सबै बीमा कम्पनीले अझै पुर्‍याउन सकेनन् तोकिएको चुक्ता पुँजी, नियमनमा चुक्दै नियामक

नमुना के. सी.
308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – धेरैजसो बीमा कम्पनीहरूलाई नियामकले तोकेको चुक्ता पुँजी पुर्‍याउन गाह्रो भएको छ । २०७६ सालमा नेपाल बीमा प्राधिकरण (तत्कालीन बीमा समिति) ले चुक्ता पुँजी वृद्धिका लागि निर्देशन दिएको थियो । तर, निर्देशनको लामो समय बितिसक्दा समेत कम्पनीहरूले नियामकले तोकेबमोजिमको चुक्ता पुँजी पुर्‍याउन नसकेका हुन् ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूका लागि ५ अर्ब, निर्जीवन बीमा कम्पनीहरूका लागि साढे २ अर्ब र लघुबीमाका लागि न्यूनतम चुक्ता पुँजी ७५ करोड पुर्‍याउनुपर्ने व्यवस्था गरेको छ । त्यसअघि जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ पुँजी थियो । बीमा कम्पनीहरूले पुँजी वृद्धि गर्न नसकेको अवस्थामा नेपाल बीमा प्राधिकरणले भने कुनै पनि ‘स्ट्यान्ड’ लिन सकेको छैन ।

यसमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक शुसील देव सुवेदीले सबै कम्पनीको आकार व्यवसाय उस्तै नहुने र त्यही अनुरूपको तोकिएको पुँजी पुर्‍याउन असहज भइरहेको बताउँछन् । ‘प्राधिकरणले पुँजी बढाउनका लागि निर्देशन दिइरहेको छ र कम्पनीहरूले सही नियतले प्रयास गरिरहेको भएर हामीहरूले पनि बुझ्नुपर्छ,’ उनले भने ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले कम्पनीहरूले नियामकको सबैजसो नियम मान्नुपर्ने बताउँछन् । नेपाल लाइफले पुँजी पुर्‍याएर प्राधिकरणको निर्देशन मानेको र यसले कम्पनीको प्रतिष्ठालाई पनि राम्रो भएको उनी बताउँछन् ।

२० कम्पनीहरूलाई सकस

अहिले मर्जरपछि जीवन बीमा कम्पनी १४ निर्जिवन बीमा कम्पनी १४ वटा र पुनर्बीमा कम्पनी २ वटा छन् । जसमा जीवन र निर्जिवनको व्यवसाय अनुसार नै नियामकले पुँजी बढाउन निर्देशन दिइएको थियो । जीवन बीमा कम्पनीतर्फ राष्ट्रिय जीवन बीमा कम्पनी, मेट लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, एशियन लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, सिटिजन्स लाइफ र प्रभु महालक्ष्मी लाइफले प्राधिकरणले तोकेको पुँजी ५ अर्ब रुपैयाँ पुर्‍याउन सकेका छैनन्।

हाल सन् नेपाल लाइफको ३ अर्ब ९६ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेसनको २ अर्ब ६५ करोड, एशियन लाइफको ३ अर्ब ३९ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीको १८ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी छ । रिलायबल नेपाल लाइफको ४ अर्ब ६४ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफको ४ अर्ब ९५ करोड रुपैयाँ र सिटिजन्स लाइफको ३ अर्ब ९३ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको ४ अर्ब ७२ करोड रुपैयाँ चुक्ता पुँजी छ ।

त्यस्तै, निर्जिवन बीमा कम्पनीहरुमध्ये नेपाल इन्स्योरेन्स, दि ओरियण्टल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र सानिमा जीआईसी इन्स्योरेन्सले तोकिएको पुँजी पुर्‍याउन सकेका छैनन् । तथ्याङ्कअनुसार नेपाल इन्स्योरेन्सको १ अर्ब ६४ करोड रुपैयाँ, युनाइटेड अजोडको २ अर्ब १० करोड रुपैयाँ, नेकोको २ अर्ब १ करोड रुपैयाँ, प्रभुको १ अर्ब ३७ करोड रुपैयाँ, एनएलजीको १ अर्ब ६५ करोड रुपैयाँ, राष्ट्रिय बीमाको २६ करोड ६६ लाख रुपैयाँ र सानिमा जीआईसीको २ अर्ब रुपैयाँ मात्रै पुँजी कायम छ ।

यस्तै, प्राधिकरणले पुनर्बीमा कम्पनीलाई पनि २० अर्ब रुपैयाँ पुँजी पुर्‍याउन निर्देशन दिएका छन् । तर, हाल सञ्चालनमा रहेका नेपाल रिइन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्सले तोकिएको पुँजी पुर्‍याउन सकिरहेका छैनन् । नेपाल रिको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रुपैयाँ छ भने हिमालयन रिको १० अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

कुन–कुन कम्पनीले पुर्‍याए चुक्ता पुँजी ? 

जीवन बीमा कम्पनीहरूमा नेशनल लाइफ, नेपाल लाइफ, सूर्यज्योति लाइफ, हिमालयन लाइफ र आईएमई लाइफले मात्रै पुँजी पुर्याएका छन् । नेशनल लाइफको ५ अर्ब २१ करोड रुपैयाँ, नेपाल लाइफको ८ अर्ब २० करोड रुपैयाँ, हिमालयन लाइफको ८ अर्ब २ करोड रुपैयाँ, आईएमई लाइफको ५ अर्ब रुपैयाँ, सूर्यज्योति लाइफको ५ अर्ब १ करोड रुपैयाँ, पुँजी रहेको प्राधिकरणले जनाएको छ ।

साथै, निर्जीवन बीमा कम्पनीहरूलाई न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउन निर्देशन दिएको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीहरुमा हालसम्म हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले मात्रै तोकिएको पुँजी पुर्‍याएका छन् । हिमालयन एभरेष्टको २ अर्ब ५० करोड रुपैयाँ, सिद्धार्थ प्रिमियरको २ अर्ब ८० करोड रुपैयाँ, सगरमाथा लुम्बिनीको २ अर्ब ६२ करोड रुपैयाँ, आईजीआई प्रुडेन्सियलको ३ अर्ब २ करोड रुपैयाँ र शिखर इन्स्योरेन्सको २ अर्ब ९२ करोड रुपैयाँ पुँजी रहेको छ ।