कतै नेपालमा भित्रिरहेको रेमिट्यान्स ‘डच डिजिज’ त होइन ?

कतै नेपालमा भित्रिरहेको रेमिट्यान्स ‘डच डिजिज’ त होइन ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भावना अवस्थी, काठमाडौं । 
नेपालको अर्थतन्त्रको कुरा गर्दा अहिले १ नम्बर, २ नम्बर, ३ नम्बर जे भनेपनि रेमिट्यान्स नै हो । रेमिटेन्स नेपालको यस्तो आम्दानी हो जसले विदेशी मुद्रा कमाउन सकिन्छ । यसभन्दा बाहिर उठेर हेर्ने हो भने अलिकति विदेशी विनिमय सञ्चिति बढाउने भनेको पर्यटन क्षेत्र हो । तर यो पनि विगतको कोभिड–१९ का  कारण ठप्प छ । तर अत्याधिक मात्रामा रेमिट्यान्स आउने, विदेशी मुद्रामा चाप पर्ने तर आयात भने नघट्ने हुँदा अर्थतन्त्रमा चौतर्फी दबाव सिर्जना हुन थालेको विज्ञहरू बताउँछन् ।
\"\"
के अत्याधिक मात्रामा रेमिटेन्स आइरहनु मुलुकको लागि राम्रो कुरा हो ? अहिले तत्कालको लागि त ठिक छ तर दिर्घकालिन रुपमा यसले ‘डच डिजिज’ को स्वरुप लिनसक्ने विज्ञहरु बताउँछन । त्यसो त यो ‘डच डिजिज’ भनेको के हो ? अर्थविद्ध एवंम प्रोफेसर डा. रघुविर विष्ट भन्छन, ‘हामीकहाँ पनि एउटै क्षेत्रमा निर्भर हुँदा देखा पर्ने ‘डच डिजिज’ छ । अहिले तत्काल रेमिट्यान्स बन्द भयो भने अर्थतन्त्र धराशायी हुनसक्छ ।’ कृषिको आधुनिकीकरण हुन नसक्दा, आवश्यक रुपमा रोजगार सिर्जना हुन नसक्दा वैदेशिक रोजगार मौलाएको छ । यसले हामीलाई दिर्घकालिन रुपमा गम्भिर असर गर्नसक्ने विष्ट बताउँछन । 

 ‘डच डिजिज’ भनेको के हो ?

सन् १९५९ मा नेदरल्यान्ड्समा एउटा प्राकृतिक ग्यास भण्डार फेला परेपछि उक्त देशमा उत्पादनमूलक क्षेत्र खुम्चिएको घटनालाई अर्थतन्त्रमा कुनै एक क्षेत्रमा ज्यादा निर्भर हुँदा अन्यत्र असर पर्ने रूपमा ‘डच डिजिज’ भनेर व्याख्या गर्ने चलन छ । रेमिट्यान्समा ‘डच डिजिज’को प्रभाव विभिन्न च्यानलहरूमा कारण हुनसक्छ ।

विशुद्ध रूपमा आय स्थानान्तरण भएकोले, रेमिट्यान्सले व्यापारयोग्य र गैर–व्यापारयोग्य वस्तुहरूको उपभोग बढाउन खर्च प्रभाव पार्न सक्छ । त्यसैले पहिलेदेखि नै विभिन्न अर्थशात्रीहरुले एउटै क्षेत्रमा अत्यधिक निर्भरता ठिक होइन भन्दै आइरहेका छन । नेपाल सरकारका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे भन्छन, ‘प्राकृतिक स्रोतमा निर्भर हुँदा भविष्यमा यसले अर्थतन्त्रमा नराम्रो असर पर्ने ‘डच डिजिज’ जस्तै स्थिति रेमिट्यान्सले यहाँ ल्याउन सक्छ ।’

अर्का अर्थविद्ध डा. चन्द्रमणि अधिकारी भन्छन, ‘ सधैँभरी रेमिटेन्समै निर्भर हुनु भनेको सोझै हामी अन्य मुलुकको अर्थतन्त्रमा निर्भर भएको जस्तै हो।’ उनको भनाइमा पूर्व अर्थ सचिव रामेश्वर खनाल पनि सहमत छन्। खनाल भन्छन, ‘ कृषि तथा साना–मझौला उद्योगहरुको विकास गर्न नसक्नु हाम्रो मुलुकको ठुलो विडम्वना हो । कृषिको आधुनिकीकरण हुन नसक्दा वैदेशिक रोजगारमा आकर्षण बढेको छ । यो कालान्तरको लागि राम्रो होइन ।’ 

‘डच डिजिज’ र वैदेशिक रोजगारी 

मुलुकमा पर्याप्त रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीप्रति आकर्षण बढीरहेको छ । देशमा जनतालाई काम गर्ने वातावरण छैन । लाखौं नेपाली विदेशमा श्रम बेचिरहेका छन् । कोभिड–१९ का बेला विदेश जाने प्रवृत्तिमा केही कमी आएपनि हाल वैदेशिक रोजगारीमा जानेको संख्या दिनानुदिन बढिरहेको छ । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्यामा व्यापक वृद्धि भएको छ । 

यो पनि 

आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ३५ लाख ४ हजार ८ सय बढी ,पुनः श्रम स्वीकृति लिनेकोे संख्या २८लाख १ हजार २ सय बढीे र वैदेशिक रोजगारमा जानेहरूको संख्या ६ लाख ३६ हजार बढी पुगेको श्रम मन्त्रालयलको तंथ्याकमा देखिन्छ  । 

विगतमा रोजगारीको प्रमुख गन्तव्य मुलुकहरूमा खाडी मुलुकहरू रहने गरेको भएपनि हाल गन्तव्य मुलुकहरूमा विविधता आई जापान संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, इजरायल तथा युरोपियन देश जस्ता विकसित मुलुकहरूमा समेत नेपालीहरू उल्लेख्य मात्रामा जाने क्रम बढेको छ । 
\"\"
रेमिट्यान्स मार्फत आफ्नो कमाइ देशमा पठाएकाले देशको अर्थतन्त्र चलिरहेको छ । तत्कालै फाइदा भएको देखिए पनि लामो समयदेखि अरुको भर पर्ने वातावरण सिर्जना हुँदै आएको छ । यो अवस्थाले देशलाई दिनप्रतिदिन परनिर्भर बनाउँदै लगेको छ । 

रेमिटेन्सको निर्भरतालाई तंथ्याकमा हेर्दा 

नेपालमा रेमिट्यान्सको निर्भरता हरेक बर्ष बढ्दो क्रममा भएको देखिन्छ । आर्थिक वर्ष २०७८÷७९ मा रेमिट्यान्स आप्रवाह १० खर्ब ७  अर्ब ३१ करोड रहेको छ । अघिल्लो वर्ष रेमिटेन्स आप्रवाह ९.८ प्रतिशतले बढेको थियो ।  विगत दश वर्षमा नेपालको रेमिट्यान्स कम्तीमा पनि वार्षिक ६ प्रतिशतले बढ्दै आएको छ । बढीमा वार्षिक रेमिट्यान्स नौ–दस प्रतिशतसम्म बढेको छ ।
\"\"
परनिर्भर बन्दै मुलुक

नेपालमा उत्पादन व्यापक सम्भावना रहेको र यसलाई अवसरका रूपमा लिनुपर्ने विज्ञहरू बताउँछन् ।

वस्तु निर्यात गरेर क्षमता विकास गर्न नसक्नु युवा जनशत्ति बाहीरीनु र रेमिट्यान्समा निर्भर हुनु देशका लागी गम्भिर समस्या भएको पूर्व अर्थसचिव रामेश्वर खनाल बताउँछन। उनी भन्छन, ‘नेपालमा वातावरण सिर्जना गर्नुपर्छ । देशमा काम गर्ने वातावरण नभएरै युवाहरुमा नैराश्यता आएको र विदेशिने गरेका छन् । युवाहरुलाई  आर्थिक कारोबार गर्न सहज बनाएर व्यवसाय गर्न सहज वातावरण बनाए, युवा जनशत्तिले देशमै रोजगारी पाए भने रेमिटेन्समा निर्भर हुनुपर्दैन ।’ 

नेपालको अर्थतन्त्रलाई रेमिट्यान्सले धान्दासम्मको अवस्थामा मात्र व्यापारले दैनिक जनजीवन सहज गराउने र अवस्था गम्भिर नहुँदै  उद्योग स्थापना गरेमा भविष्य सहज हुने खनाल बताउँछन ।  अर्थशास्त्री दिपेन्द्र बहादुर क्षत्रीले रेमिट्यान्सले परनिर्भता बढाएसँगै देशको श्रमशक्ती गुमाएको बताउँछन । उनी भन्छन, ‘तत्कालका लागि आम्दानी देखिएको भएपनि त्यती आम्दानी गर्नका लागि मुलुकले निकै नोक्सान ब्यहोरेको छ । मुलुकले आफ्नो श्रमशक्ति गुमाएको छ ।’   कृषि प्रशोधन क्षेत्रमा सम्भावना व्यापक रहेको रेमिट्यान्स पठाउने जनशक्तिलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रतर्फ अग्रसर बनाउनसके आन्तरिक उत्पादन बढाउन सकिने र यस्ता कुराहरुमा ध्यान दिनुपर्ने क्षत्रीले बताएका छन् ।
\"\"
देश परनिर्भर हुने क्रम बढ्दो अनुपातमा छ । रेमिट्यान्सले यहाँका प्राकृतिक स्रोत साधनको सदुपयोग हुनबाट बञ्चित गरेको छ । घरघरबाट स्वरोजगारी छिनेको छ । उत्पादन दिन प्रतिदिन घट्ने क्रम जारी छ । उत्पादनमुलक क्षेत्रमा गर्नुपर्ने लगानी घर घडेरीको नाममा अचल सम्पत्तिमा फसेको छ । वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स नेपाली अर्थतन्त्रको मेरुदण्ड हो । बैंकिङ्ग क्षेत्रको साधन परिचालनमा यसले महत्वपूर्ण योगदान पुर्याएको छ । निक्षेपको मुख्य स्रोत नै रेमिट्यान्स बनेको छ । व्यवसाय, उद्योग, कलकारखाना सबैको मुख्य स्रोत रेमिट्यान्स बनेको छ । रेमिट्यान्सको दर क्रमशः बढ्दै गएको छ । छोटो अवधिको लागि भएपनि नेपालमा अवसरहरूको अभाव र राष्ट्रिय अर्थतन्त्रमा यसको प्रभाव सकारात्मक छ । यसले आर्थिक वृद्धिमा पनि सकारात्मक योगदान दिएको छ । यो तत्काल हेर्दा राम्रो देखिए पनि अर्थतन्त्रको दीर्घकालीन स्वास्थ्यका लागि गम्भीर समस्या हो ।

यो पनि 

रेमिट्यान्सले दीर्घकालीन आर्थिक चुनौतिहरूलाई समाधान गर्नुको सट्टा जटिल बनाइरहेको छ । रेमिट्यान्सले नेपाली अर्थतन्त्रमा सकारात्मक योगदान  दिएको देखिए पनि प्रतिस्पर्धात्मकतालाई कमजोर बनाएको छ ।  बढ्दो निर्भरता, आयातमुखी अर्थतन्त्रको विकास, दिगो आर्थिक विकासमा अवरोधहरू, देशलाई आवश्यक जनशक्तिको पलायन, मुद्रास्फीतिमा वृद्धि, आन्तरिक बसाइसराइ र जनसंख्या असन्तुलन ,अनुत्पादक क्षेत्रमा रेमिट्यान्सको लगानी विदेशबाट आउने रेमिट्यान्सको हिस्सा निकै ठूलो छ । पर्याप्त लगानी नहुँदा औद्योगिक क्षेत्र फस्टाउन सकेको छैन । मुलुकले उचित अवसर सिर्जना गर्न नसके पनि वैदेशिक रोजगारी उपयुक्त वैकल्पिक आधार बन्दै गएको तथ्यलाई नकार्न सकिदैन । 

रेमिट्यान्स नेपाली जनताका लागि वैकल्पिक आधार बने पनि यसले आत्मनिर्भर र दिगो अर्थतन्त्र निर्माण गर्न सक्दैन । निर्यातमुखी अर्थतन्त्र बढ्न नसकेसम्म परनिर्भरता कायम रहन्छ ।