कुमारी सुनौलो लगानी योजनाको इकाई आजदेखि निष्कासन तथा विक्री खुला 

कुमारी सुनौलो लगानी योजनाको इकाई आजदेखि निष्कासन तथा विक्री खुला 


बैंकिङ्ग समाचार, काठमाडौं ।

कुमारी क्यापिटल लिमिटेडले आज अर्थात् बिहीवारदेखि कुमारी सुनौलो लगानी योजनाको इकाई निष्कासन तथा विक्री खुला गरेको छ । उक्त योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्कासन गरेको हो ।

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडका अनुसार हाल ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई सार्वजनिक निष्काशनमार्फत बिक्री गरिनेछ भने बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरीदविक्री गरिने छ ।

साथै योजनाले १ करोड ५० लाख इकाई कोष प्रबर्द्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याएको छ। सर्वसाधारण लगानीकर्ताले भने बाँकी ३ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा चैत १३ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि चैत २३ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने उक्त योजना खुलामुखि योजना हो। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती  पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

म्युचुअल फण्ड निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले योजना व्यवस्थापकलाई इक्राएनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ। यसले क्यापिटलको व्यवस्थापन गुणता पर्याप्त मात्रमा आस्वस्थ हुन सकिने संकेत गर्दछ। त्यसैगरी, कोष प्रबर्द्धकलाई इक्रा नेपालले इक्रा एनपि इस्यूअर रेटिङ त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले इस्यूअरमा मध्यम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ।