वर्षौंदेखि तरलता व्यवस्थापन मै राष्ट्र बैंकको ध्यान, ६३ दिनको नयाँ रणनीतिले बनाउनेछ सहज


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा थुप्रिएर बसेको तरलता व्यवस्थापनका लागी नयाँ बाटो पहिल्याएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा संकलन हुने तरलता व्यवस्थापनका लागी भन्दै नयाँ रणनीति अपनाएको हो ।

बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम नरोकिँदा बैंकहरुलाई तरलता व्यवस्थापनमा चुनौती थपिएको छ । बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा सुधार नआउँदा संस्थामा निक्षेप संकलन हुने क्रम जारी रहेका कारण बैंकहरुलाई तरलता व्यवस्थापनमा चुनौती सिर्जना भएको हो ।

बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह बढ्न नसक्दा बैंकिङ्ग प्रणालीमा तरलता बढ्ने क्रम बढ्दो छ । राष्ट्र बैंकले बैंकहरुमा भएको तरलता व्यवस्थापन गर्न असार १५ गते मात्रै ३० अर्ब तरलता खिचेको थियो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएपछि लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ ।

केन्द्रीय बैंकले असार महिना लागे यता मात्रै सात पटक तरलता खिचिसकेको छ । असार १ गते ४० अर्बको ४२ दिने निक्षेप, ४ गते ९० अर्बको ३५ दिने निक्षेप, ८ गते ६० अर्बको ४२ दिने निक्षेप, ११ गते ५० अर्बको ६३ दिने निक्षेप र १५ गते ३० अर्बको ६३ दिने तरलता खिचेको हो । यस्तै, यही असार १८ गते ६३ दिनकै लागि ६० अर्ब खिचेको थियो । यस्तै आज पनि केन्द्रीय बैंकले ४२ दिनको लागि ४५ अर्ब निक्षेप संकलन गरेको हो ।

पछिल्लो तीन पटक निक्षेप संकलनका क्रममा ६३ दिने निक्षेप संकलन गरेको हो । यसअघि केन्द्रीय बैंकले बढीमा ४१ दिने निक्षेप संकलन गर्दै आएको थियो । नेपाल राष्ट्र बैंकले बैंकबाट हुने लगानी बढ्न नसकेपछि यस्तो नीति लिएको हो । बैंकहरुमा संकलन हुने बचत बढ्दै गए पनि लगानी बढ्न नसक्दा लामो समयका लागी निक्षेप संकलन गर्ने भएको हो । केन्द्रीय बैंकले असार ११ गते ५० अर्बको ६३ दिने निक्षेप र १५ गते ३० अर्बको ६३ दिने निक्षेप संकलन गरेको छ । केन्द्रीय बैंकले धेरैजसो २१ दिने निक्षेप संकलन गर्दै आएको थियो ।

तर, बैंकले पटकपटक निक्षेप संकलनमा मात्र आफ्नो ध्यान केद्रित गर्नुपर्दा विभिन्न किसिमका समस्या सामना गर्नुपर्ने अवस्था आएपछि एकैपटक लामो अवधिका लागी निक्षेप बोलकबोल गर्न लागेको हो । कोभिड–१९ पछिको आर्थिक पुनरुत्थान, वैदेशिक लगानीको कमी र निजी क्षेत्रको कमजोर मनोबलमा कारण बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्दा लगानी भने बढ्न सकेको छैन ।

उद्योगहरू आधा क्षमतामा सञ्चालन हुँदा लगानीको वातावरण बन्न सकेको छैन । यस्तो समयमा बैंकिङ्ग क्षेत्रको अधिक तरलताले दबाब सिर्जना गर्नुका साथै मुद्रास्फीति र वित्तीय स्थिरतामा पनि प्रभाव पारेको छ । बैंकिङ्ग प्रणालीमा निक्षेप बढ्दै जाँदा राष्ट्र बैंकलाई ब्याजदर कोरिडोरलाई सीमामा राख्न समेत चुनौती सिर्जना भएको छ । केन्द्रीय बैंकले यसकारण पनि लामो समयको निक्षेप संकलन गर्ने नीतिमा लागेको हो ।

नेपाल राष्ट्र बैंक ब्याजदर कोरिडोरलाई सीमाभन्दा माथि राख्न चाहिरहेको समयमा लामो समयको लागी निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र बैंकका प्रवक्ता किरण पण्डित राष्ट्र बैंकले बैंकिङ्ग क्षेत्रमा अझै केही समय पर्याप्त तरलता रहने अनुमान गरेका कारण लामो समयको निक्षेप संकलन गर्न लागेको बताउँछन् । ‘अबको एक/दुई महिना बैंकिङ्ग क्षेत्रमा रहेको तरलता यसरी नै बस्छ भन्ने पूर्वानुमान भएको हुँदा लामो समयको निक्षेप संकलन उपकरण प्रयोग गरिएको हो’ बैंकिङ्ग समाचारसँग उनले भने, ‘यसो गर्दा राष्ट्र बैंकले चाहिरहेको ब्याजदर निश्चित सीमामा राख्न भूमिका खेल्छ ।’

प्रवक्ता पण्डित लामो अवधिको निक्षेप संकलन गर्दा केन्द्रीय बैंकलाई तरलता व्यवस्थापनमा पनि सहज हुने बताउँछन् । उनले अन्तर बैंक ब्याजदर ३ प्रतिशत तल आउन नदिन तरलता व्यवस्थापन गर्नुपर्ने भएकाले यस्तो नीति लिएको बताए । केन्द्रीय बैंकले केही समय बैंकिङ्ग क्षेत्रको तरलता संकलन क्रम नघट्ने अनुमान गरेको छ ।

बजारमा आएको सुस्ततालाई लिएर केन्द्रीय बैंकले तरलता संकलन क्रम घट्न नसक्ने अनुमान लगाएको हो । तर, पछिल्लो समय भने बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा पैसा राख्न रुचि देखाउन छाडेको देखिएको छ । जसको उदाहरणका लागी राष्ट्र बैंकले पछिल्लो पटक असार १५ गते ३० अर्बका लागी आवेदन माग गर्दा १७ अर्ब ५५ करोडका लागी मात्रै आवेदन दिएका थिए ।

त्यसअघि असार ११ गते ५० अर्बका लागी आवेदन माग गर्दा ३७ अर्ब ६५ करोडका लागी र असार ८ गते ६० अर्बको लागी बोलकबोल गर्ने समयमा ५६ अर्ब २० करोडका लागी आवेदन दिएका थिए । बैंक तथा वित्तीय संस्थाहरुलाई केन्द्रीय बैंकले अधिकतम ३ प्रतिशत मात्रै ब्याज उपलब्ध गराउँदा बैंकहरुले राष्ट्र बैंकमा पैसा राख्न चासो नदेखाउने गरेको कतिपयको बुझाई छ ।