२१ वाणिज्य बैंकले सार्वजनिक गरे वित्तीय विवरणः नाफामा नबिल अब्बल, कृषि विकास बैंक घाटामा

२१ वाणिज्य बैंकले सार्वजनिक गरे वित्तीय विवरणः नाफामा नबिल अब्बल, कृषि विकास बैंक घाटामा


बैंकिङ्ग समाचार, काठमाडौं ।
हालसम्म, २१ वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनकि गरेका छन् । नबिल बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, नेपाल बैंक, सिभिल बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी बैंक, प्राइम बैंक, सनराइज बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, कुमारी बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंकले दोस्रो त्रैमाससम्मको आफ्नो वित्तिय विवरण सार्वजनिक गरेका हुन् ।

यि सबै बैंकहरुको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तिय विवरण अनुसार धेरै बैंकले नाफा बढाउन नसकेको देखिन्छ । गत वर्षको यसै अवधिको तुलनामा आधा दर्जन बढी बैंकको नाफा घटेको देखिन्छ । पुस मसान्तसम्म सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकहरुको नाफा औसतमा ११ प्रतिशत मात्रै वृद्धि भएको हो । बैंकहरुको खराब कर्जा दर बढेपछि नाफामा असर गरेको हो । दोस्रो त्रैमासमा अधिकांश बैंकहरुको खराब कर्जा दर बढेको छ । चालू आर्थिक वर्षको प्रथम त्रैमासमा खासै प्रगति गर्न नसकेका बैंकहरु दोस्रो त्रैमासदेखि भने बढ्ने अपेक्षा गरेका थिए । तर, दोस्रो त्रैमासको पनि वित्तीय विवरण हेर्दा बैंकहरुको नाफा वृद्धिदर सुस्ताएको देखिन्छ ।

यस अवधिमा १५ वाणिज्य बैंकको नाफा बढेको छ भने आधा दर्जन बैंकको नाफा घटेको छ । कृषि विकास बैंकले भने यो त्रैमासमा नोक्सानी ब्यहोरेको छ । बैंकले १२ करोड ८९ लाख रुपैयाँ नोक्सानी ब्यहोर्नु परेको छ । समीक्षा अवधिमा प्रतिशतका आधारमा नाफा वृद्धिमा एभरेष्ट बैंक आक्रामक बनेको छ । बैंकले सबैभन्दा धेरै ८९.२९ प्रतिशत नाफा बढाएको छ । तर, सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । नबिल बैंकले ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

कुन बैंकले कति कमाए नाफाः
नबिल बैंक 
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नबिल बैंक लिमिटेडले ३ अर्ब ४१ करोड ७६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । बैंकले गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष सोही अवधिमा करिब ५६.६७ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म बैंकले २ अर्ब १८ करोड १४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । 

गत वर्षको तुलनामा यस वर्ष बैंकको सञ्चालन नाफा ५६ प्रतिशत बढेको छ । गत वर्ष ३ अर्ब ११ करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष ४ अर्ब ८६ करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो ।

दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ९७ करोड १३ लाख रूपैयाँभन्दा बढी रहेको छ । गत वर्षको तुलनामा वितरणयोग्य नाफा भने घटेको हो । गत वर्ष यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ४५ करोड रूपैयाँभन्दा बढी रहेको थियो ।

१८ दशमलव ५० प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्तापूँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रूपैयाँ पुगेको छ । रिटेन्ड अर्निग १ अर्ब २४ करोड ५१ लाख रूपैयाँभन्दा बढी रहेको बैंकको जगेडा कोष रकम २५ अर्ब ५७ करोड रूपैयाँभन्दा बढी छ । बैंकले गत वर्षभन्दा यस वर्ष साढे ६ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने १७ प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेको छ । 

यस वर्ष ३ खर्ब ४७ अर्ब ४६ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको बैंकले ३ अर्ब ५१ करोड ६४ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो । बैंकको निष्क्रिय कर्जा भने गत वर्षभन्दा यस वर्ष बढी भएको छ । गत वर्ष १ दशमलव ११ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष २ दशमलव ९८ प्रतिशत पुगेको छ । दोस्रो त्रैमाससम्म नबिलको प्रतिशेयर आम्दानी २५ रूपैयाँ ३३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रूपैयाँ १२ पैसा छ ।

एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले यस अवधिसम्ममा ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो विन्दुगत आधारमा ३६.२७ प्रतिशतको वृद्धि हो । 

