विराटनगर – देशभरका ११ वटा उपमहानगरपालिकामध्ये इटहरी उपमहानगरपालिकाको बेरुजु सबैभन्दा उच्च देखिएको छ। महालेखा परीक्षण प्रतिवेदनले आर्थिक वर्ष २०८०/८१ मा १६ करोड २१ लाख १३ हजार रुपैयाँ बेरुजु थपिएर १ अर्ब २६ करोड ९१ लाख ६७ हजार ५७८ रुपैयाँ पुगेको जनाइएको छ । जसमध्ये असुल गर्नुपर्ने ५४ लाख १३ हजार ८४९ रुपैयाँ र अनियमित बेरुजु ५४ लाख ९२ हजार ४९० रूपैयाँ रहेको छ । त्यस्तै, प्रमाण पेस गर्नुपर्ने बेरुजु ६ करोड ७९ लाख १३ लाख ६६५ रूपैयाँ रहेको छ । इटहरीमा आव २०७९र८० सम्म १ अर्ब १० करोड ७० लाख ५५ हजार रूपैयाँ बेरुजु कायम रहेको थियो ।
इटहरीमा कोशी प्रदेशको एक मात्र महानगर विराटनगरको भन्दा चार गुणा धेरै बेरुजु कायम भएको छ । विराटनगरमा बेरुजु रकम ४ करोड ६८ लाख ४० हजार रहेको छ । यो रकम इटहरी उपमहानगरपालिकाको भन्दा ३१ करोड ५२ लाख ८८ हजार रुपैयाँ कम हो । विराटनगरले गत आवमा मात्रै २० करोड बेरुजु घटाएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखाका अनुसार इटहरीमा भने आर्थिक वर्ष २०७९/८० मा मात्रै २१ करोड ८७ लाख ४ हजार बेरुजु थपिएको थियो । उक्त आवमा ८८ करोड ८३ लाख ५२ हजार रुपैयाँ बेरुजु रहेकोमा बेरुजु फछ्र्यौट हुनुको साटो थपिंदै जाँदा अहिले १ अर्ब १० करोड ७० लाख ५५ हजार पुगेको हो ।
कोशी प्रदेशमा इटहरी र धरान गरी दुईवटा उपमहानगरपालिका रहेका छन् । जसअनुसार धरानमा पनि बेरुजु घटेको छैन। आव २०८०/८१ मा १६ करोड रुपैयाँ रहेको धरानको बेरुजु बढ्दै जाँदा अहिले ४१ करोड ९६ लाख ७४ हजार पुगेको महालेखाले जनाएको छ । देशभरका ११ वटा उपमहानगरपालिका रहेका छन् ।
महालेखाका अनुसार आव २०८०/८१ मा बुटवलमा सबैभन्दा कम बेरुजु देखिएको हो । बुटवलको बेरुजु ३ लाख ३८ हजार रूपैयाँमात्रै रहेको जनाइएको छ । इटहरीपछि मधेश प्रदेशको राजधानी जनकपुरस्थित जनकपुरधाम उपमहानगरपालिकाको बेरुजु पनि १ अर्बभन्दा नाघेको छ । इटहरीमा भने आव २०८०/८१ मा बेरुजु फछ्र्यौट शून्य रहेको जनाइएको छ । सुनसरीको धरान उपमहानगरपालिकामा आर्थिक वर्ष ८०/८१ मा ८ करोड ७६ लाख ९७ हजार रूपैयाँ बेरुजु थपिएको छ ।
योसँगै धरानको कुल बेरुजु ४१ करोड ९६ लाख ७३ हजार ५९७ रूपैयाँ पुगेको छ । धरानले १ करोड ६७ लाख २६ हजार रूपैयाँ फछ्र्यौट पनि गरेको महालेखाले जनाएको छ । महालेखाका अनुसार धरानमा ८५ लाख ३८ हजार रूपैयाँ असुल उपर गर्नुपर्ने बेरुजु छ । त्यस्तै, ३ करोड १४ लाख ९९ को कागजात पेस गर्नुपर्ने र २ करोड ३२ लाख ५१ हजार रूपैयाँ नियमित गर्नुपर्ने बेरुजु रहेको जनाइएको छ । इटहरी र धरान दुवै उपमहानगरपालिकामा जनप्रतिनिधि राजनीतिक रुपमा विभाजित हुँदा उनीहरूबीच तीब्र विवाद हुँदै आएको छ । सोही कारण दुवै उपमहानगरपालिकामा आर्थिक अनुशासन समेत कमजोर बन्दै गएको बुझाई नगरबासीको छ ।
प्रतिक्रिया