बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले एकसाथ धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको (नयाँ ब्रोकर), नयाँ स्टक एक्सचेञ्ज तथा नयाँ वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) सञ्चालनको लागि अनुमतिपत्रका लागि आवेदन माग गरेको छ । आज गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी बोर्डले अनुमतिपत्रका लागि आवेदन मागेको हो ।
उक्त सूचनामा सूचनामा अनुपतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिन आह्वान गरिएको छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्न गरी बोर्डमा निवेदन दिन बोर्डले सूचना निकालेको हो ।
धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्तामैत्री एवं अन्तर्राष्ट्रियस्तरको प्रविधि सहितको क्षमतायुक्त बनाई धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्नका निम्ति तथा अर्थतन्त्रमा रहेका स्थापित वास्तविक क्षेत्रका सङ्गठित संस्थालाई धितोपत्र बजारमा भित्र्याई राष्ट्रिय पूँजी निर्माण र परिचालनलाई सहजिकरण गर्नका लागि निजी क्षेत्रको लगानीमा थप एक धितोपत्र बजार सञ्चालन गर्न दिइने बोर्डले जनाएको छ ।
धितोपत्र बजारको सेवा तथा गुणस्तरमा प्रतिष्पर्धा, विकास र विस्तार गरी धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न आवश्यक भएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ सो अन्तर्गत बनेका नियम र निर्देशिका तथा अन्य प्रचलित कानूनको अधीनमा रही धितोपत्र बजार सञ्चालन गर्ने उद्देश्यले प्रचलित कानुन बमोजिम सीमित दायित्वको सङ्गठित संस्था स्थापना गर्न चाहनेले बोर्डबाट सिफारिस लिनु पर्ने व्यवस्था रहेको बोर्डले जारी सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।
नयाँ स्टक एक्सचेञ्जका लागि रू. ३ अर्ब र नयाँ ब्रोकरका लागि न्यूनतम रू. २० करोडदेखि अधिकतम रू. १ अर्ब ५० करोडसम्मको पूँजी तोकिएको छ । नयाँ स्टक एक्सचेञ्जमा सर्वसाधारणले रू. ९० करोड बराबरको शेयर पाउने व्यवस्था रहेकाले लगानीको अवसर समेत सर्वसाधारणमा जुट्ने बोर्डको भनाई छ । रू. ३ अर्ब पूँजीमा नयाँ स्टकले ७० प्रतिशत संस्थापक तर्फ र ३० प्रतिशत सर्वसाधारणतर्फ स्वामित्व कायम गर्नुपर्ने व्यवस्था रहेको छ ।
हाल ५० ब्रोकर कम्पनी सञ्चालनमा रहे पनि बोर्डले धितोपत्र दोस्रो बजारको पहुँच विस्तारका लागि तोकिएको मापदण्ड पुरा गर्ने सबैलाई ब्रोकर लाईसेन्स दिने तयारी बोडले गरेको हो । पहिलो पटक ब्रोकर लाईसेन्स वितरण गरेपछि तीन वर्षपछि मात्र अर्को पटक लाईसेन्स वितरण गर्नुपर्ने व्यवस्था रहेकाले बोर्डले यस पटक प्रकृया पुरा गरी आउने सबैलाई लाईसेन्स वितरण गर्ने बोर्डको भनाई छ ।
बोर्डले सिमित दायराको पहिलो तहको ब्रोकरका लागि रू. २० करोड , शेयर खरीविक्री गर्नेसँगै डिपीको रुपमा काम गर्ने लगानी परामर्श सेवा एवम् लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवा समेत दिने पूर्ण दायरा सहितको दोस्रो तहको ब्रोकरको चुक्तापूँजी रू. ६० करोड र तेस्रो तह स्टक डिलरका लागि रू. १ अर्ब ५० करोड चुक्तापूँजी हुने गरी नियमावली संशोधन गरेको होे । पुराना ब्रोकरहरूलाई पनि प्रतिस्पर्धी रुपमा अघि बढाउन तीन प्रकारकै ब्रोकरको सेवा प्रदान गर्ने गरी २०८२ साल असार मसान्तभित्रको समयसीमा तोकिएको छ ।
हेर्नुहोस् सूचना :
प्रतिक्रिया