हुँदै नभएको विद्यालय खडा गरी भ्रष्टाचार गर्ने  इन्जिनियरसहित ४ जनालाई अख्तियारले चलायो  मुद्दा


काठमाडौं – अख्तियार अनुसन्धान आयोगले डोल्पाको जिल्ला प्राविधिक कार्यालय दुनैका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र परियारसमेत ४ जनाविरुद्ध भष्टचार मुद्दा दायर गरेको छ । काल्पनिक विद्यालय खडा गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले तत्कालीन कार्यालय प्रमुख, इन्जिनियर रविचन्द्र परियारसहित ४ जनाविरुद्ध मुद्दा दायर गरेको हो । 

डोल्पामा तत्कालीन दुनै गा.वि.स.२ र ३ का कुनै पनि वडा र बस्तीमा दुर्गा प्रा.वि.नामक  विद्यालय नभएको तर विद्यालय भवन नबनाई रकम अनियमितता गरेको आयोगले जनाएको छ । आयोगका अनुसार डोल्पाको ठूलीभेरी नगरपालिका वडा नं. ४ साबिक दुनै गाविस वडा नं. २ र ३ मा एउटै मात्र श्री लालिगुँरास आधारभूत विद्यालय रहेको छ । विद्यालय निर्माणको लागि आर्थिक (वर्ष आव) २०६७/०६८ मा शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट कुनै पनि रकम नआएको र भवन पनि नबनेको कुरा जिल्ला शिक्षा कार्यालय, डोल्पाको पत्रबाट  खुल्न आएको छ । 

दुर्गा प्रा।वि।को नामले हालसम्म कुनै पनि विद्यालय निर्माण नभएको  अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्राविधिक टोलीले गरेको अनुसन्धानबाट  देखिएको छ । आव २०६७/०६८ मा डोल्पाको साबिक दुनै गाविस वडा नं.२ र ३ हाल ठूलीभेरी नगरपालिका वडा नं.४ तिप्लास्थित काल्पनिक विद्यालय दुर्गा प्राथमिक विद्यालय खडा गरी  जिल्ला प्राविधिक कार्यालय, दुनै, डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढासमेतको योजनामा नभएको विद्यालयको नाममा २ कोठे भवन निर्माणको लागि ७लाख ६० हजार रुपैयाँ विनियोजन गरी काल्पनिक उपभोक्ता समिति गठन गरेको देखिएको छ ।  

डोल्पाका प्रमुख इन्जिनियर रविचन्द्र परियारको सिफारिसमा उपभोक्ता समितिको नाममा खाता खोली जस्ता छानासहितको २ कोठे भवन निर्माण गरेको भनी झुट्टा तथा नक्कली कागजात तयार गरी  चेकमार्फत ७ लाख ६० हजार रुपैयाँ भुक्तानी दिएको पुष्टि भएको छ । उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम बिगो ७ लाख ६० हजार रुपैयाँ कायम गरिएको आयोगले बताएको छ । यस कार्यमा संलग्न उनीहरूउपर देहायबमोजिमको सजाय हुन मागिदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।