एनआईसी एशियाले प्रतिशेयर ५६ रुपैयाँ ७७ पैसा कमाएको छ । यस अवधिसम्ममा बैंकको कुल बजार रकम २ खर्ब ६६ अर्ब रुपैयाँ रहेको छ । निक्षेप ३ खर्ब ८ अर्ब रुपैयाँ रहेको उक्त विवरणमा उल्लेख छ ।

ग्लोबल आइएमई बैंक
चालू आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा ग्लोबल आइएमई बैंकले २ अर्ब ७८ करोड २३ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४.४६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ रहेको थियो । 

बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड ९१ लाख ९९ हजार रुपैयाँ रहेको छ । यस अवधिमा बैंकले ६ अर्ब ५४ करोड ३० लाख ८९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ बैंकको सञ्चालन नाफा ३ अर्ब ७९ करोड ४५ लाख ६९ हजार रुपैयाँ रहेको छ ।  

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा बैंकको नाफा ५२.८८ प्रतिशतले बढेको छ ।  

चालू आवको दोस्रो त्रैमासम्ममा बैंकले २ अर्ब ७१ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोहि अवधिमा बैंकले एक अर्ब ७७ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

एनएमबि बैंक
एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ११ प्रतिशतले नाफा बढाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको यस अवधिमा १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन ११.११ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । 

त्यस्तै, यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने ६३ करोड ९७ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकले १ खर्ब ९२ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८३ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले पुससम्ममा ४ अर्ब २६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष बैंकले २ अर्ब ७१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकले ४ अर्ब ७७ करोड रुपैयाँ खुद संचालन मुनाफा आर्जन गरेको छ । बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । 

नेपाल बैंक
नेपाल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको थियो । 

गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको खुद नाफा १७.०२ प्रतिशतले घटेको हो । यस अवधिमा बैंकले दुई खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यसका साथै बैंकले यस अवधिमा एक खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।  

सिभिल बैंक
सिभिल बैंकले चालू आर्थिक वर्षको ६ महिनामा ६३ करोड ७० लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिको भन्दा बैंकको खुद नाफा २६ दशमलव ३९ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिमा बैंकले ५० करोड ४० लाख रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको थियो । 

यस वर्ष बैंकको सञ्चालन नाफा साढे २८ प्रतिशत बढेको छ । गत वर्ष ७३ करोड २२ लाख रूपैयाँभन्दा बढी रहेको सञ्चालन नाफा यस वर्ष ९४ करोड ९ लाख रूपैयाँभन्दा बढी भएको हो । दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा २५ करोड २२ लाख रूपैयाँभन्दा बढी रहेको छ । बैंकको चुक्तापूँँजी ९ अ र्ब ७ करोड ५८ लाख ४४ हजार रूपैयाँ छ । 

रिटेन्ड अर्निग ४३ करोड ९७ लाख रूपैयाँभन्दा बढी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ८२ करोड ३९ लाख रूपैयाँभन्दा बढी छ । यस वर्ष बैंकको निक्षेप संकलन शून्य दशमलव २३ प्रतिशत र कर्जा प्रवाह १ दशमलव २७ प्रतिशत बढेको छ । बैंकले ९४ अर्ब ७१ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको हो भने ८४ अर्ब ८ करोड १७ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो ।

बैंकको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ९४ प्रतिशत रहेकोमा यस वर्ष २ दशमलव ४१ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १४ रूपैयाँ ४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रूपैयाँ ९६ पैसा छ ।

प्रभु बैंक
प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब १९ करोड ९९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गरी पुस २६ गतेदेखि एकिकृत कारोबार गरेको यस बैंकको खुद नाफा गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा करिब ५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म बैंकले १ अर्ब २६ करोड २० लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

यस वर्ष बैंकको सञ्चालन नाफा साढे १२ प्रतिशत घट्दा खुद नाफामा असर परेको हो । गत वर्ष १ अर्ब ८६ करोड ८१ लाख रूपैयाँभन्दा बढी  सञ्चालन नाफा गरेको बैंकले यस वर्ष १ अर्ब ६३ करोड ४१ लाख रूपैयाँभन्दा बढी मात्र सञ्चालन नाफा गरेको हो । दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ३६ करोड ४२ लाख रूपैयाँभन्दा बढी रहेको छ ।

हाल बैंकको चुक्तापूँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रहेको छ । जगेडा कोष रकम भने ९ अर्ब ८ करोड रूपैयाँभन्दा बढी रहेको छ । बैंकको निक्षेप संकलन गत वर्षकोभन्दा ५१ दशमलव ६५ प्रतिशत बढी र कर्जा प्रवाह ६८ दशमलव ७९ प्रतिशत बढी भएको छ । यस वर्ष बैंकले २ खर्ब ७० अर्ब ९२ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको हो भने २ खर्ब ४५ अर्ब ३८ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो ।

गत वर्ष १ दशमलव २३ प्रतिशत रहेको निष्क्रिय कर्जा अुनपात यस वर्ष १ दशमलव ९८ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १० रूपैयाँ १९ पैसा रहेको यस बैंकको प्रतिशेयर नेटवर्थ १४० रूपैयाँ १२ पैसा छ ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा एक अर्ब २ करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा बैंकले एक अर्ब १ करोड रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा भने एक अर्ब ५ करोड रुपैयाँ रहेको छ । बैंकले पुस मसान्त सम्ममा एक खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।  

दोस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब २९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ रुपैयाँ ब्याज आम्दानी गरेको थियो । हाल १० अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ भने खराब कर्जा ०.५७ प्रतिशतबाट बढेर १.४१ प्रतिशत पुगेको छ । 

सिटिजन्स बैंक
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षको यसै अवधिको तुलनामा ३२ दशमलव ११ प्रतिशत कम नाफा कमाएको छ । गत वर्ष १ अर्ब २३ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको बैंकले यस वर्ष ८४ करोड १३ लाख रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको हो । 

यस वर्ष बैंकको इम्पेरमेन्ट चार्ज बढ्दा सञ्चालन नाफा घट्न गई खुद नाफामा असर परेको हो । गत वर्ष ७ करोड २३ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष ६१ करोड ९२ लाख रूपैयाँभन्दा बढी रहेको हो । यसका कारण गत वर्ष १ अर्ब ६९ करोड ५८ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष २९ दशमलव ७१ प्रतिशत कम १ अर्ब १९ करोड १९ लाख रूपैयाँभन्दा बढी मात्र सञ्चालन नाफा गरेको हो ।

कर समेत ९ प्रतिशत नगद लाभांश गत वर्षको मुनाफाबाट वितरण गरेको यस बैंकको चुक्तापूँजी हाल १४ अर्ब २० करोड ९ लाख ७४ हजार रूपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा यस अवधिसम्म ५ करोड ५७ लाख रूपैयाँभन्दा बढी रहेको छ । रिटेन्ड अर्निग १० करोड ७१ लाख रूपैयाँभन्दा बढी रहेको बैंकको जगेडा कोष रकम ५ अर्ब ६४ करोड ७२ लाख रूपैयाँभन्दा बढी रहेको छ । बैंकले यस वर्ष गत वर्षभन्दा ४ दशमलव ३७ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने साढे ५ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । 

यस वर्ष १ खर्ब ५९ अर्ब ४८ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३८ अर्ब ५७ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो । बैंकको निष्क्रिय कर्जा अुनपात गत वर्षभन्दा बढेको छ । गत वर्ष १ दशमलव ८७ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष २ दशमलव ९९ प्रतिशत पुगेको हो । दोस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी ११ रूपैयाँ ८५ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १४० रूपैयाँ ५२ पैसा छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षको यसै अवधिको तुलनामा ६१ दशमलव ३६ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष १ अर्ब ८ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको यस बैंकले यो वर्ष १ अर्ब ७५ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो । दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने १ अर्ब रूपैयाँभन्दा बढी रहेको छ । 

गत वर्ष यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा ७५ करोड ४६ लाख रूपैयाँभन्दा बढी थियो । यस वर्ष बैंकको सञ्चालन नाफा भने गत वर्षभन्दा करिब ६२ प्रतिशत बढी भएको छ । गत वर्ष १ अर्ब ५५ करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष २ अर्ब ५१ करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो ।

यस वर्ष बैंकले गत वर्षको मुनाफाबाट १६ दशमलव ५१ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको छ । यसर्थ बैंकको चुक्तापूँजीमा कुनै परिवर्तन भएको छैन् । बैंकको चुक्तापूँजी ९  अर्ब ४२ करोड ९४ लाख ५४ हजार रूपैयाँ कायम रहेको हो । बैंकको रिटेन्ड अर्निग २ अर्ब ३९ करोड रूपैयाँभन्दा बढी र जगेडा कोष रकम ६ अर्ब ६३ करोड रूपैयाँभन्दा बढी रहेको छ । गत वर्षभन्दा करिब १० प्रतिशत बढी निक्षेप संकलन गरेको बैंकले २ दशमलव ३२ प्रतिशत बढी मात्र कर्जा प्रवाह गरेको छ । 

