखेर बढीमा २५ करोड रुपैयाँसम्म कर्जा लिन पाउनेछन् । यो व्यवस्थासँगै हाल २७ सय अंक वरिपरि घुमिरहेको नेप्सेमा उछाल आउने संकेत देखिएको छ । लगानीकर्ताहरूको मौद्रिक नीतिपछिको प्रतिक्रियाले समेत यस्तै देखाउँछ । हालसम्म उल्लेख्यरुपमा शेयर धितो कर्जा प्रवाह भए पनि बजारमा त्यसको प्रत्यक्ष प्रभाव देखिएको थिएन ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट ९० अर्ब ९ करोड रुपैयाँभन्दा बढी शेयर कर्जा प्रवाह भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशतभन्दा बढी भएको समेत केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ ।
तरपनि बजारमा यसको प्रत्यक्ष प्रभाव देख्न नसकिएको लगानीकर्ताहरू बताउँदै आइरहेका छन् । शेयर धितो कर्जाको सीमा १५ करोडमा नै रहेको समयमा गत वर्षको सोही अवधिमा १४ प्रतिशतले मात्रै शेयर कर्जा बढेको थियो । खासगरी, लगानीकर्ताको लगानी क्षमता कस्ने गरी निवर्तमान गभर्नर अधिकारीले लिएको नीतिका कारण पनि शेयर कर्जा ९० करोडमा मात्रै सिमित रहेको बताइन्छ । किनकि, ठुला लगानीकर्तालाई यो रकम अपुग रहन्छ ।
अब भने शेयर बजार परिसूचक र कारोबार रकम समेत बढ्ने अपेक्षा लगानीकर्ताको छ । यद्यपि, पछिल्लो दुई महिनायता नेप्से परिसूचक निरन्तर उकालो गतिमा देखिन्छ। २ महिना अघि २५ सय अंकको बिन्दुमा रहे पनि आजको मितिमा २७ सय ३० अंकको बिन्दुमा नेप्से परिसूचक छ। अब १५ करोड रुपैयाँको सीमा बढेर २५ करोड रुपैयाँ पुगेसँगै नेप्सेले थप उचाइ लिने आँकलन गर्न सकिन्छ। तर, शेयर धितो कर्जाको सीमा बढ्नु मात्रै शेयर बजार परिसूचक बढ्ने महत्त्वपूर्ण आधार भने होइन। यद्यपि, यसले ठुला लगानीकर्तालाई आवश्यकताअनुसारको रकम जोहो गरेर बजारमा लगानी गर्न भने सहजीकरण गर्छ।
उत्साहित लगानीकर्ता
नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे मौद्रिक नीति लगानीमैत्री आएकाले यसको प्रत्यक्ष प्रभाव लगत्तै बजारमा पर्न थाल्ने बताउँछन्। ‘लगानीका लागि आवश्यक पुँजी अभाव हुँदा लगानीकर्ताले रकम जोहो गर्न नसक्ने स्थिति रहन्थ्यो,’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘समग्रमा आगामी वर्षको मौद्रिक नीति पुँजी बजारमय छ।’ यससँगै बजार स्वभाविकरुपमा चलायमान बन्ने उनको अपेक्षा छ।
नेपाल साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजंग जीसी मौद्रिक नीतिले अर्थतन्त्रमा देखिएको वर्तमान स्थितिबाट पार पाउने गरी आएको बताउँछन्। बैंकिङ्ग समाचारसँगको कुराकानीमा उनी भन्छन्, ‘हालको अवस्थासँग सुहाउँदा आएको छ। शेयर धितो कर्जाको सीमा बढाउनु लगायतका व्यवस्थाले लगानीकर्ताहरूमा उत्साह थपेको छ।’ उनकाअनुसार गभर्नर पौडेलले लगानीकर्ताहरूको मागलाई सम्बोधन गर्ने गरी नीति ल्याएका छन् र लगानीकर्ताको सबैजसो माग मौद्रिक नीतिमा समेटिएको छ।
यसैगरी, जनरल इन्भेष्टर एशोसिएसनका अध्यक्ष दीपक कार्की मौद्रिक नीति स्वागतयोग्य आएको बताउँछन् । बैंकिङ्ग समाचारसँगको कुराकानीमा कार्कीले भने, ‘धितोकर्जाको सीमा बढाउनु आफैँमा स्वागतयोग्य विषय हो । तर, यसो भन्दैमा लगानी गर्न खोज्नेलाई क्याप लगाइराख्न भने हुँदैन ।’ कुराकानीमा २५ करोड रुपैयाँको क्याप समेट हटाउनुपर्ने उनको धारणा रह्यो ।





About Us
प्रतिक्रिया