काठमाडौं – नेपालमा विश्वका दर्जनभन्दा बढी देशका नागरिक आर्थिक अपराधमा संलग्न हुने गरेका छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालमा घट्ने आर्थिक अपराधका घटनामा संलग्न विदेशी र तीनको मुलुक हेर्दा दर्जन देशका नागरिक संलग्न हुने गरेका हुन्। नेपालमा आर्थिक अपराधमा सहभागी हुने देशहरूमा अग्रस्थानमा छिमेकी राष्ट्र भारत र चीनका नागरिक छन्। तर, यी बाहेक अन्य राष्ट्रबाट यहाँ आएर वित्तीय अपराध गर्नेहरूको संख्या पनि कमी भने छैन। नेपालमा आएर आपराधिक कार्यमा ३० भन्दा बढी मुलुकका व्यक्तिहरू सहभागी भएको प्रहरीको तथ्यांक छ।
नेपालमा भारत, चीन, बंगलादेश, फ्रान्स, बेलायत, पोल्यान्ड, दक्षिण कोरिया, पाकिस्तान, अमेरिका, स्पेन, अस्ट्रेलिया, भुटान, आइभोरी कोस्ट, नाईजेरीयादेखिका नागरिक नेपाल आएर आर्थिक अपराधमा संलग्न पाइएको छ । यस्तै, सिंगापुर, रसिया, अंगोला, थाईल्याण्ड, बेल्जियम, टर्किए, दक्षिण अफ्रिका, सुडान, केन्या, इरान, उज्बेकिस्तान, फिलिपिन्स, मलेसिया, मौरिसस, किर्गिस्तान, लगायत देशका नागरिक समेत नेपालमा घट्ने आर्थिक अपराधमा संलग्न हुने गरेको पाइएको हो ।
प्रहरीका अनुसार विदेशी अपराधीहरू नेपालमा आएर बैंकिङ्ग कसुर, ठगी, अवैध मुद्रा कारोबार, किर्ते, चोरी जस्ता कार्यहरूमा संलग्न रहेका छन् । नेपालमा धेरै जसो विदेशी वित्तीय अपराधीहरू अवैध मुद्रा कारोबारमा संलग्न रहेको प्रहरीको तथ्यले देखाएको छ।
नेपाल प्रहरीका सह-प्रवक्ता रमेश थापाका अनुसार पछिल्लो तीन चार महिनामा भने विदेशी नागरिकहरू पक्राउ परेका छैनन्। प्रहरीले कस्तो अपराध गरेको हुन्छ, त्यसैअनुरुपको अनुसन्धान गरी उनीहरूको नागरिकता लिएर कारबाही प्रक्रिया अघि बढाइने गरिएको उनले बताए । स्वदेशी अपराधी र विदेशी दुवै अपराधीलाई कसुर अनुसार नै एउटै किसिमको कारबाही गर्ने गरिएको उनी बताउँछन् ।

६ आर्थिक वर्षसम्ममा सबैभन्दा बढी विदेशीहरु संलग्न अवैध मुद्रा कारोबारमा रहेका छन् । अवैध मुद्रा कारोबार अथवा क्रिप्टो कारोबारमा अन्तर्राष्ट्रिय सञ्जाल बनाएर कारोबार गर्ने भएकाले बढी विदेशी पक्राउ परेको प्रहरी सह- प्रवक्ता थापा बताउँछन् । आव २०७६/२०७७ मा १ जना, आव २०७८/२०७९मा ८ जना, आव २०७९/२०८० मा १५ जना, आव २०८०/२०८१ मा ३९ जना, आव २०८१/२०८२मा १४ जना अवैध मुद्रा कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका थिए ।
प्रहरीको तथ्यांक अनुसार, आव २०७६/२०७७ मा २ जना, आव २०७७/२०७८ मा १ जना, आव २०७८/२०७९मा ३ जना, आव २०८०/२०८१ मा ५ जना किर्ते कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ परेका थिए । अन्य मुलुकबाट नेपालमा आई चोरी गर्नेहरू आव २०७९/२०८०मा २ जना र चालु आवमा १ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया