तीन सातापछि ताप्लेजुङमा हवाई उडान


ताप्लेजुङ – ताप्लेजुङमा तीन सातापछि हवाई उडान भएको छ । खराब मौसमका कारण गएको जेठ ३० गतेदेखि ताप्लेजुङमा उडान ठप्प थियो ।

नेपाल एयरलाइन्सको जहाजले आज काठमाडौंबाट चार यात्रु बोकेर आएको थियो भने ताप्लेजुङबाट सोही विमानमा पाँच यात्रु काठमाडौँ प्रस्थान गरेका छन् । मौसमकै कारण असारयता ६ वटा उडान प्रभावित भएका नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिए ।

बर्खायाम सुरु भएसँगै प्रतिकूल मौसमका कारण उडान प्रभावित हुँदै आएका उनले बताए । हाल साताको सोमबार र शुक्रबार दुई दिन काठमाडौं –ताप्लेजुङ–काठमाडौंका लागि हवाई उडानको तालिका रहेको छ । ताप्लेजुङबाट काठमाडौंसम्म प्रति व्यक्ति रु नौ हजार २०० भाडा दर कायम गरिएको छ ।