काठमाडौं – आगलागी जस्ता घटनाबाट प्रत्येक वर्ष अर्बौं रुपैयाँभन्दा बढीको जनधन जल्ने गरेको छ । प्रत्येक वर्षको आगलागीको क्षति आँकलन गर्ने हो भने अर्बौं रुपैयाँभन्दा बढीको धनजन जलेर नष्ट हुने गरेको हो । हिउँदे यामको सुरुवातसँगै चारैतर्फ सुख्खा र खडेरीका कारणले गर्दा आगलागीका भई हरेक वर्ष नेपालले ठुलो जनधन गुमाइरहेको छ । जंगली क्षेत्रमा आगलागीपछि नियन्त्रणका लागि अकासे पानी कै भर पर्नु पर्ने अवस्था छ ।
सरकारले प्रत्येक वर्ष आगलागी नियन्त्रणमा अर्बौं रुपैयाँ खर्च गरिरहेको तथ्याङ्क सार्वजनिक गर्छ । तर, त्यसको प्रतिफल प्रभावकारी देखिँदैन । आगलागी कहिले प्राकृतिक कारणले त कहिले मानवीय गल्ती कारणले हुने गर्छ । चालु आर्थिक वर्षको वैशाखसम्म मात्र १ अर्ब ९६ करोड ६० लाख बराबरको सम्पत्तिको नाश भएको प्रहरीले जनाएको छ । गत छ आर्थिक वर्षको अवधिमा १५ अर्ब ७३ करोड भन्दा बढी रकम बराबरको भौतिक सम्पत्ति जलेर नष्ट भएको तथ्याङ्क छ ।
पछिल्ला आर्थिक वर्षहरूमा आगलागी कारण क्षति हुने क्रम बढ्दोरुपमा छ । कतिपय आगलागी मानवीय लापरबाही, जानी जानी समेत हुन्छन् । यसबाहेक, प्राकृतिक कारण (चट्याङ्)ले गर्दा पनि आगलागी हुने गरेको छ । विपद् व्यवस्थापन कार्यालयको प्रहरी सहायक निरीक्षक रेजीना श्रेष्ठले आगलागी भएकामा के गर्न, कसरी निभाउने भनेर समय-समयमा जनचेतना मुलक कार्यक्रमहरू सञ्चालन गर्ने गरेको बताएकी छिन् ।
प्राय घरमा प्रयोग हुने ग्यासका कारणले गर्दा आगलागी हुने भएकाले ग्यासको माध्यमबाट हुने आगलागीलाई कसरी निभाउने भनेर सिकाउने गरिएको उनी बताउँछिन् । मुलुकमा आगलागीबाट घर गोठ, उद्योग, विद्यालय, सरकारी कार्यालय, पुल जस्ता भौतिक क्षति र पशु चौपाया जस्ता वस्तुहरूको नाश हुने गरेको प्रहरीले जनाएको छ ।
यस्ता घटनाहरू सर्वसाधारणले जुनसुकै वर्षमा पनि व्यर्होनुपर्ने हुन्छ । आव २०७६/२०७७ मा आगलागीका कारण चौपाया क्षति १०३२ वटा, घर क्षति ८१२ वटा, गोठ क्षति ३१३ वटा, उद्योग क्षति ४० वटा, विद्यालय क्षति ६ वटा, सरकारी कार्यालय क्षति ९ वटा र पुल क्षति १ वटा घटना घटेका थिए । जसले गर्दा २ अर्ब २१ करोड ५६ लाख बराबरको रकम क्षति भएको थियो ।
आव २०७७/२०७८ मा आगलागी कारण पशु चौपायाको मृत्यु १४६४ वटा, घर क्षति १२२७ वटा, गोठ क्षति ४८२ वटा, उद्योग क्षति ९ वटा, विद्यालय क्षति १वटा, सरकारी कार्यालय क्षति २ वटा घटना घटेका थिए । उक्त वर्ष आगलागीका कारण ४ अर्ब ७ करोड २० लाख रुपैयाँको सम्पत्ति नाश भएको थियो । आव २०७८/२०७९ मा आगलागी कारण पशु चौपायाको मृत्यु १२४९ वटा, घर क्षति ९५३ वटा, गोठ क्षति ३९२ वटा, उद्योग क्षति २६वटा, विद्यालय क्षति २ वटा, सरकारी कार्यालय क्षति २ वटा घटना घटेका थिए।
उक्त वर्ष आगलागीका कारण २ अर्ब ५१ करोड ८० लाख रुपैयाँको सम्पत्ति नाश भएको थियो । आव २०७९/२०८० मा आगलागीका कारण पशु चौपायाको मृत्यु २६५७ वटा, घर क्षति १४९२ वटा, गोठ क्षति ७१० वटा, उद्योग क्षति २१ वटा, सरकारी कार्यालय ३ वटा घटना घटेका थिए । उक्त वर्ष आगलागीका कारण २ अर्ब ४८ करोड २४ लाख रुपैयाँको सम्पत्ति नाश भएको थियो ।
आव २०८०/२०८१ मा आगलागीका कारण पशु चौपायाको मृत्यु २६०२ वटा, घर क्षति १९३४ वटा, गोठ क्षति ११४२ वटा, उद्योग क्षति १४ वटा, सरकारी कार्यालय ११ वटा घटना घटेका थिए । उक्त वर्ष आगलागीका कारण २ अर्ब ५७ लाख रुपैयाँको सम्पत्ति नाश भएको थियो । चालु आव २०८१/२०८२ को वैशाखसम्ममा आगलागीका कारण पशु चौपायाको मृत्यु १४५५ वटा, घर क्षति ९२९, गोठ क्षति ६५३ वटा, उद्योग १ वटा, विद्यालय २ वटा, सरकारी कार्यालय ४ वटा, पुल १ वटा घटना घटेका थिए । उक्त वर्ष आगलागीका कारण १ अर्ब ९७ लाख ६० लाख रुपैयाँ आगलागीमा परेर क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया