काठमाडौं – बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको ११ महिनामा बीमा अभिकर्तालाई झन्डै १० अर्ब रुपैयाँ खर्चिएका छन् । बीमा कम्पनीहरूले यस अवधिमा १ खर्ब ५४ अर्ब ५ करोड रुपैयाँको बीमा शुल्क आर्जन गर्दा ९ अर्ब ८५ करोड रुपैयाँ बीमा अभिकर्तामा खर्चिएका हुन् । चालू आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्मको अवधिमा १४ वटा जीवन बीमा र ३ वटा लघु जीवन बीमा कम्पनीले ९ अर्ब ८५ करोड रुपैयाँ अभिकर्तालाई कमिसन दिएका हुन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ९१ करोड रुपैयाँभन्दा बढीले ज्यादा हो ।
प्राधिकरणका अनुसार गत आर्थिक वर्षको ११ महिनाको अवधिमा बीमा कम्पनीहरूले ‘कमिसन’बापत ८ अर्ब ९४ करोड रुपैयाँ अभिकर्तालाई दिएका थिए । तथ्यांकअनुसार गत आर्थिक वर्षको सो अवधिको तुलनामा चालू वर्षमा अभिकर्तालाई बीमा कम्पनीहरूले दिने ‘कमिसन’ साढे १० प्रतिशतले बढी हो । मुख्यतः जीवन बीमा कम्पनीहरूको व्यवसाय अभिकर्तामा आधारित हुन्छन् । अभिकर्ताबिना चालू वर्षमा जीवन बीमा कम्पनीले उठाएको १ खर्ब ५४ अर्ब रुपैयाँको बीमा शुल्क उठ्नै मुस्किल पर्थ्यो। यही कारण, बीमा कम्पनीहरूले अभिकर्तालाई विशेष प्राथमिकतामा राख्ने गर्छन्।
यसबाहेक, प्राधिकरणले नै स्पष्टरुपमा अभिकर्तालाई व्यवसायको निश्चित हिस्सा दिनुपर्ने कानूनी व्यवस्था गरेको छ । अभिकर्ताले बीमा शुल्क उठाउँदा त्यसको निश्चित प्रतिशत पाउने प्रावधान छ । यसबाहेक, बीमा कम्पनीहरूले अभिकर्तालाई विदेश भ्रमण, नगद पुरस्कार र अन्य आकर्षक बोनसको व्यवस्था समेत गरेका छन् । बिक्री लक्ष्य पुरा गर्ने अभिकर्तालाई महँगा उपहार र नगद रकम नै दिने व्यवस्था समेत छ ।
यिनै शीर्षकमा कम्पनीहरूले झन्डै १० अर्ब रुपैयाँ खर्च गरेका हुन् । तर, कम्पनीहरूले दिने ‘कमिसन’मा कतिपय अवस्थामा दुरुपयोग समेत हुने गरेको छ । कमिसन नै पाउने प्रलोभनमा अभिकर्ताले ‘फोर्स सेलिङ’, ‘मिससेलिङ’ गर्दा सरेन्डर बढिरहेको तथ्यांकले देखाउँछ । प्राधिकरणको तथ्यांकले नै बढी देखाइरहेको कमिसनको आकर्षणका कारण अभिकर्ता बन्न चाहने युवाहरू समेत बढ्न थालेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली कम्पनीको व्यवसायमा अभिकर्ताहरूको ठुलो हात रहेको बताउँछन् । उनी भन्छन्, ‘अभिकर्ताहरूको मिहिनेतअनुसार नै कम्पनीहरूले कमिसन दिने हो । यही कारण, सबै अभिकर्ताहरू गलत वा कमिसनको लागि मात्र काम गर्ने पनि हुँदैन ।’ उनका अनुसार अभिकर्ताहरूले पाउने सुविधा सबै कम्पनीले योजना बनाएर तोकेको हुने र कमिसनकै लागि मात्र काम गर्न चाहने अभिकर्ताहरू कम्पनीले पहिचान गर्न आवश्यक छ ।
उच्च कमिसनको लोभ, अनैतिक अभ्यासको जोखिम
हाल नेपालमा ३७ वटा बीमा कम्पनी सञ्चालितमा छन् । यीमध्ये १७ वटा जीवन बीमा कम्पनीहरू (लघुबीमासहित) मात्रै अभिकर्तामा आधारित हुन्छन् । यी कम्पनीहरूले बजार विस्तार गर्न र आफ्नो हिस्सा कायम राख्न अभिकर्ता खटाउँछन् आकर्षक ‘कमिसन’ र बोनस समेत दिन्छन् । तर, यही उच्च कमिसनको लोभमा एजेन्टहरूले ग्राहकहरूलाई गलत जानकारी दिने, अनावश्यक बीमा पोलिसी बिक्री गर्ने र ग्राहकको आवश्यकता नबुझी पोलिसी थोपर्ने गरेको गुनासो बढ्दो छ ।
नेपाल बीमा प्राधिकरणले यस्ता गतिविधिमाथि निगरानी राख्ने बताए पनि प्रभावकारी नियमनको अभाव देखिन्छ । यस्तो गतिविधिले दक्ष अभिकर्ताहरूको दक्षतामा पनि ठुलो असर परेको हुन्छ । यस्ता, रणनीतिहरूले छोटो समयमा बिक्री बढाउन सहयोग गरे पनि ग्राहकको हितमा ध्यान नदिँदा कम्पनीहरूको प्रतिष्ठा र बजार हिस्सा दुवै जोखिममा पर्न सक्छ ।
बीमा विज्ञ रविन्द्र घिमिरेको अनुसार बीमा बजारमा यस्ता क्रियाकलापमाथि निगरानी नगर्दा धेरै प्रकार समस्या आइरहेको छ । उनी भन्छन्, ‘बीमा बजारमा सबै किसिमको लालचकै कारणले काम गर्ने अभिकर्ताहरूको पहिचान हुन आवश्यक छ । र, यसको लागि बीमा कम्पनी नियामक प्राधिकरणले यस्तो क्रियाकलापको लागि पहल गर्नुपर्छ ।’





About Us
प्रतिक्रिया