बैंकले १ खर्ब २ अर्ब ७१ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको हो भने ८१ अर्ब ३ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो । गत वर्ष शून्य दशमलव ४४ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा यस वर्ष बढेर शून्य दशमलव ७२ प्रतिशत पुगेको छ । दोस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी ३७ रूपैयाँ १९ पैसा र प्रतिशेयर नेटवर्थ १९५ रूपैयाँ ७३ पैसा छ ।

एभरेष्ट बैंक
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एभरेष्ट बैंक लिमिटेडले १ अर्ब ५८ करोड ८० लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा बैंकको खुद नाफा ८९ दशमलव २९ प्रतिशत बढी भएको हो । गत वर्षको दोस्रो त्रैमाससम्म बैंकले ८३ करोड ८९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । 

यस वर्ष बैंकको सञ्चालन नाफा ८९ दशमलव २० प्रतिशत बढी भएको छ । गत वर्ष १ अर्ब १९ करोड रूपैयाँभन्दा बढी रहेको बैंकको सञ्चालन नाफा यस वर्ष २ अर्ब २६ करोड रूपैयाँभन्दा बढी भएको हो । बैंकको दोस्रो त्रैमाससम्मको वितरणयोग्य नाफा भने २ अर्ब ८४ करोड ६९ लाख रूपैयाँभन्दा बढी रहेको छ । १३ प्रतिशत बोनस शेयर मार्फत बैंकको चुक्तापूँजी बृद्धि भई १० अर्ब ६९ करोड ८० लाख रूपैयाँभन्दा बढी कायम भएको छ ।

बैंकको शेयर प्रिमियममा २३ करोड ८४ लाख रूपैयाँभन्दा बढी र जगेडा कोष रकम ९ अर्ब ९० करोड रूपैयाँभन्दा बढी रहेको छ । गत वर्षभन्दा यस वर्ष बैंकले ४ दशमलव ६६ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने साढे ८ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । बैंकले १ खर्ब ८० अर्ब ७९ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको हो भने १ खर्ब ५७ अर्ब ९२ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो । 

गत वर्ष शून्य दशमलव २६ रहेको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव ५५ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी २९ रूपैयाँ ६९ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २२१ रूपैयाँ ३९ पैसा छ ।

सानिमा बैंक
सानिमा बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब २८ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यसै अवधिसम्म १ अर्ब ७ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको बैंकले यस वर्ष १९ दशमलव ३४ प्रतिशत बढी खुद नाफा गरेको हो ।

बैंकको वितरणयोग्य नाफा यस अवधिसम्म ९६ करोड ३७ लाख रूपैयाँभन्दा बढी रहेको छ । गत वर्ष यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा ५७ करोड ८२ लाख रूपैयाँभन्दा बढी रहेको थियो । 

गत वर्षभन्दा यस वर्ष बैंकको सञ्चालन नाफा २१ दशमलव ४२ प्रतिशत बढेको छ । गत वर्ष १ अर्ब ५० करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष १ अर्ब ८२ करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो ।

१० प्रतिशत बोनस शेयरपछि बैंकको चुक्तापूँजी १२ अर्ब ४६ करोड १ लाख १५ हजार रूपैयाँ पुगेको छ । बैंकको रिटेन्ड अर्निग ९६ करोड ३७ लाख रूपैयाँभन्दा बढी र जगेडा कोष रकम ४ अर्ब ६२ करोड रूपैयाँभन्दा बढी रहेको छ । गत वर्षभन्दा यस वर्ष बैंकले १ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने ५ दशमलव २९ प्रतिशत कर्जा प्रवाह गरेको छ । १ खर्ब ५९ अर्ब २० करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको बैंकले १ खर्ब ४३ अर्ब ७३ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो ।

गत वर्ष शून्य दशमलव ३१ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष शून्य दशमलव ७७ प्रतिशत पुगेको छ । दोस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी २० रूपैयाँ ६३ पैसा र प्रतिशेयर नेटवर्थ १४४ रूपैयाँ ८२ पैसा छ । 

लक्ष्मी बैंक
लक्ष्मी बैंकको नाफामा ३१ प्रतिशत भन्दा बढीले बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा बैंकको खुद नाफा १ अर्ब ७ करोड ७१ लाख १५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसैअवधिमा बैंकले ८१ करोड ७३ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

