बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको बताएका छन् ।
नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त रुपमा आयोजना गरेको नेपाल–चाइना बिजनेस फोरम २०२३ लाई सम्बोधन गर्नुहुँदै उनले जनशक्तिको सहज उपलब्धता, परिमार्जित श्रम कानुन र सुधारिएको औद्योगिक सम्बन्धलगायतका कारणले गर्दा नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको प्रधानमन्त्रीले जानकारी दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानीकर्ताले भोग्दै आएका झन्झट हटाउन एकल विन्दु सेवा सुरु गर्ने र त्यसलाई थप प्रभावकारी बनाउने घोषणा गरेका छन् ।
सरकारले विदेशी लगानीकर्तालाई तत्कालै सबै प्रकारका सेवा एउटै विन्दुबाट प्राप्त गर्ने अवस्था सिर्जना गर्ने उनको भनाइ छ । ‘हामीलाई पूर्वाधार विकास गर्न ठूलो लगानी र नयाँ प्रविधिको आवश्यकता छ,’ दाहालले भने, ‘चीनले हाम्रो उक्त आवश्यकता पूरा गर्न सहयोग गर्छ भन्ने विश्वास छ । हामी पनि विदेशी लगानीकर्तालाई सहज हुनेगरी वातावरण बनाउन प्रतिबद्ध छौं ।’
केही वर्षमा नेपाल र चीन बीच जनस्तरमा बलियो सम्बन्ध बन्दै जानु सकारात्मक भएको दाहालले बताए । ‘चीनबाट प्रतिबद्धताअनुसार लगानी आएको छैन । हाम्रो कारणले लगानी आउन समस्या भएको हो, त्यस्ता समस्या समाधानका लागि सरकार प्रतिबद्ध छ,’ उनले भने ।
दुई देशबीच व्यावसायिक सम्भावना खोज्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने प्रधानमन्त्रीले बताए । नेपालबाट निर्यात हुने तरकारी, चिया मासु, आयुर्वेदिक औषधी जस्ता उत्पादनलाई सहजै चीनमा निर्यात गर्ने गरी सुविधा दिन दाहालले आग्रह गरे । ‘त्यसले व्यापार घाटा कम गर्न महत्पूर्ण योगदान दिनेछ,’ उनले भने ।
नेपालमा लगानीका लागि जलविद्युत्, औद्योगिक उत्पादन, पूर्वाधार विकास, पर्यटन, कृषि, खनिज, खानीलगायतका क्षेत्र रहेको जानकारी दिए । कोभिड महामारीपछि मुलुकको अर्थतन्त्र क्रमशः सुधार हुँदै गएको जानकारी दिँदै प्रधानमन्त्रीले चुनौती अझै कायम रहेको बताए ।
आर्थिक साझेदारी अभिवृद्धिका लागि सीमापार सम्पर्क सञ्जालको विस्तारका लागि नेपाल–चीन सीमानाका पूर्वाधारमा सुधार, सीमा नाकामा परीक्षणलगायतका पूर्ण सुविधा सम्पन्न प्रयोगशाला स्थापना गर्ने, थप बन्दरगाह निर्माणलाई तीव्रता दिएको प्रधानमन्त्रीको भनाइ छ ।
कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुप्रसाद अग्रवालले यस्ता फोरमले दुई देशका व्यवसायीबीच समस्या समाधान र आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपीआईटी) का उपाध्यक्ष चाङ साओहाङले चीन नेपालको चीनको असल भएको उल्लेख गर्दै नेपालबाट हुने निर्यात हुने ९८ प्रतिशत वस्तुमा चीनले कर छुट दिएको बताए ।
नेपालको निर्यात बढाउन आफूहरुले सहयोग गरेको उल्लेख गर्दै उनले चीनका पर्यटक पनि नेपाल भ्रमण गर्नसक्ने र त्यसले नेपालको अर्थतन्त्र विस्तार गर्न सहयोग पुग्ने स्पष्ट पारे ।
नेपालका लागि चीनका राजदूत छेन साङले नेपाललाई पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालका लागि चीनका राजदूत चेन साङले अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भइरहेको नेपाललाई पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया