वर्षेनी बढ्दैछ ‘हनी ट्र्याप’, सामाजिक सञ्जालको दुरुपयोगमार्फत करोडौँ ठग्दै

सामाजिक सञ्जालले गर्दैनन् प्रहरीलाई सहयोग, टेलिग्रामसँग हुँदैन सम्पर्क


काठमाडौं – कमजोर आर्थिक हैसियत र छोटो समयमा नै बिना मिहिनेत पैसा कमाउने अभिप्रायसहित वित्तीय अपराधमा संलग्नको संख्या बढ्न थालेको छ । धेरै वित्तीय अपराधमध्ये पछिल्लो समय ‘हनी ट्र्याप’ समेत बढ्न थालेको छ । विभिन्न व्यक्तिहरूलाई माया जालमा परेर ठगी गर्नेहरूको संख्या बढेसँगै मुलुकमा ‘हनी ट्र्याप’ बढ्दै गइरहेको हो ।

माया जालमा पारेर विभिन्न माध्यमहरूबाट ठगी गर्ने प्रक्रिया नै ‘हनी ट्र्याप’ हो । जसको माध्यमबाट हाल जुनसुकै उमेर समूहका व्यक्तिहरू फस्ने गर्छन् । माया गर्छु भनेर फसाई सकेपछि उनीहरू बीचको च्याट र भेटघाटको तस्बिरहरू अनि होटेल तथा कोठामा लगेर खिचिएका फोटोहरू देखाउँदै बार्गेनिङ गरिन्छ । ती फोटो देखाउँदै प्रहरीमा उजुरी गरिदिने वा सामाजिक सञ्जालमा छरपस्ट बनाइदिने धम्की सुरु हुन्छ ।

पछिल्लो समय धेरै घट्ने गरेपनि यस्ता घटनाहरू प्राय प्रहरीसम्म पुग्दैनन् । उनीहरूबीच नै कति रकम दिने लिने भनी समझदारी हुने गरेको प्रहरी नै बताउँछन् । सामाजिक सञ्जालहरूको माध्यमबाट पहिला गफिने र माया जालमा पारेर आफ्नो नाममा विभिन्न खाताहरू खोलेर बार्गेनिङ बढ्दो अवस्थामा छ । मान्छे नै राम्रोसँग नचिन्दा नचिन्दै विभिन्न प्रकारका बार्गेनिङ गरेर ठगी गर्ने क्रम बढेको साइबर ब्युरोका प्रवक्ता दीपक राज अवस्थी बताउँछन् ।

उनका अनुसार हाल ‘हनी ट्र्याप’को घटनामा श्रीमान नभएका नारीहरु, विभिन्न उमेर समूहका पुरुषहरू पर्ने गरेका छन् । ‘हनी ट्र्याप’का घटनामा ठुला पदका व्यक्ति, जुनसुकै उमेर समूहका महिला पुरुषहरू पर्ने गरेको उनले बताए । हाल छोटो समयमा नै यस्ता ठगहरूको विश्वासमा परेर लाखौँ करोडौँ रुपैयाँ उक्त ठगको खातामा वा आफूले उक्त ठगको लागि खोली दिएको खाताहरूमा ‘ट्रान्सफर’ हुँदै आइरहेको छ ।

यस्ता ठगी धेरैजसो टेलिग्राम नामक एपहरूमार्फत प्रयोग हुने गरेको उनले बताए । यसबाहेक, टिकटक, फेसबुक जस्ता एपहरूको माध्यमबाट समेत घट्ने गरेपछि यी कम्पनीहरूसँग प्रहरीले सहकार्य गरी अनुसन्धान गर्ने गरेको छ । तर, सबैभन्दा बढी ठगिने एप टेलिग्रामको डाटाहरू प्रहरीले प्राप्त गर्न नसकेको कारणले पनि यसका माध्यमबाट ‘हनी ट्र्याप’का घटनामाथि गहन अनुसन्धान हुन सकिरहेको छैन ।

‘हनी ट्र्याप’ हुने विभिन्न सामाजिक सञ्जालहरूले प्रहरीलाई तुरुन्त सहयोग नगर्दा प्रहरीले यस्ता घटनाका अभियोगीहरूलाई पक्राउ गर्न नसकिएको उनले बताए । त्यसैले गर्दा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू बढी सतर्क रहन आवश्यक रहेको अवस्थीले बताए । सामाजिक सञ्जाल प्रयोगकर्ताहरू नचिनेका व्यक्तिहरूसँग नबोल्ने र फोटोको आधारमा विश्वास नगर्दा यस्ता घटनाहरूमा कमी आउने प्रहरीको निष्कर्ष छ ।

‘अनलाइनमा गलत क्रियाकलाप नगरेमा नचिनेका व्यक्तिलाई आफ्नो खाताको विवरण नदिएमा ‘हनी ट्र्याप’का घटनामा कमी पक्कै पनि आउने छन्,’ उनले भने । आर्थिक वर्ष (आव) २०७५/२०७६ मा ‘हनी ट्र्याप’मा चार वटा घटेका थिए भने उक्त घटनामा ४ जना व्यक्तिहरू पक्राउ परेका थिए । आव २०७६/२०७७ मा यस्ता घटनाहरू भएका थिएनन् ।

आव २०७७/२०७८ मा चार वटा घटेका थिए भने उक्त घटनामा ११ जना पक्राउ परेका थिए । यसैगरी, २०७८/२०७९ मा एउटा घटना घटेको थियो भने र सो घटनामा संलग्न २ जना व्यक्ति पक्राउ थिए । तर, कोरोनापछि ‘हनी ट्र्याप’का घटनाहरूमा झनै बढ्न थालेको प्रहरीमा परेको उजुरीको तथ्यले खुलाएको छ ।

आव २०७९/२०८० मा पाँच वटा घटना घटेका थिए र ती घटनामा संलग्न १७ जना पक्राउ परेका थिए । यस्तै, २०८०/२०८१ मा ९ वटा उजुरी परेकोमा १९ जना अभियोगीहरू पक्राउ परेका थिए भने चालु आव २०८१ /२०८२ को वैशाखसम्ममा सात वटा ‘हनी ट्र्याप’का घटनाको उजुरी परेको छ भने ती घटनामा संलग्न १६ जना पक्राउ परिसकेका छन् ।