कोशी प्रदेशः

४४.४ प्रतिशत कर्जा प्रवाह मोरङमा, साढे ३८ लाखको पहुँचमा मोबाइल बैंकिङ्ग


विराटनगर –  आर्थिक वर्ष २०८१/८२ को चैतसम्मको तथ्यांक अनुसार कोशी प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट ५ खर्ब ७७ अर्ब ७० करोड कर्जा प्रवाह भएकोमा सबैभन्दा बढी मोरङ जिल्लामा ४४ दशमलव ४ प्रतिशत कर्जा प्रवाह भएको छ । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण अनुसार ताप्लेजुङमा सबैभन्दा कम कर्जा प्रवाह भएको हो ।

ताप्लेजुङमा शून्य दशमलव ४ प्रतिशत कर्जा प्रवाह भएको जनाइएको छ । कुल कर्जाको ८८ दशमलव ९ प्रतिशत हिस्सा मोरङ, झापा र सुनसरीले ओगटेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यी तीन जिल्लामा ९० प्रतिशत कर्जा रकम प्रवाह भएको उल्लेख छ । कोशी प्रदेशमा बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन तथा कर्जा प्रवाह बढेको छ ।

२०८० को चैतसम्म २ लाख ५४ हजार ४९५ ऋणी रहेकोमा २०८१ को चैतसम्म ऋणीको संख्या ३  लाख ६ हजार ४३३ पुगेको छ। कोशी प्रदेशमा २०८१ चैतसम्म २४ अर्ब २३ करोड ६८ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ । कुल सहुलियत कर्जाको ९९ दशमलव ३ प्रतिशत रकम व्यावसायिक कृषि तथा पशुपक्षी कर्जाले ओगटेको छ । यस्तो कर्जा लिने ऋणीको संख्या ६ हजार ३१० जना रहेका छन् । कोशी प्रदेशमा ९ हजार ९२२ जना महिलाले सहुलियतपूर्ण कर्जा अन्तरगत महिला उद्यमशीलता कर्जा लिएका छन् ।

२३१ जना बिना धितो ऋण लिने छन् । ४ जनाले शिक्षित युवा स्वरोजगार कर्जा प्राप्त गरेका छन् । उच्च तथा प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा पाउने ५ जना छन् । विदेशबाट फर्किएका युवालाई कर्जा कार्यक्रम अन्तरगत १३३ जनाले कर्जा लिएका छन् ।

४ जनाले भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा लिएका छन् । २०८१ चैतसम्म कोशी प्रदेशका बैंक तथा वित्तीय संस्थाले ५ खर्ब ११ अर्ब ५ करोड निक्षेप संकलन गरेकोमा आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म प्रदेशमा कुल सङ्कलित निक्षेपमध्ये मोरङमै सबैभन्दा बढी ३१ दशमलव २ प्रतिशत रहेको छ ।

मोरङ, झापा र सुनसरीमा सङ्कलित निक्षेपको हिस्सा कुल निक्षेपको ७६ दशमलव ७ प्रतिशत रहेको जनाइएको छ । तेह्रथुमबाट सबैभन्दा कम १ दशमलव ३ प्रतिशत निक्षेप संकलन भएको प्रदेश सरकारको आर्थिक सर्वेक्षणमा उल्लेख छ । कोशी प्रदेशमा सबै १३७ वटा स्थानीय तहमा वाणिज्य बैंक पुगेका छ । बैंक खाताको संख्या ७९ लाख ४९ हजार ४ सय ३७ रहेको छ । जसमध्ये बचत खाता हिस्सा ८९ दशमलव ४ रहेको मध्ये सक्रिय बचत खाता ७१ दशमलव १ रहेको जनाइएको छ । सक्रिय बचत खाता मध्ये ४५ दशमलव ६ प्रतिशत महिलाको खाता रहेका छन् ।

साढे ३८ लाखको पहुँचमा मोबाइल बैंकिङ्ग

इन्टरनेटको पहुँच विस्तार हुँदा कोशी प्रदेशमा मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवा लिनेको संख्या बढ्दै गएको छ । कोशी प्रदेशमा आर्थिक वर्ष २०७६/७७ मा १६ लाख ११ हजारले मोबाइल तथा इन्टरनेटमा आधारित बैंकिङ्ग सेवा लिएकोमा आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म दोब्बर वृद्धि भएर ३८ लाख ५८ हजार पुगेको छ ।

प्रयोगमा आएका एटिएम मेसिनको संख्या ६९१ रहेको छ । २०८१ सम्म कोशी प्रदेशभित्रका बैंक तथा वित्तीय संस्थाले १९ लाख १० हजार २३४ वटा डेविट कार्ड तथा ३५ हजार ४६९ वटा क्रेडिट कार्ड जारी गरेको जनाइएको छ । कोशीका १४ जिल्ला मध्ये धनकुटामा प्रति शाखा सेवा प्रवाह प्राप्त गर्ने जनसंख्या १ हजार ७९३ रहेको छ ।

जिल्लाको जनसंख्याको आधारमा खोटाङमा सबैभन्दा बढी ३ हजार ५७८ जनाले प्रति शाखा सेवा प्राप्त गरेको जनाइएको छ । २०८१ चैतसम्मको तथ्यांक अनुसार कोशी प्रदेशमा वाणिज्य बैंकका शाखा संख्या ७६२ रहेको छ । १९५ विकास बैंक, ३६ वटा वित्त कम्पनी र ८५२ वटा लघुवित्त शाखाले वित्तीय कारोबार गर्दै आएका छन् । कुल बैंक तथा वित्तीय संस्थाको संख्या १ हजार ८४५ पुगेको जनाइएको छ ।