विराटनगरका हार्डवेयर व्यवसायी सौरभ कुमार वियानी कारागार चलान

१ अर्ब ३१ करोड ६४ लाख रुपैयाँ भ्याट छलेको आन्तरिक राजश्व कार्यालयको दाबी


विराटनगर – विराटनगर महानगरपालिका–७ का ३२ वर्षीय सौरभ कुमार वियानी १ अर्ब ३१ करोड ६४ लाख रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको आरोपमा मोरङ कारागार चलान भएका छन् । आन्तरिक राजस्व कार्यालय विराटनगरले उनलाई सोमबार पक्राउ गरी कारागार चलान गरिएको प्रमुख कर अधिकृत भुपाल शाक्यले जानकारी दिए । वियानीले विराटनगरको भट्टाचोकमा ‘न्यू सौरभ ट्रेडिङरबियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्वल’ को नामबाट चारवटा सटरमा हार्डवेयर पसल संचालन गर्दै आएका थिए ।

उनीमाथि भ्याट छलेको कसुरमा आन्तरिक राजश्व प्रशासनले लामो अनुसन्धानपछि भ्याट छलिमा संलग्नता रहेको निश्कर्षमा पुगेको थियो । आन्तरिक राजश्व कार्यालयले हार्डवेयर व्यवसायी वियानीले उक्त फर्मको नामबाट कारोबार गर्ने क्रममा कुल १ अर्ब ३१ करोड ६४ लाख १८ हजार ५६४ रुपैयाँ भ्याट छलेको भन्दै सोही रकम बराबरको हुन आउने रकम धरौटी बुझाउन आदेश दिएको थियो।

तर वियानीले उक्त धरौटी बुझाउन नसकेपछि सोमबार थुनुवा पूर्जी दिएर मोरङ कारागारमा थुनामा राख्न पठाइएको आन्तरिक राजश्व कार्यालय विराटनगरका कर अधिकृत भवानी प्रसाद दाहालले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत शाक्यले भ्याट छलिको कसुरमा पक्राउ परेका वियानीलाई अनुसन्धानका लागि आन्तरिक राजश्व विभागका महानिर्देशकको समेत स्वीकृति लिएर थुनामा पठाइएको बताए ।

पक्राउ परेपछि धरौटी वापत नगद वा जेथा जमानी बुझाउन आदेश दिइएपनि धरौटी बुझाउन नसकेपछि कार्यालयले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २३(घ) बमोजिम अर्को आदेश नभएसम्मका लागि बियानीलाई थुनामा राख्न कारागार कार्यालय मोरङलाई पत्राचार गरेको जनाइएको छ ।