एलिट क्यापिटलले पायो मर्चेन्ट बैंकरको लाइसेन्स, धितोपत्र सम्बन्धी विभिन्न ४ सेवाहरु दिने

एलिट क्यापिटलले पायो मर्चेन्ट बैंकरको लाइसेन्स, धितोपत्र सम्बन्धी विभिन्न ४ सेवाहरु दिने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले एलिट क्यापिटललाई धितोपत्र व्यवसायी अर्थात मर्चेन्ट बैंकरको लाईसेन्स प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले चैत १ गते क्यापिटललाई मर्चेन्ट बैंकरको लाइसेन्स प्रदान गरेको हो ।

गतबर्ष नै पुँजी बजारका सकृय लगानीकर्ताहरु र गैरआवासिय नेपालीहरुको लगानीमा स्थापित यस संस्थाले कान्छो मर्चेन्ट बैंकरको रुपमा लाइसेन्स प्राप्त गरेको धितोपत्र बोर्डले जनाएको छ ।

बोर्डले एलिट क्यापिटललाई अन्य मर्चेन्ट बैंकरहरूले जसरी नै व्यक्तिगत तथा संस्थागत लगानी व्यवस्थापन, कर्पोरेट एडभाइजरी, धितोपत्र प्रत्याभूति (अण्डरराइटिङ) र डीपी सेवा प्रदान गर्ने गरी लाइसेन्स दिएको बताएको छ । 

आगामी दिनमा क्यापिटलले प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल र सामूहिक लगानी कोष योजना व्यवस्थापनका लागि पनि काम गर्ने क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले जानकारी दिएका छन् ।

बोर्डले लाइसेन्स दिएसँगै आगामी साताभित्र औपचारिक रूपमा सेवा सुचारु गर्ने जानकारी कार्यकारी अध्यक्ष आचार्यको भनाइ छ । रू. २२ करोड ५० लाख चुक्तापूँजी रहेको एलिट क्यापिटलमा धितोपत्र बजारका सक्रिय लगानीकर्ता र गैर आवासीय नेपालीहरूको लगानी रहेको छ । व्यवसायिक व्यक्ति तथा संस्थाहरुको लगानी र दक्ष व्यवस्थापनमार्फत कारोवार शुरु गरेको एलिट क्यापिटलले बजारमा चलिरहेको भन्दा आकर्षक स्किमहरु ल्याउने जनाएको छ ।

उनका अनुसार क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाट उत्तरढोका, काठमाडौंस्थित मेट्रो पार्कमा रहनेछ । एलिट क्यापिटल मर्चेन्ट बैंकरको रूपमा थपिएसँगै मर्चेन्ट बैंकरको संख्या ३१ पुगेको छ ।