काेशी प्रदेश

विराटनगर महानगरको बजेट ४ अर्ब ४० लाख, जेठसम्मको यथार्थ आय भने ६५ प्रतिशतमात्रै


विराटनगर – विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको आम्दानीमा ठुलो संकुचन देखाएर आगामी आवका लागि भने महत्वकांक्षी बजेट ल्याएको छ । पूर्वाधार विकासमा उच्च प्राथमिकता दिंदै महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँको बजेट अनुमान नगर सभामा प्रस्तुत गरेको छ । महानगरपालिकाको मंगलबार आयोजित १६ औं नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले नीति तथा कार्यक्रम र बजेट अनुमान प्रस्तुत गरेकी हुन् । उनले नीति तथा कार्यक्रम र बजेटमार्फत महानगरको पूर्वाधार विकास र वडास्तरीय योजना कार्यन्वयनमा जोड दिइएको बताइन् ।

चालु आव २०८१–८२ मा महानगरपालिकाले ३ अर्ब ४९ करोड १८ लाख ८६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । तर, उक्त बजेट कार्यन्वयनका लागि जेठ मसान्तसम्मको संशोधित कुल ३ अर्ब ५० करोड ३० लाख ८६ हजार अनुमान आय हुने अनुमान गरिएपनि २ अर्ब २६ करोड ३५ लाख २३ हजार २ सय ७ रुपैयाँ अर्थात ६५ प्रतिशत मात्रै यथार्थ आय भएको जनाइएको छ ।

आम्दानी नै घटेको अवस्थामा महानगरपालिकाले आयको दोब्बर बढाएर आगामी आवको लागि महत्वाकांक्षी बजेट प्रस्तुत गरेको हो । चालु आवको भन्दा ५० करोड बढाएर महानगरपालिकाको आगामी आवको बजेट नगर सभामा प्रस्तुत गरिएको हो । उक्त बजेट कार्यन्वयन गर्न आयतर्फ वित्तीय समानीकरण अनुदानबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँडबाट १ अर्ब १९ करोड २० लाख ३ हजार, आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड, संघीय सरकारबाट सशर्त र समपुरक अनुदान ८३ करोड ३४ लाख, प्रदेश सरकारको सशर्त अनुदानबाट ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख, अन्य संघ संस्थाबाट १६ लाख र चालु आवको मौज्दात १४ करोड प्राप्त हुने अनुमान प्रस्तुत गरिएको हो ।

खर्चतर्फ संचित कोषबाट विनियोजन हुने गरी १९ वटा वडा कार्यालयमा चालु तथा पूँजीगततर्फ कुल ४३ करोड ५६ लाख ३२ हजार रुपैयाँ छुट्याइएको छ। महानगरपालिकाको कार्यालयका लागि चालु तथा पूँजीगततर्फ २ अर्ब ६९ करोड २६ लाख १ हजार रुपैयाँ खर्चको अनुमान छुट्याइएको छ । त्यस्तै संघ र प्रदेशबाट हस्तान्तरित शसर्त र समपुरकतर्फका योजना कार्यन्वयनका लागि ८७ करोड ५७ लाख ६७ हजार रुपैयाँ छुट्याइएको हो । महानगरपालिका कार्यालय संचालन तथा प्रशासनिक खर्च ६४ करोड ७५ लाख, ऋणको सावाव्याज तिर्न ५ करोड, चालु आवको भुक्तानी बाँकीका लागि ८ करोड खर्च हुने अनुमान गरिएको छ ।

महानगरपालिकाले सडक बोर्डबाट संचालन हुने योजनामा १ करोड ५० लाख र नगरस्तरीय अन्य योजनामा ६४ करोड ६१ लाख १ हजार गरी भौतिक पूर्वाधार विकासतर्फ सवैभन्दा बढी १ अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै शैक्षिक विकासका लागि ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्य क्षेत्रमा १५ करोड ३५ लाख, महिला लक्षित कार्यक्रमका लागि ९१ लाख, संघसंस्थाका लागि ५ करोड ५ लाख छुट्याइएको छ ।

आर्थिक विकासतर्फ २ करोड ९६ लाख २५ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनका लागि ३ करोड १० लाख, सुशासन तथा संस्थागत विकासका लागि ३ करोड ३० लाख छुट्याइएको उल्लेख छ । महानगरपालिकाले नगरका विभिन्न सडक मर्मत सम्भारका लागि १० करोड, फोहोरपानी प्रशोधन केन्द्रका लागि २ करोड ६० लाख, विद्युतीकरणमा २ करोड, सडक पुर्वाधार तथा बस्ती विकासमा १० करोड २७ लाख १२ हजार विनियोजन गरेको छ ।