बैंकको सञ्चालन नाफा पनि ३१.९१ प्रतिशतले बढेको छ । बैंकको सञ्चालन नाफा पनि ३१.९१ प्रतिशतले बढेर १ अर्ब ४९ करोड ३१ लाख १९ हजार रुपैयाँ पुगेको छ । यसका साथै खुद ब्याज आम्दानी ७२ प्रतिशतले बढेर २ अर्ब ७६ करोड ४८ लाख ४ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४९ करोड ७० लाख ९९ हजार रुपैयाँ रहेको छ ।  

प्राइम बैंक
प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एक अर्ब ६५ करोड २० लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद ब्याज आम्दानी २७.९६ प्रतिशतले सुधार भएको छ । यसअवधिमा बैंकको सञ्चालन नाफा २.०१ प्रतिशतले घटेको छ । 

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खराब बढेर २.८१ प्रतिशत पुगेको छ । गत वर्ष यसै अवधिमा भने ०.७८ प्रतिशत मात्र रहेको थियो । बैंकको प्रतिशेयर आम्दानी ९६ पैसाले घटेर १७ रुपैयाँ ३ पैसा कायम भएको छ ।  

सनराइज बैंक
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सनराइज बैंकले खुद नाफा ६५ करोड ३९ लाख रुपैयाँ कमाएको छ । गत वर्ष बैंकले ७४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालू आवको पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा २२ करोड १८ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्ष यसको वितरण योग्य नाफा १० करोड ११ लाख रुपैयाँ थियो । 

बैंकको सञ्चालन नाफा १२.२८ प्रतिशतले घटेको छ । हाल यसको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ८१ पैसाले घटेर १२ रुपैयाँ ९३ पैसामा झरेको छ ।  

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले खुद नाफामा १ अर्ब १७ करोड ९१ लाख ९४ हजार रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको साहि अवधिमा बैंकले ७८ करोड २७ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

बैंकले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १ अर्ब २१ करोड ३५ लाख रुपैयाँ रहेको छ । खुद नाफामा वृद्धि भएपछि प्रतिशेयर आम्दानी पनि ८ रुपैयाँ ३ पैसाले बढेर २३ रुपैयाँ ९६ पैसा पुगेको छ । 

हिमालयन बैंक
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंकको खुद नाफा २८.४२ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले ९५ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा यसले ७४ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ९०.३९ प्रतिशतले बढेके छ भने सञ्चालन नाफा ३०.८० प्रतिशतले बढेको छ । बैंकको चुक्ता पुँजी १४ अर्ब ६२ लाख रुपैयाँ रहेको छ । यसका साथै पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ८ करोड ७२ लाख रुपैयाँ छ । 

सिद्धार्थ बैंक
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सिद्धार्थ बैंकको नाफा २६.३८ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकको नाफा १ अर्ब १६ करोड ११ लाख ९९ हजारमा सिमित भएको छ । गत आवको दोस्रो त्रैमासमा १ अर्ब ५७ करोड ७३ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेकोको थियो ।  

यस अवधिमा बैंकले ३ अर्ब ६९ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको सञ्चालन मुनाफा १ अर्ब ६५ करोड ७२ लाख ६७ हजार रुपैयाँ पुगेको छ । यसका साथै बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ । 

यस अवधिमा बैंकले २ खर्ब ५ अर्ब १२ करोड ९१ लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरेकोछ भने १ खर्ब ७७ अर्ब ६० करोड १६ लाख ७६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५३ पैसा रहेको छ । 

कुमारी बैंक
चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्ममा कुमारी बैंकको खुद नाफा ६ प्रतिशत बढेको छ । यस अवधिमा बैंकले एक अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ६१.६४ प्रतिशत बढेर ४ अर्ब २४ करोड रुपैयाँ रहेको छ । यसका साथै सञ्चालन नाफा १५ प्रतिशत बढेर १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा २२ करोड ४४ लाख रुपैयाँ रहेको छ । निक्षेप संकलन २ खर्ब ९९ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । बैंकको सीडी रेसियो ८९.५८ प्रतिशत रहेको छ ।

कृषि विकास बैंक
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा कृषि विकास बैंकको १२ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले खुद ब्याज आम्दानी ३ अर्ब ७४ करोड रुपैयाँ आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकले ११ करोड १५ करोड सञ्चालन घाटा भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ०.५३ प्रतिशत घटेर ३ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।